कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कारोबार रकम ४६ प्रतिशत घट्यो

काठमाडौँ — यो साता दोस्रो बजारमा १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ४५.९६ प्रतिशतले कम हो ।

कारोबार रकम ४६ प्रतिशत घट्यो

नियामक निकाय धितोपत्र बोर्डको निर्देशन अनुसार ग्राहक (लगानीकर्ता) ले आफ्नो पूर्ण विवरण अद्यावधिक नगरेकाले यो साताभर थोरै रकमको मात्र कारोबार भएको हो । धितोपत्र बोर्डको निर्देशन बमोजिम नेप्सेले ग्राहकको पूर्ण परिचय अद्यावधिक नभएका लगानीकर्ताको सेयर खाता रोक्का गरेको छ । यही कारण यो साता तुलनात्मक रूपमा कम रकमको मात्र सेयर कारोबार भएको हो ।

साप्ताहिक कारोबारमा १४ हजार कारोबारबाट १ सय ७६ कम्पनीका २३ लाख २९ हजार ४ सय ४० कित्ता सेयर खरिदबिक्री भए । गत साता २९ हजार ३ सय १९ कारोबारबाट २ अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । यो साता सेयर कारोबार मापक नेप्से परिसूचक करिब ८ अंकले घट्यो । तर, साताको पहिलो दिनको तुलनामा नेप्से परिसूचक १.४८ अंकले बढेको देखिन्छ । आइतबार सार्जजनिक विदा भएकाले सोमबारदेखि मात्र सेयर बजार खुलेको थियो । जसमध्ये सोमबार १ हजार ३ सय ३९.६५ मा रहेको नेप्से बिहीबार १ हजार ३ सय ३९.६५ अंकमा पुगेको नेप्सेले जनाएको छ ।नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक २.२९ र व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक
फ्लोट परिसूचक ०.७५ अंकले सकारात्मक रहे ।

यो साता कारोबार रकम (७ करोड १ लाख ८० हजार रुपैयाँ) का आधारमा सिद्धार्थ बैंक सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (२ लाख ११ हजार कित्ता) को आधारमा पनि सिद्धार्थ बैंक नै अग्रस्थानमा देखिन्छ । त्यसैगरी, कारोबार संख्या (६ सय ५२ वटा) का आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा अघि रहेको जनाइएको छ ।

यो साताको सेयर बजार लगानीकर्ताहरूका लागि मिश्रित किसिमको रह्यो । होटल, उत्पादन तथा प्रशोधन, व्यापारिक र ‘अन्य’ समूहका लगानीकर्ताको सम्पत्ति बढ्यो । तर, बैकिङ, विकास बैंक, जलविद्युत्, वित्त कम्पनी र बिमा समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । साप्ताहिक कारोबारमा होटल समूहको परिसूचक २४.७५, उत्पादन तथा प्रशोधनको ३०.९४, व्यापारिकको ३.७२ र ‘अन्य’ समूहको परिसूचक ५.२५ अंकले बढे । सोही अवधिमा बैकिङ समूहको परिसूचक १०.६६, विकास बैंकको २५.८८, जलविद्युत्को १०.७२, वित्त कम्पनीको ११.९४ र बिमा समूहको परिसूचक करिब १२ प्रतिशतले घट्यो । साप्ताहिक कारोबारमा बैकिङ समूहको हिस्सा ३५.७९ प्रतिशत छ । यसैगरी, बिमा समूहको हिस्सा १९.६४ प्रतिशत, जलविद्युत्को ७.०९ प्रतिशत, विकास बैंक ६.१२ प्रतिशत, लघुवित्तको २०.१६ प्रतिशत र संस्थापक सेयरको हिस्सा ५.५४ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?