चिनीको अस्वाभाविक आयात

एउटै भन्सार नाकाबाट १० महिनामै अघिल्लो वर्षको भन्दा अढाइ सय गुणा बढी भित्रियो
देवनारायण साह

मोरङ — पाकिस्तानमा सस्तिएपछि विराटनगर भन्सारबाट यस वर्ष चिनीको आयातमा अस्वाभाविक वृद्धि भएको छ । गत वर्षभर २ सय ४४ टन आयात भएको चिनी चालु आर्थिक वर्षको १० महिनामा ५७ हजार २ सय टन आयात भएको छ । यो अघिल्लो वर्षभरिको भन्दा २ सय ३४ गुणा बढी हो ।

चिनीको अस्वाभाविक आयात

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २ अर्ब ६२ करोड ३२ लाख २१ हजार मूल्य बराबरको चिनी आयात हुँदा ९० करोड ९ लाख ९४ हजार राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले जनाएको छ । गत वर्ष १ करोड ५८ लाख ७६ हजार मूल्य बराबरको चिनी आयात हुँदा ३९ लाख १ हजार राजस्व असुली भएको तथ्यांक फाँटका राजेन्द्र थापाले बताए ।


भन्सार कार्यालय प्रमुख मिमांस अधिकारीले नेपालमा उत्पादन भएको चिनीभन्दा विदेशी बजारमा सस्तो भएकाले आयात वृद्धि भएको बताए । यस वर्ष मागभन्दा बढी चिनी आयात भएको छ । मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले यहाँ चिनीको मूल्य बढिरहने तर पाकिस्तानलगायतका मुलुकमा सस्तो भएपछि व्यापारीहरूले फाइदा देखेपछि आयातमा वृद्धि भएको बताए । भन्सार कार्यालयको तथ्यांकअनुसार यस वर्ष सबभन्दा बढी वैशाखमा ५७ करोड ७७ लाख ४३ हजार मूल्य बराबरको १३ हजार ६ सय ४४ टन चिनी आयात हुँदा २७ करोड ७४ लाख २९ हजार राजस्व असुली भएको छ ।


‘विदेशमा सस्तो भएर चिनीको आयात हुन थालेको समयमा नै स्वदेशी चिनी उद्योगहरूलाई प्रोत्साहन गर्न भन्सार महसुल दोब्बर वृद्धि गर्ने सरकारको निर्णय गलत हो,’ उनले भने, ‘नेपाल चिनीमा आत्मनिर्भर भइनसकेको अवस्थामा विदेशबाट आयात गर्नुको विकल्प नभएको अवस्थामा भन्सार महसुल वृद्धि गर्ने सरकारी कदम गलत सावित भएको छ ।’ सरकारले भन्सार महसुल वृद्धि गरेपछि व्यापारी मार्कामा परेको उनको भनाइ थियो । ‘सरकारले भन्सार महसुल वृद्धि नगरेको भए प्रतिकिलो चिनी ५०/५५ रुपैयाँमा उपलब्ध हुने थियो,’ उनले भने, ‘सरकारी निर्णयले विदेशी बजारमा सस्तिएको चिनीको फाइदा नोपली उपभोक्ताले पाउन सक्ने अवस्था रहेन ।’


उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले नेपालमा चिनीको माग २ लाख ५० टनभन्दा बढी रहेको तर उत्पादन करिब १ लाख ६० टन मात्रै रहेकाले विदेशबाट चिनीको आयात हुँदै आएको बताए । ‘पाकिस्तानमा गत वर्ष आन्तरिक खपतभन्दा १२ लाख टन चिनी बढी उत्पादन भएको थियो,’ उनले भने, ‘पाकिस्तानको सरकारले उक्त चिनी निर्यात गर्नका लागि ढुवानी भाडामा अनुदान दिएकाले विश्व बजारमा चिनीको मूल्य सस्तिएको हो र त्यही कारणले यहाँ पनि चिनीको आयात बढेको छ ।’


पाकिस्तानमा प्रतिटन चिनीको मूल्य ३ सय ४० देखि ३ सय ४५ डलर रहेको बोहोराले बताए ।


साउन महिनामा १ करोड ५९ लाख ६६ हजार मूल्य बराबरको २ सय ६० टन, भदौमा १ करोड ३५ लाख ३१ हजार मूल्य बराबरको २ सय ६० टन, असोजमा १ करोड ४३ लाख ५७ हजार मूल्य बराबरको २ सय ७० टन चिनी आयात भएको थियो ।


कातिकमा ४३ करोड ७१ लाख ९२ हजार मूल्य बराबरको ८ हजार १ सय टन, मंसिरमा २८ करोड ८४ लाख १९ हजार मूल्य बराबरको ६ हजार १७ टन, पुसमा ३१ करोड ३८ लाख १ हजार मूल्य बराबरको ६ हजार ७ सय टन चिनी आयात भएको थियो ।


माघमा २४ करोड ५ लाख ७६ हजार मूल्य बराबरको ५ हजार २ सय १२ टन, फागुनमा १७ करोड ५ लाख ६७ हजार मूल्य बराबरको ३ हजार ९ सय टन र चैतमा ५५ करोड १० लाख ६७ हजार मूल्य बराबरको १२ हजार ७ सय ४० टन चिनी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।


चिनीको आयात बढेसँगै सरकारले वैशाख ४ गतेको मन्त्रिपरिषदको निर्णयले भन्सार महसुल दोब्बर वृद्धि गरेको छ । मन्त्रिपरिषदले १५ प्रतिशत भन्सारमा दोब्बर वृद्धि गरेर ३० प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?