कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उखुको भुक्तानी माग्दै ताला

रवीन्द्र उप्रेती

महोत्तरी — रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी नदिएपछि यहाँका किसान आन्दोलनमा उत्रेका छन् । उनीहरूले तत्काल भुक्तानी गर्नुपर्ने एक सूत्रीय माग राख्दै मिलमा ताला लगाए । प्रशासनिक र वाणिज्य भवन, मिल हाउस र उखु विभागका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन् ।

उखुको भुक्तानी माग्दै ताला

मिलले लामो समयसम्म उखुको भुक्तानी नदिँदा आन्दोलनमा ओर्लन बाध्य भएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले बताए । यस वर्ष मिलले २ अर्ब २२ करोड १५ लाख मूल्य बराबरको करिब ४२ लाख ६० हजार क्विन्टल उखु खरिद गरेको छ । त्यसमध्ये ३४ लाख क्विन्टल उखुको १ अर्ब ७८ करोड भुक्तानी नगरेपछि अधैर्य बनेका किसान आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

उखु उत्पादक महासंघ, चिनी उद्योग र सरकारका बीच गत वर्ष नै भएको त्रिपक्षीय सम्झौताअनुसार आफूहरूले भुक्तानी पाउनुपर्ने आन्दोलनरत कृषकको माग छ । त्रिपक्षीय सम्झौतामा उखु खरिद गरेको ३० देखि ४५ दिनभित्र चिनी मिलले भुक्तानी दिइसक्नुपर्ने उल्लेख छ । मुलुकका अन्य मिलले यही सम्झौताअनुरूप भुक्तानी गरेको अगुवा कृषकले बताए । एभरेस्ट चिनी मिलले भने उखु खरिद गरेको आइतबार १ सय २७ दिन पुग्यो । यसबीच भुक्तानी दिएको छैन । ‘भुक्तानी नदिँदा महोत्तरी, धनुषा, सर्लाही र रौतहटसम्मका २५ हजार उखु कृषक मर्कामा छन्,’ अध्यक्ष कुशवाहले भने । आन्दोलनमा सहभागी उखु उत्पादक महासंघ केन्द्रीय सदस्य महाशंकर थिङका अनुसार गत २६ गते भुक्तानी पाउन बाँकी कृषकको लगत माग्दासमेत नदिएपछि चिनी मिलको नियतमा खोट प्रस्टिएको हो ।

उखुको भुक्तानी नपाउँदा बैंक र साहूको ब्याज बढ्दै गएको, छोराछोरीको विद्यालयको शुल्क तिर्न नसकेको, उपचार खर्च अभाव जस्ता अनेक समस्या बेहोर्नुपरेकाले आन्दोलनमा उत्रिएको किसानले बताए । ‘पसिना बगाएर उत्पादन गरेको उखु बिक्री गर्‍यौं, भुक्तानी लिन रगत बगाउनुपरेको छ,’ गौशाला–९ भरतपुरका कृषक मनु अधिकारीले भने । एभरेस्ट चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसियाले सरकारले भारतबाट चिनी आयात गर्न छुट दिएपछि आफ्नो उत्पादन बिक्री नहुँदा कृषकको भुक्तानी दिन नसकेको दाबी गरे । नेपाल बैंक र वाणिज्य बैंकमा चिनी धितो राखी ५५ करोड ऋण लिएर पुससम्मको भुक्तानी दिएको उनको भनाइ छ । ‘चिनी नै बिक्री नभएपछि बाँकी रहेको भुक्तानी कहाँबाट दिने ?’ चौरसियाले भने ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?