१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बैंकबाट सुन किन्न थाले व्यापारी

‘व्यवसायीले सस्तोका लागि तस्करबाट किन्नुभन्दा बैंकबाट लिँदा फाइदा छ भने बुझ्न थालेका छन्’
जितेन्द्र साह

विराटनगर — सुन तस्करी र अनुसन्धानको चर्चासँगे यहाँका व्यवसायीले अवैध बाटो छोडेर बैंकबाट सुन किन्न थालेका छन् ।विराटनगर ९ स्थित सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश भगतका अनुसार यो ताजा सुन काण्डअघिसम्म राष्ट्र बैंकले निर्धारण गरेका वाणिज्य बैंकहरूमार्फत कानुनी तरिकाले सदस्य व्यवसायीले सुन किन्न थालेका छन् । यसअघि सुन किन्ने सदस्य व्यवसायी ३३ मात्र थिए ।

बैंकबाट सुन किन्न थाले व्यापारी

‘सस्तोका लागि तस्करबाट किन्नुभन्दा बैंकबाट लिदा फाइदा छ भन्ने बुझ्न थालेका छन्,’ भगतले भने, ‘कानुनी कागजात देखाउन सजिलो हुने हुनाले यसबाट सुन व्यवसायीकै इज्जत बढ्छ र सरकारले विधिवत् कर पाउँछ ।’ चार वर्षअघिसम्म उक्त संघमा आबद्ध ४ जनाले मात्र बैंकबाट सुन किन्ने गरेको रेकर्ड छ । सोझै बजारबाट किन्दा विभिन्न खाले कानुनी एवं व्यक्तिगत जोखिम देखिन थालेकाले यो संख्या सुस्तरी २० र ३३ हुँदै बढेको हो ।

कानुनी प्रावधानअनुसार काँचो सुनको किनबेच गर्न पाइन्न, बैंकहरूले व्यवसायीहरूलाई पालैपालो गहना बनाउन मात्र सुन उपलब्ध गराउँछ । अहिलेको स्थितिमा बजारमा सुन किन्छु भन्दा पनि नपाउने स्थिति नरहेको एक सुन व्यवसायीले कान्तिपुरलाई बताए । सरकारले तोकेको मूल्यभन्दा प्रतितोला ७ सयदेखि १ हजार २ सय रुपैयाँ बढीमा र त्यो पनि निकै गोप्य रूपले सुनको किनबेच भइरहेको उनले स्विकारे । उनले भने, ‘कानुनले जे भने पनि बिहेवारी र अन्य सामाजिक व्यावहरिकता निभाउन सुन चाहिहाल्छ ।’

अहिलेसम्म यो व्यवसायको बजारलाई ९५ प्रतिशत अवैध सुनले धानेको अर्का एक जानकारले बताए । उनको बुझाइमा सरकारले गहना निर्माणका लागि व्यवसायीहरूलाई बैंकमार्फत सीमित मात्रामा उपलब्ध गराउने सुनले मात्र बजारको माग धान्न सक्ने स्थिति छैन । जानकारहरूका अनुसार तस्करी, नागरिकले धितोमा राख्न आएको र बेचेको गहनाले अहिलेसम्म यो व्यवसाय चलिरहेको छ ।

नेपालभन्दा दुबईमा सुनको मूल्य प्रतितोला ५/६ हजार कम हुने गरेकाले किलोमा हिसाब गर्दा नाफा पनि निकै हुने गरेको व्यवसायीहरू बताउँछन् । एक किलो सुनमा ८६ तोला हुन्छ । दुई दशकअघि भारुको, अचेल डलरको अभाव पूर्ति गर्न, बढी नाफा कमाउन र गलत बाटोबाट कमाएको रकमले सुन किनेर राखिने हुनाले यसको तस्करी बढेको हो ।

यसकै असुन्धानमा संलग्नका अनुसार पञ्चायती कालमा दरबार एवं अर्थ मन्त्रालयकै मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट सुन मगाइन्थ्यो, बरामदी र लिलामीको नाटक गरिन्थ्यो । ‘ल्याउने, समाउने र किन्ने सबैमा तस्करी गिरोह सामेल हुन्थे,’ एक अधिकृतले भने, ‘यो कमाइमा विमानस्थलदेखि दरबारसम्म सबैको भागबन्डा हुन्थ्यो ।’ उनको अनुसार धेरै वर्षसम्म यसरी नै सुन तस्करी जारी रहयो । ‘प्रजातन्त्रको पुनर्बहाली र लोकतान्त्रिक व्यवस्थासम्म चलिरहेकै छ,’ उनले भने ।

विराटनगरस्थित नेपाल सुनचाँदी व्यवसायी संघको रेकर्डमा झन्डै अढाइ महिनाको फरकमा एक व्यवसायीले सरकारले तोकेको बैंकबाट ५ सय ग्राम सुन लिने गरेको देखिन्छ । यो संघसँगै मात्र सयको हाराहारीमा सुन व्यवसायी आबद्ध छन् । मुलुकभर सुनसँग सम्बद्ध अन्य तीन संगठन पनि छन् । यो महानगरमा झन्डै १ सय २५ सुन पसल छन् ।

यो घटनाअघिसम्म अधिकांश व्यवसायीहरूले बैंकबाट सुन किनेको देखिएन । बैंकभन्दा पनि बजारमा तुलनात्मक रूपमा सहज एवं सस्तो दरमा उपलब्ध दुबई र खासाबाट आउने सुनमै उनीहरू निर्भर रहेको जानकारी प्राप्त भएको छ । खोजबिन गर्दै जाँदा विराटनगरकै बजारमा चार थरीको सुनले व्यवसाय चलेको देखियो ।

ग्राहकले बन्धक राखेको पुरानो गहनालाई गलाएर नयाँ बनाएर दिने, बैंकबाट पाएको, अवैध रूपले भित्रिएको र पुराना व्यवसायीले उहिलेदेखि संकलन गरेर राखेको सुनबाट गहन निर्माण गरी बेचबिखन भएको पाइयो । कुनै पनि व्यवसायीले आफ्नो वास्तविक दैनिक कारोबारबारे नभन्ने हुनाले सुनको यथार्थ स्रोत खोल्न कठिन छ ।

प्रकाशित : वैशाख ३१, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?