कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

श्रीमानभन्दा श्रीमती धनाढय

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — नेपालमा मन्त्रीभन्दा तिनका श्रीमतीहरू बढी धनाढय रहेको हालै सार्वजनिक तिनीहरूका सम्पत्ति विवरणहरूले पुष्टि गरेका छन् । तर, विश्वका अन्य मुलुकका मन्त्री र मन्त्री पत्नीको सम्पत्तिको विवरण समाचार नै बन्ने गरी सार्वजनिक भएको छैन ।

श्रीमानभन्दा श्रीमती धनाढय

केही धनाढय सेलिब्रेटी र उद्यमीहरूबारे लेखिएका समाचार र रिपोर्टहरूमा भने श्रीमतीहरू श्रीमान्भन्दा बढी धनी रहेको पाइएका छन् । ‘टाइम डट कम’ ले आफ्नो ‘मनी’ स्तम्भमा ‘सेलिब्रेटी नेटवर्थ डट कम’ को रिपोर्टलाई आधार बनाई तयार पारेको समाचार सामग्रीमा धनाढय सेलिब्रेटी/उद्यमी श्रीमान्का तुलनामा श्रीमतीहरू बढी धनी रहेको उल्लेख छ । सन् २०१७ जुलाई ११ मा सर्जेई क्लेब्निकोभले उक्त सामग्री पाठकमाझ पहिलोपटक पस्केका थिए । सामग्रीमा उनले २५ जना त्यस्ता दम्पतीहरूबारे बेलिविस्तार लगाएका छन् । तीमध्ये केहीबारे यहाँ जानकारी दिने जमर्को गरिएको छ ।

‘फोब्र्स’ पत्रिकाका अनुसार यो वर्ष २ हजार २ सय ८ अर्बपतिहरू सूचीमा परेका छन् । तिनीहरूको कुल सम्पत्ति ९ दशमलव १ ट्रिलियन अमेरिकी डलर रहेको छ । पत्रिकाको सूचीमा परेकामध्ये २ सय ५९ जना नयाँ अर्बपतिसमेत छन् । सूचीमा पुरुषहरू बढी परेका छन् । यो वर्ष २ सय ५६ जना महिलाले सूचीमा आफ्नो नाम दर्ज गर्न सफल भएका छन् । अमेरिकामा रहेका धनाढय सेलिब्रेटी/उद्यमीहरूमा केही आफ्ना श्रीमतीहरूभन्दा धनमा पछाडि छन् । ‘सेलिब्रेटी नेटवर्थ डट कम’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ब्रायन वार्नर भन्छन्, ‘मनोरञ्जनको एउटा सशक्त माध्यम बनेका महिलाहरू व्यापारमा समावेश हुनु केही समयअघिसम्म दुलर्भ नै थियो । तर, अहिले त्यस्तो छैन । केही रिपोर्टहरूको सूक्ष्म विश्लेषण गर्दा अधिकांश उद्यमी महिला र नायिकाहरूको कमाइ पुरुषहरूलाई मात दिने खालको छ ।’

ब्राजिलियन सुपरमोडेल गिसेले बुन्डचेन आफ्नो मोडेलिङ करियरबाटै धनाढय बन्ने मध्येकी एक हुन् । उनी निभिया, भोल्कावागन्स डु ब्राजिल र एप्पल इन्कलगायतका ठूला कम्पनीको विज्ञापनमा भूमिका निर्वाह गर्दै मनग्ये धनार्जन गर्न सफल भएकी छन् । उनको सम्पत्ति श्रीमान् टोम ब्रान्डीको भन्दा दोब्बर बढी छ । सन् २००९ मा विवाह गरेका यी दम्पतीको कुल सम्पत्ति ५ सय ४० मिलियन अमेरिकी डलर रहेको छ । यसमा गिसेलेको कुल सम्पत्ति ३ सय ६० मिलियन र ब्रान्डीको १ सय ८० मिलियन डलरको योगदान छ । न्यु इंग्ल्यान्डका प्रयाट्रिओट क्वार्टरब्याक ब्रान्डीको वार्षिक तलब २० दशमलव ५ मिलियन अमेरिकी डलर भए पनि यो श्रीमती गिसेलेको भन्दा कम हो ।

‘किपिङ अप विथ दि कार्दासियन’ रियालिटी सोबाट रातारात सेलिब्रेटी बनेकी किम कार्दासियनको सम्पत्ति पनि संगीत उद्योगका एक चर्चित हस्ती क्यानी वेस्टको तुलनामा कम रहेको छ । सन् २०१४ मा वैवाहिक जीवन सुरु गरेका यी दुईको कुल सम्पत्ति ३ सय ३५ मिलियन डलर रहेको छ । यसमा किमको कुल सम्पत्ति १ सय ७५ मिलियन र क्यानीको १ सय ६० मिलियन डलर योगदान रहेको छ ।

