कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेश बिमा पहुँचमा पनि पछाडि

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकिङ, पुँजी बजारलगायतमा पछि परेको कर्णाली प्रदेश (प्रदेश न. ६) बिमा पहुँचमा पनि सबैभन्दा कम देखिएको छ । विकट भौगोलिक भूभाग, शिक्षा र स्वास्थ्य अवस्था कमजोर, जनचेतनाको कमीलगायत कारण कर्णाली प्रदेश बिमा पहुँचमा पनि पछि परेको हो ।

कर्णाली प्रदेश बिमा पहुँचमा पनि पछाडि

गत फागुनसम्म कर्णाली प्रदेशमा जीवन बिमाबाट १ अर्ब ८४ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन भएको छ । यो सोही अवधिमा मुलुकभरको जीवन बिमा शुल्कको करिब सवा २ प्रतिशत मात्र हो । फागुनसम्म जीवन बिमा शुल्कबापत मुलकभर ८० अर्ब ७९ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।


बिमा पहुँच (जीवन र निर्जीवन) का आधारमा तीन नम्बर प्रदेश सबैभन्दा अघि र प्रदेश पाँच दोस्रोमा देखिएको छ । तर, प्रदेश १, २, ४ र ७ मा पनि तुलनात्मक रूपमा बिमा पहुँच कम रहेको देखिन्छ ।


कर्णाली प्रदेशमा बिमा कम्पनीहरूका ५३ वटा क्षेत्रीय कार्यालय, शाखा र उपशाखा छन् । ती कार्यालयहरूमार्फत हालसम्म २१ लाख ८४ हजार ३ सय ९१ वटा बिमा लेख जारी भएका छन् । जारी बिमालेखमा कर्णाली प्रदेशको हिस्सा करिब साढे २ प्रतिशत रहेको समितिको तथ्यांक छ । हाल मुलुकभर कुल ९ सय १२ क्षेत्रीय कार्यालय, शाखा र उपशाखामार्फत जीवन बिमा सेवा प्रवाह भइरहेको छ । जीवन बिमामा पहुँचका आधारमा ३ नम्बर प्रदेश सबैभन्दा अघि छ । यो प्रदेशमा जीवन बिमाबापत गत फागुनसम्म ३२ अर्ब २७ करोड रुपैयाँ संकलन भएको छ । यसैगरी प्रदेश ५ मा १३ अर्ब ५ करोड रुपैयाँ, प्रदेश १ मा ११ अर्ब ५४ करोड, प्रदेश २ मा ८ अर्ब ७६ करोड, प्रदेश ४ मा ७ अर्ब १४ करोड, प्रदेश ७ मा ६ अर्ब १४ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको जनाइएको छ ।


गत फागुनसम्म कर्णाली प्रदेशमा निर्जीवन बिमामार्फत ८ करोड १७ लाख रुपैयाँ संकलन भएको छ । यो सोही अवधिमा मुलुकभर संकलन भएको निर्जीवन बिमा शुल्कको ०.६६ प्रतिशत मात्र हो । फागुनसम्म मुलुकभर निर्जीवन बिमामार्फत कुल १२ अर्ब २८ करोड रुपैयाँ संकलन भएको समितिको तथ्यांक छ । मुलुकभर ७ सय ७३ क्षेत्रीय कार्यालय, शाखा र उपशाखामार्फत निर्जीवन बिमा सेवा प्रदान भइरहेको छ । तीमध्ये कर्णाली प्रदेशमा २१ वटा मात्र शाखा छन् । फागुनसम्म बिमा कम्पनीहरूले ११ लाख ८२ हजार ३ सय ८८ वटा बिमालेख जारी गरेका छन् । त्यसको १ प्रतिशत वा १२ हजार ३ सय २८ वटा बिमा लेख कर्णाली प्रदेशमा जारी भएको देखिन्छ ।


निर्जीवन बिमा पहुँचका आधारमा पनि प्रदेश ३ सबैभन्दा अघि छ । फागुनसम्म यो प्रदेशमा ८ अर्ब ८२ करोड रुपैयाँ निर्जीवन बिमा शुल्क संकलन भएको छ । यसैगरी प्रदेश १ मा १ अर्ब २१ करोड, प्रदेश ५ मा १ अर्ब २१ करोड, प्रदेश २ मा ८९ करोड ८१ लाख, ७६ करोड ७ लाख र प्रदेश ७ मा ३१ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको समितिले जनाएको छ ।


प्रदेशअनुसार विश्ेलषण गर्दा केही प्रदेशहरूमा बिमा पहुँचको अवस्था निकै कमजोर देखिएकाले ती क्षेत्रमा बिमा विस्तारका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले बताए । ‘ती क्षेत्रमा बिमा विस्तारका लागि तुरुन्तै केही गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘आगामी वर्षको बजेटमा विशेष खालका नीति तथा कार्यक्रम ल्याउँछौं ।’ बिमा पहुँच कम देखिएका प्रदेशहरूमा नयाँ रणनीतिसहित काम सुरु गरिने उनले बताए ।


मुलुकको कुल जनसंख्यामध्ये करिब साढे १४ प्रतिशतमा जीवन बिमा पहँुच पुगेको छ । करिब २ वर्षअघि यस्तो अनुपात ८ प्रतिशत थियो । बिमा कम्पनीहरूले जारी गरेको कुल बिमा पोलिसीलाई सोही समयको कुल जनसंख्याले भाग गरेर बिमा पहुँच अनुपात निकालिएको हो । उक्त गुणनामा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई पनि समेटिएको छ ।


हाल वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । गत आर्थिक वर्षसम्म करिब ११ लाख ८५ हजार ५ सय ८४ वैदेशिक रोजगार बिमालेख जारी भएका छन् । यी पोलिसीलाई समावेश नगर्दा पनि करिब साढे १० प्रतिशतमा जीवन बिमा पहुँच पुगेको देखिन्छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?