१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चीन–अमेरिका व्यापार विवाद समाधानतर्फ

जेटीईको प्रतिबन्ध फुकाउने ट्रम्पको संकेतले उनी चीनसँग व्यापार युद्ध गर्न नचाहेको प्रस्टयाएको छ
एजेन्सीहरू

काठमाडौँ — एक महिनाअघि चिनियाँ कम्पनी जेटीईलाई लगाएको सातवर्षे प्रतिबन्ध फुकुवा गर्ने जानकारीसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्बन्ध सुधार्न चाहेको संकेत दिएका छन् ।

चीन–अमेरिका व्यापार विवाद समाधानतर्फ

उनले आइतबार एक ट्वीट गर्दै कम्पनीलाई नष्ट हुनबाट जोगाउन आफूले चिनियाँ राष्ट्रपतिसँग काम गरिरहेको र जेटीईका प्रतिबन्धका कारण धेरै चिनियाँहरू बेरोजगार बनेको बताएका थिए ।

गत वर्ष अमेरिकामा प्रतिबन्ध लागेसँगै ७५ हजार कर्मचारी भएको चिनियाँ कम्पनीले अमेरिकामा धेरै कामहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो । अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएका देशमा अमेरिकाबाट सामान निर्यात गरेको आरोपमा जेटीईमाथि सातवर्षे प्रतिबन्ध लागेको थियो ।

यो एक चिनियाँ कम्पनीलाई लगाइएको प्रतिबन्ध मात्र नभई अमेरिकी प्रविधि उद्योगलाई फस्टाउन दिने ट्रम्प प्रशासनको योजनाका रूपमा पनि धेरैले हेरेका थिए । तर, जेटीईको प्रतिबन्ध फुकाउने ट्रम्पको संकेतले उनी चीनसँग व्यापार युद्ध गर्न नचाहेको प्रस्टयाएको छ ।

उनले केही दिनअघि अर्को
ट्वीट गर्दै अमेरिकार र चीनबीचको व्यापारमा कुनै समस्या नहुने बताएका थिए । ट्रम्पको यो कदमले अर्को महिना हुने तय भएको ट्रम्प र उत्तर कोरियाली नेता किम जोङसँगको भेटको तयारीका रूपमा पनि विश्लेषण गर्न सकिन्छ । जसका लागि अमेरिकालाई चिनियाँ सहयोग आवश्यक छ ।

एक अर्काको सामानमा भन्सार शुल्क लगाउने अमेरिका र चीनबीच केही अघि भएको चर्काचर्कीलाई पनि यो घटनाले मत्थर बनाउन भूमिका खेल्न सक्छ । ट्रम्पले चिनियाँ रोजगार गुमेको भन्दै जेटीईमाथि लगाएको प्रतिबन्ध हटाउने संकेत गर्नुको अर्थ घुमाउरो रूपमा चीनलाई अमेरिकी रोजगार गुम्ने नीति नलिऊँ भनी गरेको आग्रहको रूपमा पनि विश्लेषकले बुझेका छन् ।

अमेरिकाले जेटीईमाथि प्रतिबन्ध लगाउँदै उसले कुनै पनि अमेरिकी कम्पनीको सामान प्रयोग गर्न नपाउने निर्णय गरेको थियो, जसका कारण दूरसञ्चारको सामग्री उत्पादन गर्ने जेटीईलाई आफ्नो सामान बनाउन निकै संघर्ष गर्नुपर्ने थियो ।

तर, गल्ती गरेको चिनियाँ कम्पनीलाई माफी दिने ट्रम्पको संकेतले अमेरिकामा समर्थन पाएको भने छैन । अमेरिकी सिनेटरहरूले ट्रम्पलाई अरूको देशको रोजगार गुमेको र कम्पनीलाई असर परेको विषयमा भन्दा पनि आफ्नो देशको कम्पनीको विषयमा चिन्ता गर्न सुझाव दिइरहेका छन् । अमेरिकाले आर्थिक नाकाबन्दी गरेको इरान र उत्तर कोरियामा अमेरिकाबाट सामान निर्यात गरेको आरोप जेटीईमाथि छ ।

जेटीईले अघिल्लो वर्ष नै अमेरिकी नियम उल्लंघन गरेको आरोपमा १ अर्ब २० करोड डलर तिर्न राजी भइरहेको छ । जेटीईले १ सय ६० बढी देशमा आफूले व्यापार गर्ने गरेको बताउँदै आएको छ ।

अमेरिकामा जेटीई एप्पल, सामसङ र एलजीई पछि चौथो ठूलो स्मार्टफोन ब्रान्ड हो । तर, अधिकांश ठूला अमेरिकी टेलिकम कम्पनीले पनि सुरक्षाको विषयलाई लिएर जेटीईको उपकरण प्रयोग गर्न अरुचि देखाउँदै आएका छन् । अर्को चिनियाँ कम्पनी हुवावेलाई पनि अमेरिकामा यस्तै शंका गरिन्छ । दुवै कम्पनीहरू चिनियाँ कम्पनीसँग नजिक भएकाले दुवै कम्पनीको उपकरण दूरसञ्चार कम्पनीहरूले प्रयोग गर्नु राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै पटकपटक अमेरिकी निकायहरूले चेतावनी दिँदै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?