चर्चित हास्यव्यंग्य ‘इलेक्सन’ (१९९९) र ‘लेगली ब्लोन्डे’(२००१) तथा ओस्कर पुरस्कार पाउने गरी ‘वाक दि लाइन’(२००५) मा अभिनयबाट रिसे विथर्सपुन सेलिब्रेटी बनेकी हुन् । उनको कमाइको प्रमुख स्रोत कलाकारिता नै हो । रिसेको सम्पत्ति पनि श्रीमान्को भन्दा बढी छ । सन् २०११ मा प्रणयसूत्रमा बाँधिएका रिसे र जिम टोथको कुल सम्पत्ति १२४ मिलियन अमेरिकी डलर रहेको छ । रिसेको कुल सम्पत्ति १२० मिलियन डलर र टोथको ४ मिलियन डलर रहेको छ । लस एन्जेलसस्थित क्रिएटिभ आर्टिस्ट एजेन्सी (सीएए) मा मोसन पिक्सरका उपप्रमुख हुन्, जिम टोथ । त्यस्तै सन् २०१५ मा जोए म्याङ्गिआनेल्लोसँग विवाह गरेकी सोफिया भेर्गाराको कुल सम्पत्ति श्रीमान्को भन्दा बढी छ । सोफियाको कुल सम्पत्ति १२० मिलियन र जोएको १६ मिलियन अमेरिकी डलर रहेको छ । कोलम्बियामा जन्मेकी सोफिया हालैका वर्षहरूमा टेलिभिजनमा सबैभन्दा बढी रकम लिने नायिका हुन् । उनका श्रीमान् एचबीओको टेलिशृंखला ‘ट्रयु ब्लड’ का स्थापित हस्ती हुन् । उनका फिटनेस बुकसमेत प्रकाशित छन् ।

अर्की सेलिब्रेटी न्याटालिए पोर्टम्यान र डान्सर तथा कोरियाग्राफर बेन्जामिन मिल्लेपाइडबीच सन् २०१६ मा विवाह भएको हो । पत्नी न्याटालिएको कुल सम्पत्ति ६० मिलियन र बेन्जामिनको ९ लाख अमेरिकी डलर रहेको छ । यसैगरी जुलिया लोइस–ड्ेरफस पनि चर्चित अर्की सेलिब्रेटी हुन् । उनका श्रीमान् ब्रयाड हल एकजना लोकप्रिय चलचित्र निर्देशक हुन् । सन् १९८७ मा वैवाहिक जीवन सुरु गरेका यी दुईको कुल सम्पत्ति २ सय १० मिलियन डलर रहेको छ । यसमा जुलियाको मात्रै २ सय मिलियन र ब्रयाडको कुल सम्पत्ति १० मिलियन डलर मात्रै रहेको छ ।

पहिले नायिका र पछि व्यापारमा सक्रिय भएकी जेसिका अल्बा र टेलिभिजनका एकजना क्रयु सदस्य क्यास वारेनको स्थिति पनि उस्तै छ । यो दम्पतीको कुल सम्पत्ति ३ सय ६० मिलियन अमेरिकी डलर रहेको छ । यसमा पत्नी जेसिकाको ३ सय ५० डलर र क्यासको १० मिलियन मात्रै योगदान रहेको छ ।

गुगल कम्पनीमा कार्यरत म्यारिसा मेयर याहुकी सीईओसम्म बन्न भ्याइन् । सन् २००९ मा विवाह बन्धनमा बाँधिएका म्यारिसा र संयुक्त लगानीबाट उद्यमी बनेका ज्याकारी बोगको कुल सम्पत्ति ८ सय ५० मिलियन डलर रहेको छ । यसमा म्यारिसाको ५ सय ५० मिलियन र ज्याकारीको ३ सय मिलियन डलर योगदान रहेको छ । अर्का धनाढय सेलिब्रेटी दम्पती जेनिफर अनिस्टोन र जस्टिन थेरोक्सबीच सन् २०१५ मा विवाह भएको हो । यो दम्पतीको कुल सम्पत्ति २ सय २० मिलियनमा पत्नी जेन्निफरको २ सय मिलियन र जस्टिनको २० मिलियन डलर योगदान रहेको पत्रिकामा उल्लेख छ ।

नायिका अन्ने हाथवे र नायक तथा प्रोडयुसर एडम सुलमानले सन् २०१२ मा आफ्नो वैवाहिक जीवनको सुरुआत गरेका थिए । उनीहरूको कुल सम्पत्ति ३६ मिलियन रहेकामा अन्नेको ३५ मिलियन र एडमको १ मिलियन डलर योगदान रहेको छ । सन् २०१४ मा विवाह गरेकी गायिका जेसिका सिम्प्सन र फुटबलका पूर्वखेलाडी एरिक जोन्सनको कुल सम्पत्तिमा पत्नीकै धन बढी रहेको छ । जेसिकाको १ सय ५० मिलियन र एरिकको १ लाख डलर रहेको छ ।

सुपर मोडेल तथा नायिका लिडिया हस्र्ट–सा र हरर मुभिका नायक क्रिस हार्डविकले सन् २०१६ मा विवाह गरेका थिए । दुइटैको कुल सम्पत्ति १ सय १० मिलियनमा लिडियाको मात्रै सय मिलियन र क्रिसको १० मिलियन डलर योगदान रहेको छ । यसैगरी चर्चित गायिका पिंक र पूर्व फ्रिस्टाइल मोटरक्रस प्रतियोगी क्यारी हार्ट सन् २००६ मा जोडी बनेका थिए । यी दुईको कुल सम्पत्ति १ सय ५० मिलियन डलरमा पिंकको १ सय ३० मिलियन र क्यारीको २० मिलियन डलर योगदान रहेको छ ।

(एजेन्सीहरू)

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?