२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ठेकेदारले अलपत्र छाडे सडक

कृष्ण थापा

मानेगाउँ (नुवाकोट) — सोले हुँदै भाल्चे जाने सडक ठेकेदारले तोकिएको समयमा काम नगर्दा अलपत्र परेको छ ।
मूल ठेकेदारले पेटी ठेकेदारलाई सडक निर्माण गर्ने जिम्मा दिएकामा उसले हात झिकेपछि किस्पाङ गाउँपालिका ५ मनकामना–फिकुरी–काउले–साल्मे–भाल्चे साढे १८ किलोमिटर सडक योजना अलपत्र परेको हो ।

ठेकेदारले अलपत्र छाडे सडक

‘सडक बनाउनुपर्छ भनेर कतिपटक सडक डिभिजन धाइयो,’ किस्पाङ १ का मेघबहादुर घलेले भने, ‘अझै ठेकेदारले राम्ररी काम गरेको छैन ।’

सलाखुखोला पुलदेखि मानेगाउँ–मनकामना–सातदोबाटे हुँदै भाल्चेसम्म ठाउँठाउँमा सडक भित्ताको माटो काट्ने, ढुंगा काट्ने र वाल लगाउने काम भएको छ । ठाउँठाउँमा रिटेनिङ वाल लगाउनुपर्नेमा लगाएको छैन ।

गत वर्षको वर्षातको पानीले सलाखुखोला, कार्कीगाउँ, भागाले, मनकामनासम्मको नाली बगाएपछि सडक खल्डैखाल्डा भएको थियो । ‘ठेकेदार र सडक डिभिजनले काम गरेनन्,’ स्थानीय प्रकाश तामाङले भने, ‘सडकले कि काम लगाउनुपथ्र्यो, कि कारबाही गर्नुपथ्र्यो ।’ ०७१ मा ठेक्का सम्झौता भई ०७४ मंसिर २८ गते साढे वर्षमा पिच गरेर सडकलाई दिने सहमति भएकामा म्यादसमेत गुज्रेको छ । ‘सडक सम्पन्न गरिसक्ने बेलासम्म पनि ठेकेदारले १० जना कामदार राखेर काम गरेजस्तो बाहेक केही गरेको छैन,’ किस्पाङ गाउँपालिका २ का वडाध्यक्ष देवनाथ भट्टले भने, ‘गत मंसिर ४ गते ठेकेदारले काम गर्छु भनेर सडक कार्यालयमा स्थानीयबासीमाझ वाचा गरेको थियो ।’

साढे दुई वर्षमा १८ दशमलव ६ किमि सडक स्तरोन्नति गर्न आशिष, लोहनी र सूर्यचन्द्र जेभीले निर्माण गर्ने ठेक्का सम्झौता गरेका थिए । उनीहरूले भ्याटसहित ३२ करोड रुपैयाँको ठेक्कामा ३८ प्रतिशत घटेर १८ करोड रुपैयाँ ठेक्का सकारेका थिए । सडकको दुरवस्था देखेर स्थानीयवासीको खप्की खानुपरेको किस्पाङ गाउँपालिका प्रमुख छत्र लामाले बताए ।

‘ठेकेदारले काम गरेन । सडकले टेरेन । के गर्ने ?’ उनले भने । सडक डिभिजन कार्यालय रसुवा–नुवाकोटमा पेटी ठेकेदारले यो वर्षको ९४ प्रतिशत काम भएको देखाई २ करोड ४१ लाख रुपैयाँ रकम लिइसकेको कार्यालयले जनाएको छ । २०/२२ प्रतिशत पनि काम नभएको स्थानीयबासीको आरोप छ । सडक डिभिजन कार्यालय रसुवा–नुवाकोट प्रमुख निरज शाक्यले ३५ प्रतिशत काम भएको दाबी गर्छन् । ‘ताकेता र पत्राचार गरेको छु । कानुनअनुसार काम गर्ने हो भने प्रोजेक्ट जान्छ । ठेकेदारलाई कारबाही गर्ने हो,’ शाक्यले भने, ‘कालोसूचीमा राख्ने हो । काम हुँदैन, बजेट फ्रिज हुन्छ ।’ ओखरपौवा–कोल्पु १६ किमि सडक पनि अलपत्र छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?