कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली स्टिकर प्रकरण: थप तीनलाई पक्राउ गर्न पत्राचार

शंकर आचार्य

पर्सा — मदिराको अन्तशुल्कको नक्कली स्टिकर उत्पादन तथा आयातको कारोबार प्रकरणमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले थप ३ जनालाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई पत्राचार गरेको छ ।

नक्कली स्टिकर प्रकरण: थप तीनलाई पक्राउ गर्न पत्राचार

प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार यस प्रकरणमा थप तीनजनाको बयान नलिई अनुसन्धान गर्न सहज नहुने भएकाले यसो गरिएको हो । ‘हामीले सीआईबीलाई यसबारे पत्राचार गरिसकेका छौं, अनुसन्धान प्रभावित हुने तथा खोजी गरिएका व्यक्तिहरू भाग्न सक्ने सम्भावना रहेकाले उनीहरूको नाम सार्वजनिक गर्न मिलेन,’ उनले भने, ‘सीआईबीले उनीहरूलाई छिट्टै पक्रेर ल्याए बयानपछि मुद्दा फैसला गर्नेछौं, सम्भवत: असार मसान्तभित्रै यो मुद्दाको छिनोफानो गरिन्छ ।’


गत महिना कार्यालयले स्टिकर आयातकर्ता कम्पनी राजधानीस्थित हरिओम ट्ेरडर्सका कर्मचारी सुगम सापकोटा, प्रमोद दवाडी, सुगम सापकोटा, प्रकाश सापकोटा र राधे पौडेल समेतको बयान लिएर तारेखमा छाडिसकेको छ ।


यसअघि भदौमा पक्राउ परेका हिमालयन रोडवेजका सञ्चालक विनोदकुमार गुप्ता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए ।


प्रकरणमा पक्राउ परेका पशुपति क्यारियरका कर्मचारी राजधानीको चन्द्रागिरि नपा १४ निवासी पुष्कर दवाडीलाई पनि कार्यालयले बयान लिएर तारेखमा छोडेको थियो । गत वर्ष नै यसै प्रकरणमा पक्राउ परेका स्टिकर आयातकर्ता कम्पनी हरिओम ट्ेरडिङ प्रालिका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनिबेंसीका राजकुमार भण्डारी, हरिओम ट्ेरडिङ प्रालिका सञ्चालक कुलप्रसाद राजभण्डारीको पनि कार्यालयले दोहोर्‍याएर बयान लिइसकेको छ ।


भदौ १९ मा पक्राउ परेलगत्तै लिइएको बयानपछि कार्यालयले उनीहरूसँग जनही ७/७ करोड रुपैयाँ धरौटी मागेको थियो । धरौटी दाखिला गर्न नसकेपछि उनीहरू जेल चलान भएका थिए । यो गिरोहले नेपाल भित्र्याउन खोजेको नक्कली स्टिकर बजारमा गएको भए ३ करोड ५० लाख रुपैयाँ राजस्व घाटा हुन सक्ने ठहर गरी आरोपितहरूसँग बिगो र त्यस बराबरको जरिवानासमेत गरी ७/७ करोड रुपैयाँ धरौटी मागिएको थियो ।


हरिओम ट्रेडिङ प्रालिले भारताट आयात गरेको ८६ हजार ४ सय ७० थान नक्कली स्टिकर भदौ १९ वीरगन्ज भन्सारमा जाँचपासको प्रक्रियाका लागि ल्याएपछि उक्त स्टिकरसहित हिमालयन कार्गो ढुवानी कम्पनीका सञ्चालक भारत रक्सौल निवासी वीरेन्द्रकुमार गुप्ता स्टिकरसहित पक्राउ परेका थिए ।


आन्तरिक राजस्व विभागले ग्लोबल टेन्डरबाट यसरी मदिराको स्टिकर आपूर्ति गर्ने गर्छ । प्राय: इन्डोनेसियामा उत्पादन भई नेपाल आउने यस्तो स्टिकर पहिलोपटक भारतमा उत्पादन गरी ल्याउन खोजिएपछि ती स्टिकर नक्कली रहेको रहस्य खुलेको थियो । विभागले हालसम्म भारतबाट यस्तो स्टिकर ल्याएको छैन ।


कार्यालयले भारतको कोलकातास्थित स्टिकर उत्पादक कम्पनीलाई पनि यो प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने प्रयास गरेको छ । यो प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको कार्यालयले स्टिकर उत्पादक भारतीय कम्पनीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रयास गरेको हो ।


नक्कली वस्तु ल्याउने नेपाली आयातकर्ता दोषी हुन्छ भने उसलाई नक्कली वस्तु उपलब्ध गराउने कम्पनी पनि उत्तिकै दोष्ीा हुने भएकाले उक्त स्टिकर उत्पादक कम्पनीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रयास गरिएको हो । हाललाई नाम गोप्य राखिएको उक्त कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउने आशयसहितको पत्र कार्यालयले आन्तरिक राजस्व विभागलाई लेखिसकेको छ ।


विभागले अर्थ र परराष्ट्रय मन्त्रालयमार्फत भारत सरकारसँग उक्त कम्पनीका व्यवस्थापक वा अन्य जिम्मेवार व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन प्रयास थाल्न सक्ने कोइराला बताउँछन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?