किन बन्द थियो साँफेबगर विमानस्थल ?

१५ वर्षपछि फिक्स्ड विङ्ग को परीक्षण उडान
सुरज कुँवर

काठमाडौँ — अछामको व्यापारिक केन्द्र साँफेबगरमा १५ वर्षपछि समिट एयरको लेट विमानले परीक्षण उडान गरेको छ । हुम्लाको सिमकोटबाट नेपालगन्जका लागि उडेको समिटको विमानले साँफेबगर विमानस्थलमा ‘टचडाउन’ गरी नेपालगन्ज फर्केको थियो ।

किन बन्द थियो साँफेबगर विमानस्थल ?

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माका अनुसार, कालोपत्रे गरिएको ५ सय ५० मिटर लामो धावनमार्गमा पहिलोपटक विमान अवतरण भएको हो । ‘परीक्षण उडान सफल भयो । साँफेबगर नगरवासीले विमानका क्याप्टेन आङदोर्जी शेर्पासहितको चालकदलका तीनै सदस्यलाई भव्य स्वागत गरे’, शर्माले साँफेबगरबाट कान्तिपुरलाई भने ।

यो विमानस्थललाई कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले ०७३ चैत्रमा ११ करोड १७ लाख रुपैयाँबराबरको टेण्डर स्वीकृत गरेको थियो । टेण्डर प्राप्त गर्ने निर्माण व्यवसायीले असार मसान्तभित्र सबै काम सकेर प्राधिकरणलाई हस्तान्तरण गर्दै छ । ‘९५ प्रतिशत काम सकिसकेको छ,’ इन्जिनियर शर्माले भने ।


नेपालगन्जबाट साँफेबगर २८ र धनगढीबाट २० मिनेटको हवाई दूरीमा पर्छ । २०४६ अघि काठमाडौंबाट नेपाल वायुसेवा निगमको ट्वीनअटरले पोखरा वा भैरहवामा टचडाउन गरेर उडान भर्थ्यो । पर्यटकीय क्षेत्र खप्तड र मालिका प्रवेश गर्ने यो पहाडी सहरमा त्यसताका नेपालगन्ज, टीकापुर, धनगढी र महेन्द्रनगरबाट पनि दैनिक सिधा उडान हुन्थे ।


तस्बीर सौजन्य : एडी शेर्पा

२०५८ फागुन ४ गते माओवादी विद्रोहीले आक्रमण गरेपछि साँफेबगर विमानस्थल क्रमश: अवरुद्ध हुँदै गएको थियो । ‘सरकारका सय दिने कार्यक्रमअन्तर्गत शुक्रबार साँफेबगरमा समिट एयरले परीक्षण उडान गरेको छ,’ पर्यटनमन्त्री रविन्द्र अधिकारीले सिंहदरबारमा आयोजित कार्यक्रममा भने, ‘त्यो विमानस्थलको स्तरोन्नति पनि भएको छ । छिट्टै नियमित उडान सुरु हुने छ ।’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) तेजबहादुर बुढथापाका अनुसार, नेपाल वायु सेवा निगमले २०६० अन्तिमसम्म कमर्सियल उडान गरेको थियो । त्यसपछिका वर्ष त्यो विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकले बाजुरा र कर्णालीका जिल्लामा खाद्यन्नलगायत कार्गो ढुवानीको बेस बनाएको थियो ।


साँफेबगरसम्म सडक पुगेकाले सैनिक विमानले त्यहाँबाट हिमाली जिल्लामा खाद्यान्न ओसार्थ्यो । २०६९ चैत २३ गते तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले यती एयरलाइन्सको सिंगल इन्जिन भएको पिलाटस पोर्टर विमान लिई परीक्षण उडान गरेको थिए । तर, त्यसपछि नियमित कमर्सियल उडान भने हुन सकेको थिएन ।


समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले दुई दिनभित्र प्राधिकरणलाई साँफेबगरमा गरिएको परीक्षण उडानको प्रतिवेदन दिने बताएका छन् । ‘हामीलाई बिहीबार ७२ घन्टाभित्र साँफेबगरमा टेस्ट उडान गर्न भनिएको थियो,’ प्रबन्धक निर्देशक कार्कीले भने, ‘हामी दुई दिनभित्र प्राविधिक प्रतिवेदन बुझाउने छौं ।’ समिटको प्रतिवेदनपछि प्राधिकरणले कमर्सियल उडानका लागि निर्णय गर्नुपर्ने हुन्छ । पाइलटको प्रतिवेदनले त्यहाँको तापक्रम, धावनमार्गको लम्बाई आदिमा आधारित जहाजको उडान तौलबारे सुझावसहित लेखेर दिनुपर्छ । साँफेबगर १९ सिटयुक्त साना विमानका लागि उपयुक्त छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?