१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

केरा खेतीमा आकर्षण

भवानी भट्ट

कञ्चनपुर — बेलौरी नगरपालिका–८ कलकत्ताका कर्मसिंह रानालाई १० वर्षअघि केरा खेती सुरुगर्दा निकै द्विविधा थियो । त्यतिबेला थोरैले मात्रै केरा लगाएकाले बीउ, मल र उत्पादन तथा खेती गर्ने तरिकाको आवश्यक ज्ञान थिएन ।

केरा खेतीमा आकर्षण

घाटा पर्ला भन्ने पीर थियो तर उनले भारतको बारापंखीबाट उन्नत जातको बीउ ल्याएर एक बिघामा केराखेती सुरु गरे ।

‘केराखेती सुरु गर्ने सोच त बनाए, तर बीउ नपाएर भारतबाट ल्याउनुपर्‍यो,’ उनले भने, ‘त्यतिबेला गाउँका केही कृषकले मात्रै फाट्टफुट्ट केरा लगाएका थिए, एकै पटक ठूलो परिमाणमा व्यावसायिक खेती गर्दा लगानी डुब्ने चिन्ता पनि उत्तिकै थियो ।’ अहिले कर्म जिल्लाकै उत्कृष्ट केरा किसानका रूपमा चिनिएका छन् । उनको मिहिनेत र उत्पादन देखेर उनले पनि केराखेती सुरु गरेका छन् । कर्मले गाउँकै अन्य २ जनासँग मिलेर केरा खेती विस्तार गरेका छन् । बेलौरी, लालझाडी र बेदकोट नगरपालिकामा गरी करिब ८ बिघामा केरा लगाएको उनले बताए । ‘एक बिघामा वार्षिक ४ देखि ७ लाखसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘यसवर्ष थप ४ बिघामा केरा लगाउने सोच बनाएका छौं ।’

भीमदत्त नगरपालिका–२ महोलियाका नरेन्द्र महतासहित ३ जनाले वेदकोट नगरपालिकाको शान्तिपुरमा ६ बिघा जमिन भाडामा लिएर केराखेती सुरु गरेका छन् । उनीहरूले बैंकबाट ऋण लिएर एकैपटक ठूलो मात्रामा केरा लगाएका हुन् । ‘गत वर्ष ५ लाख आम्दानी भयो,’ महताले भने, ‘यो वर्ष पनि राम्रै उत्पादन भइरहेको छ ।’ उनको समूहले वार्षिक डेढ लाख तिर्ने गरी जमिन भाडामा लिएको छ । केरा रोपेको केही दिनमा बाढी आएर बोटहरू पुरै बगाएकाले केही घाटा भए पनि उत्पादन भने राम्रो भइरहेको उनले जानकारी दिए ।

एक दशकअघि न्यून मात्रामा केराको उत्पादन हुने कञ्चनपुरमा अहिले यहाँबाट अन्यत्रसमेत निर्यात हुने गरेको छ । हिउँदका दुई/तीन महिनाबाहेक सधंै केरा उत्पादन भइरहेको कृषकहरू बताउँछन् । अहिले जिल्लाभरिमा दुई/अढाइ सय कृषकले ५ सय हेक्टर बढी क्षेत्रफलमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका छन् । एक बिघामा वार्षिक २५ हजार दर्जनका हाराहारीमा केरा उत्पादन हुने गरेको कृषकहरू बताउँछन् । केराबाट विभिन्न परिकार बनाउनेतर्फ पनि कृषकहरू लागेका छन् । यहाँ लाग्ने मेला महोत्सवमा केराबाट उत्पादन हुने परिकार उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

केरा खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएपछि जिल्लाका विभिन्न ठाउँमा टिस्यु कल्चर प्रविधिबाट उन्नत जातका बेर्ना उत्पादन पनि भइरहेको छ । जसका कराण कृषकहरूले बीउका लागि भौतारिनुपर्ने अवस्था छैन् । यहाँ जी ९ र विलियम हाइब्रेड जातका केराको माग बढी हुने गरेको छ । ‘हिउँदका दुई/तीन महिनाबाहेक सधैं केरा उत्पादन भइरहेको छ,’ कर्मले भने, ‘यसतर्फ कृषकको आकर्षण बढ्दै गएकाले उत्पादन पनि बढ्दै गएको छ ।’ उनका अनुसार यहाँ उत्पादन भएको केरा प्रदेश ७ का पहाडी जिल्लातर्फ जाने गरेको छ । असारदेखि कात्तिकसम्म एकैपटक धेरै उत्पादन हुने भएकाले नेपालगञ्जसम्म पनि जाने गरेको उनले बताए ।

मलखादको समस्या
उत्पादन बृद्धिसँगै कृषकहरू आकर्षित भएपनि मलखादको अभावसँगै विभिन्न अनुदान र कृषि ऋण आदि वास्तविक कृषकले नपाउने गरेको समस्या देखिएको छ । यसका साथै कृषि कार्य गर्ने मजदुरको पनि अभाव रहेको यस क्षेत्रमा लागेकाहरू बताउँछन् । नरेन्द्रको समूहले केराखेती गर्दा कृषि विकास बैंकबाट ६ प्रतिशत व्याजदरमा लिएको ऋणको ब्याज अहिले १० प्रतिशतभन्दा बढी पुगेको उनले बताए ।‘सुरुमा ऋण निकाल्दा ६ प्रतिशत भनेको थियो, तर पछि विभिन्न कुराहरू जोडेर १० प्रतिशत पुर्‍याएको छ,’ उनले भने, ‘समयमै मलखाद तथा प्राविधिक पनि नपाइँदा बेलाबेलामा समस्या झेल्नुपरेको छ ।’ उनले केही महिनाअघि रोग लागेर एकाएक केराका बोटहरू सुक्न थाले पनि प्राविधिक नपाएर समस्या खेप्नुपरेको बताए । ‘विषादी तथा मलखादको समेत जानकारी नहुँदा समस्या भयो,’ उनले भने ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?