तरकारीको व्यावसायिक खेती र उत्पादन बढ्दै

अमृता अनमोल

बुटवल — रूपन्देहीको गाउँ–गाउँमा व्यावसायिक तरकारी खेतीमा बृद्धि भएको छ । यसले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउने देखिएको छ ।

तरकारीको व्यावसायिक खेती र उत्पादन बढ्दै

कृषि कार्यालयको तथ्यांकअनुसार यहाँ ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ । त्यसमा वार्षिक ९० हजार ९ सय ९१ टन तरकारी उत्पादन हुन्छ ।

आलुबाहेक अन्य तरकारीमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँको २० देखि २५ प्रतिशत हरियो तरकारी भैरहवा तथा बुटवलको थोक बजार केन्द्र हुँदै बाहिरी जिल्लामा पुग्ने गरेको छ । किसानद्वारा उत्पादित तरकारी गाउँ वा नजिकको बजारमै बेच्ने लक्ष्य अनुसार यहाँ १ सय १ हाटबजार सञ्चालन भएका छन । योबाहेक बुटवल कृषि उपज थोक बजार केन्द्रले दैनिक करिब एक करोड र मायादेवी फलफूल तथा तरकारी बजार भैरहवाले ३० लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । बुटवलमा संकलित तरकारीमध्ये ३० र मायादेवी बजारको ७० प्रतिशत रूपन्देहीको हो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले युवाहरू व्यावसायिक रूपमै तरकारी खेतीमा लागेकाले वर्षेनी उत्पादन र क्षेत्र बढ्दै गएको बताए । ठूलो क्षेत्रमा खेती गरेकाले व्यवसायीले मुनाफा पनि राम्रै गरेको उनले जनाए । ‘५ वर्षयता युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत अनुदानको समेत व्यवस्था गरेपछि उत्पादन र सहभागिता समेत बढेको हो,’ सापकोटाले भने । रुपन्देहीमा बाह्रैमासे तरकारी खेती हुने मझगावा, सूर्यपुरा, मानपकडी, धमौली, भगवानपुर, खुदावगरलगायतका साविक १५ गाविस तरकारीको पकेट बनेको छ ।

करिब ५ सय व्यावसायिक तरकारी खेती गर्ने किसानहरू जिल्लामा क्रियाशील छन । रूपन्देहीको देवदह नगरपालिका शरणटाँडीका सय घरपरिवारले ५० हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा अर्गानिक खेती गर्दै आएका छन । परम्परागत अन्न बालीले वर्षको तीन महिना खान नपुग्ने किसानहरू ९ वर्षयता व्यावसायिक तरकारी खेतीमा लागेका छन । यसले उनीहरूको आर्थिक अवस्थाले आकाश जमिनको फरक ल्याएको छ । पकेट खेतीका रुपमा सिमी, तरुल, पिडालु र गोलभेंडासँगै खेतबारीमा मौसमी बेमौसमी तरकारी खेती गरेका छन् ।

अर्गानिक भएकाले भनेकै मोलमा बिक्री हुन्छ । समय अनुसारको तरकारी मात्र होइन बजार माग अनुसारको फसल तयार हुने समय मिलाएर खेती गरेकाले पनि आम्दानी राम्रो भएको कृषक वसन्तबहादुर जर्घामगरले बताए । ‘तरकारीले हाम्रो जीवनस्तर उकासेको छ,’ उनले भने, ‘समय मिलाएर तरकारी लगाउन सके सोचेभन्दा बढी आम्दानी हुँदो रैछ ।’ रूपन्देहीमा करिब एक हजार कृषक समूह छन । १ सय ५० वटा कृषि सहकारी संस्था छन् । सरकारी सहयोग र सहकार्यमा सञ्चालित यस्ता धेरैजसो समूह पनि तरकारी खेतीमा आकर्षित भएका छन् । यसले पनि तरकारी उत्पादन बढेको हो ।

यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गत फिल्ड स्तरमा रहेका ४ कृषि सेवा केन्द्र र ७ कृषि सम्पर्क स्थल थिए । अहिले जिल्लाका १६ वटै तहमा कृषि शाखा छ । तिनले पनि व्यावसायिक तरकारीका लागि किसानहरूलाई सघाएका छन् । तरकारीका अगुवा किसानहरू साना किसानहरूलाई मल, बीउ र औषधिमा अनुदान तथा सबै जमिनमा सिंचाइ सुबिधा पुर्‍याउन सके तरकारी उत्पादनलाई अझ बढाउन सकिने बताउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?