२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘रोजगारमूलक शिक्षामा प्राथमिकता’

सुदीप कैनी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकारले रोजगारमूलक शिक्षामा जोड दिने बताएका छन् । ‘नेपालमै उत्कृष्ट शिक्षा’ भन्ने नारासहित बिहीबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा पाँचाैं कान्तिपुर हिसान शैक्षिक मेला उद्घाटन गर्दै उनले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सरकारले नीति बनाउन लागेको जानकारी दिएका हुन् ।

‘रोजगारमूलक शिक्षामा प्राथमिकता’

‘शिक्षा गुलाफको फूलजस्तै हुनुपर्छ,’ उनले उदाहरण दिँदै भने, ‘टिप्यो, तुरुन्तै बेच्यो, हातमा पैसा आइहाल्छ ।’ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा आवश्यक रहेको उनले औंल्याए । ‘सर्टिफिकेट पीडाको विषय भएको छ, काम नपाउने शिक्षा काम छैन, पढ्दा ऋण लाग्छ, जागिर खोज्दा जुत्ताको तलुवा खिइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जीवनलाई सरल र सहज बनाउने शिक्षा चाहिन्छ, देशलाई चाहिने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा हुनुपर्छ ।’ कस्तो जनशक्ति आवश्यक छ भन्ने पहिल्यै सर्वेक्षण गरेर शिक्षा नीति बनाइने उनले बताए ।

विद्यार्थीलाई उनीहरूको रुचि र क्षमताअनुसारको विषय पढ्न दिनुपर्ने उनको भनाइ थियो । ‘कुनै विद्यार्थी फेल हुँदैन, जुनतारा टिपूँला भनेर हिम्मतमाथि असफलताको बिल्ला भिराएर बन्चरो प्रहार गरिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई रुचिको विषय पढ्न दिनुपर्छ ।’ इच्छाअनुसार नेपाली युवायुवतीले अवसर पाए विश्वमा कीर्तिमान कायम गर्न सक्ने ओलीले बताए । क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै उनले भने, ‘क्रिकेटमा राम्रो गरेका सन्दीपलाई गायन वा चित्रकारितामा लगायो भने अहिले जस्तो हुन सक्छ ?’ यसका लागि सरकारले सोच विचार गरेर शिक्षा नीति तय गर्ने उनको आशय थियो ।

शिक्षामा गरिएको लगानी प्रतिफल दिने खालको हुनुपर्ने उनले प्रस्ट पारे । ‘छोराछोरीको पढाइमा लगानी गर्ने आमाबावुको सपना पूरा गर्ने शिक्षा हुनुपर्छ । अहिलेको शिक्षा फूल फुलेको बिरुवामा असिनाले हानेजस्तो भयो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सरकारीले व्यवस्थापनमा सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर वृद्धि गरिने दाबी गरे । ‘सरकार शिक्षा क्षेत्रको सुधार गर्न गम्भीर छ, अब नेपालमा निरक्षर भनेको ५ वर्षमुनिका बालबालिका मात्र हुन्छन्,’ उनले भने । शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानको प्रशंसासमेत उनले गरे । ‘सरकारदेखि प्रत्येक नागरिक र निजी क्षेत्रले शिक्षामा लगानी गरेका छन्,’ उनले भने । कतिपय शैक्षिक संस्थाको नाममा कमाउन धन्दा चलेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । ‘ढाड हेरेर ढाडभन्दा ठूलो लौराले हान्न पाउनु हुँदैन,’ निजी शैक्षिक संस्था संचालकहरूलाई चेतावनी शैलीमा उनले भने, ‘ठगी र लुटमार चलेको छ । कमाउने स्पिड अलिकति कम गरे हुन्छ, नाफा नकमाउनु भनेको हैन ।’ नागरिकहरूले उचित शिक्षा पाएमात्रै देशले काँचुली फेर्ने उनले बताए । शिक्षाले मात्रै प्रत्येक व्यक्तिको सोच र जीवनशैली परिवर्तन गर्न सम्भव रहेको उनको भनाइ थियो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर दैनिकले शैक्षिक मेलाको आयोजना गरेका हुन् । एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमेत प्रधानमन्त्री ओलीसँगै मेलाका स्टलहरूको अवलोकन गरेका थिए । चर्चित क्रिकेटर सन्दीप लामिछानेको उपस्थितिले मेला स्थलमा रौनक थपेको थियो । सन्दीपलाई जेभियर इन्टरनेसनल कलेजका एम्बेसेडरका रूपमा चयन गरिएको मेला आयोजक समितिका संयोजक लोकबहादुर भण्डारीले जनाए ।

