२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विवरण लुकाई राजस्व छल्नेका खाता रोक्का

तीन दर्जनभन्दा बढी फर्म र त्यसका प्रमुख तथा सञ्चालकहरू कारबाहीको दायरामा
विनोद भण्डारी

विराटनगर — विवरण नदेखाई राजस्व ठगी गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाई राजस्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरूसमेतको बैंक खाता रोक्का गरेको हो ।

विवरण लुकाई राजस्व छल्नेका खाता रोक्का

आन्तरिक राजस्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाई राजस्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ । यसमध्ये पहिलो चरणमा तीन दर्जनभन्दा बढी फर्मको बैंक खाता रोक्का गरिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलीप गौतमका अनुसार ७ हजार २ सय करदाता मूल्य अभिवृद्धि कर (भ्याट) र ४० हजारभन्दा बढी आय करमा दर्ता भएका छन् । तीमध्ये भ्याटमा दर्ता भएका २ हजार ५ सय र आयकरमा दर्ता भएका करिब ८ हजार करदाताले दर्ता भएदेखि अहिलेसम्म कारोबार विवरण नदेखाई राजस्व ठगी गर्दै आएका छन् ।

उनीहरूलाई विवरण बुझाई बक्यौता राजस्व तिर्न सुझाव दिँदा पनि अटेर गरेपछि कारबाही गरिएको गौतमले बताए । उनीहरू सबैलाई करको दायरामा ल्याउने र अटेर गर्नेको कारोबार बन्द गर्ने उनको भनाइ छ ।

कार्यालयले त्यस्ता फर्मको नाम भने सार्वजनिक गरेको छैन । कारोबार विवरण नदेखाई राजस्व ठगी गर्नेमा ठूला व्यापारिक घरानाका फर्म पनि रहेको स्रोतको दाबी छ । ‘उनीहरू सम्पर्कमा आएर बक्यौता राजस्व बुझाऊन् र उनीहरूको साख पनि नगिरोस् भनेर फर्मको नाम सार्वजनिक नगरिएको हो,’ स्रोतले भन्यो । ५० लाखभन्दा बढीको कारोबार गर्ने जुनसुकै व्यापारिक फर्म भ्याटमा दर्ता हुनुपर्ने प्रावधान छ ।

तर, अधिकांश फर्म दर्ता नै नहुने र दर्ता भए पनि कारोबार विवरण नदेखाउने प्रवृत्ति बढेको गौतमले बताए । आन्तरिक राजस्व कार्यालयले करिब ५० करोड पुरानो बक्यौता कर असुली गर्न बाँकी छ । त्यसमध्ये २० करोड भ्याट र ३० करोड आय करअन्तर्गतको राजस्व हो । उक्त कर नतिर्ने केही फर्मले अदालतमा मुद्दा दर्ता गरेको र अहिलेसम्म मुद्दा किनारा नलागेकाले पुरानो राजस्व असुली रोकिएको कार्यालय स्रोतको भनाइ छ ।

विराटनगरका ३ सय ५९ उद्योग तथा फर्मले २०२५ देखि २०५० सम्ममा कर नबुझाएको कार्यालयको अभिलेख छ । कार्यालयका अनुसार २०२६ सालदेखि शाहा उद्योग, शिव बिँडी उद्योग, अरुणोदय उद्योगले कर तिरेका छैनन् । त्यसैगरी एभरेस्ट इन्डस्ट्रिज, धरान उड वक्र्सले २०३६ सालदेखि र गुहयेश्वरी राइस मिलले २०३३ सालदेखि राजस्व बुझाएका छैनन् ।

आन्तरिक राजस्व कार्यालयले हरेक पाँच वर्षमा कर नबुझाउने उद्योग तथा फर्मको लगत तयार पार्ने गरेको छ । उक्त लगतअनुसार २०५० देखि २०५५ सम्ममा कर नबुझाउनेको संख्या १ सय ७२ छ । त्यस्तै २०५५ देखि २०६० सम्ममा १ सय ७१, २०६० देखि २०६५ सम्ममा ३ सय ४३, २०६५ देखि २०७० सम्ममा ६४ र २०७० यता हालसम्म कर नबुझाउने उद्योग र फर्मको संख्या करिब ३ सय पुगेको कार्यालयले जनाएको छ ।

लामो समयदेखि कर नतिर्नेमध्येका केही उद्योग अस्तित्वमा नरहेका र केहीका सञ्चालकको मृत्युसमेत भएकाले राजस्व असुली हुन नसकेको कार्यालयको भनाइ छ । अस्तित्वमा रहेका र कर चुक्ता नगरी अटेर गर्ने करदाताहरूको बैंक खाता रोक्का गर्ने र कालोसूचीमा राख्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?