उद्घाटन सत्रमा हिसानका अध्यक्ष रमेश सिलवाल, मेला संयोजक भण्डारीलगायतले चारदिने मेलाको आकर्षणबारे जानकारी गराएका थिए । मेलामामा १ सय ५० भन्दा बढी शैक्षिक संस्थाहरूका स्टल रहेका छन् । स्टलमा गएर विद्यार्थी तथा अभिभावकले शैक्षिक परामर्श लिने गरेका छन् । ‘कुन कलेज पढ्ने कुन विषय पढ्ने जस्ता विषयमा विद्यार्थीले परामर्श लिन सक्छन्,’ संयोजक भण्डारीले भने ।

शिक्षासँग सरोकार राख्ने विद्यार्थी र अभिभावक आएर मेलाको अवलोकन गर्ने र परामर्श लिन गरिरहेका छन् । ‘हामीले आशा गरेजत्तिकै पहिलो दिनमै परामर्श लिने विद्यार्थीको चाप धेरै बढयो,’ मेलामा सहभागी इस्लिङटन कलेजकी म्यानेजर अनुश्री मानन्धरले भनिन्, ‘सकेसम्म जिज्ञासा मेटाउने प्रयासमा छौं ।’ जेठ १३ गतेसम्म चल्ने मेलाको दोस्रो दिनबाट संघीयतामा शिक्षालगायत विविध शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरू हुनेछन् । साथै विभिन्न कलेजले विद्यार्थीलाई अध्ययन छात्रवृत्ति व्यवस्था गरेको जनाएका छन् । मेलाको पहिलो दिन करिब ३५ हजारले अवलोकन गरेको आयोजकले जनाएका छन् ।


-आयुशा ठकुरी, काठमाडौं
कलेजमा कस्तो पढाइ हुन्छ ? कसरी पढाइ हुन्छ भन्ने कुरा पनि मेलामा थाहा भयो । पहिले मलाई केही थाहा थिएन । भर्ना गर्नुअघि नै जान्नु पर्ने कुराहरूको जानकारी पाइँदो रहेछ । कक्षा ११ मा आफूले चाहेजस्तो कलेज, पढ्न चाहेको विषय कस्तो, कसरी पढ्ने भन्ने कुरा पनि मेलामा थाहा भयो । अरु धेरै साथीहरूले पनि जानकारी लिनुपर्ने ठानेको छु ।

-सृष्टि रिजाल, ललितपुर
मेलामा धेरै कुरा सिक्न पाइयो । कलेजहरूबारे केही थाहा थिएन । भूकम्प गएपछि धेरै कलेजहरूले राम्रो भवन बनाएका रहेछन् । सेवा सुविधाबारे जानकारी पाइयो । कहाँ, कस्तो, कुन कुन स्तरको कलेज रहेछन् भनेर बुझ्ना पाइयो । छानेको विषय पढ्दा पाउनुपर्ने सेवा सुविधाका विषयहरूबारे जानकारी मिल्यो ।

-नारायण बस्नेत, प्यूठान
म पनि उच्च शिक्षा पढ्न कलेजहरूकै खोजीमा छु । थुप्रै कलेजहरूले आफ्नो पढाइ र वातावरणबारे जानकारी दिने रहेछन् । कुरा सुन्दा हेर्दा सबैका बयान राम्रै छन् । सबै कलेजबारे एकै ठाउँमा जानकारी पाउँदा खुसी लाग्यो । मेलामा कसरी पढ्ने भन्ने कुरा पनि सिक्न पाइयो । पढ्नका लागि धेरै मेहेनत गर्नुपर्ने कुरा सरहरूले सिकाउनुभयो । अब अभिभावकसमेत लिएर आउन जरुरी ठानेको छु ।

-रिसर्ज कोइराला, गोरखा
मेलामा धेरै कलेजहरूको जानकारी पाएँ । कलेजहरूबारे पढ्ने कुराहरू दिनुभएको छ । म साइन्स पढ्न चाहन्छु । खुसीको कुरा यहाँ दाइदिदीहरू र सरहरूले सल्लाह सुझाव दिनुहुने रहेछ । धेरै कुरा एकै ठाउँमा बुझ्न पाइयो । कलेज–कलेज जाँदा धेरै समय लाग्छ । सम्भव पनि हुँदैन । म राम्रो पढाइ हुने र सस्तो शुल्क लिने कलेजको खोजीमा छु ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?