कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतेधानको खेती बर्सेनि घट्दै

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका १६ वसन्तपुरका पदम थापाले चैतेधान खेती लगाउन थालेको एक दशक पुग्यो । पहिलो वर्ष ५ कठ्ठामा चैतेधान लगाउन सुरु गरेका उनले दुई बिघासम्म पुर्‍याए ।

चैतेधानको खेती बर्सेनि घट्दै

तर केही वर्षयता महाकाली सिंचाइ आयोजनाको नहरमा नियमित पानी नआउने, बीउ र मलको समस्याका कारण उनले चैतेधान खेती घटाउँदै आएका छन् । फेरी पहिलो पटक चैतेधान रोपाइँ गर्दाकै अवस्थामा पुगेका छन् । ‘यस वर्ष त २ कठ्ठामा मात्रै रोपाइँ गरेको छु,’ थापाले भने, ‘नहरमा पानी नआएर बेर्ना ब्याडमै सुक्यो, धेरै रोपाइँ गर्नै सकिएन ।’ उनका अनुसार फागुन अन्तिम साता राखिएको बीउ चैत तेस्रो सातासम्म रोपिसक्नुपर्छ । २२ देखि २५ दिनभित्र रोप्न नसके बीउ खराब हुँदै जाने र उत्पादन पनि कम हुने गर्छ ।

विगतका वर्षमा नहरमा नियमित पानी सञ्चालन हुँदा कृषकहरू निकै उत्साहित देखिन्थे । बर्सेनि खेती बढाउँदै लगेका थिए । तर, सरसफाइका नाममा हरेक वर्ष फागुनदेखि वैशाख मध्यसम्मै नहर बन्द हुन थालेपछि खेती हुने क्षेत्रफल घटाउन थालेका हुन् । ‘कहिले बीउ सुक्ने त कहिले रोपेको धान नै सुक्न थाल्याmे’ भीमदत्त नगरपालिका १३ का खेमबहादुर बस्नेतले भने, ‘त्यही भएर चैतेधानमा कृषकको ध्यान कम हुन थालेको छ ।’ बर्सेनि १ बिघामा चैतेधान लगाउने खेमबहादुरले यस वर्ष पानीको अभावमा रोपाइँ गर्न नसकेपछि बीउमा भैंसी चराए ।

सरकारले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू ल्याएको छ । कञ्चनपुरमा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोनको कार्यक्रम चलिरहेको छ । भीमदत्त नगरपालिका २ र १९ तथा कृष्णपुर नगरपालिका ५ मा करिब साढे ७ सय बिघामा आधुनिक प्रविधि र उन्नत जातका बीउबीजनको प्रयोग गरी धान खेती भइरहेको छ । तर, उक्त क्षेत्रमा पनि चैतेधान लगाउने कृषकको संख्या निकै कम छ ।

‘धान जोन क्षेत्रमा पनि चैतेधान लगाउने कृषकको संख्या घट्दै गएको छ,’ कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत गोकुल बोहराले भने, ‘बीउको अभाव, सिंचाइ र बजारको समस्याका कारण पनि घट्दै गएको हो ।’ उनका अनुसार अहिले यहाँं उपलब्ध धानको बीउ १ सय २० दिनभन्दा बढी समयमा पाक्ने खालको छ । चैतेधानका लागि १ सय दिनभित्र पाक्ने धान जरुरी छ ।

चैतेधान असार मध्यतिर पाक्छ । त्यतिबेला वर्षातका कारण भित्र्याउन समस्या हुन्छ । ठूलो मात्रामा हुने भएकाले कृषकले सुकाउन पनि सक्दैनन् । नसुकाएर भित्र राख्दा खराब हुन्छ । यस क्षेत्रमा ठूला खालका चिउरा मिल भएमा काँचो धानका लागि विशेषगरी चैतेधानको बजारका लागि खासै समस्या नहुने कृषि प्राविधिकहरू बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा करिब अढाई सय हेक्टरमा चैतेधान खेती गरिंदै आएको थियो । सिंचाइ सुविधा भएको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्रसँगै बेदकोट, कृष्णपुर, बेल्डाडी, बेलौरी र पुनर्वास क्षेत्रका कृषकहरू बर्सेनि यसतर्फ आकर्षित हुने क्रम पनि बढ्दै गएको थियो । बेल्डाँडीमा मात्रै ४० हेक्टरमा चैतेधानको रोपाइँ हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । तर दुई–तीन वर्षदेखि कृषकहरूको आकर्षण घट्दै गएका कारण यस वर्ष चैतेधान खेती गरिएको क्षेत्रफल निकै घटेको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताए । सबैभन्दा बढी भीमदत्त नगरपालिकामा घटेको प्राविधिकहरू बताउँछन् । बर्खेभन्दा चैतमा रोपिएको धानको उत्पादकत्व बढी हुन्छ । बर्खे धानको उत्पादकत्व ३ र चैतेको साढे ३ मेट्रिक टन प्रतिहेक्टर हुने गरेको पाइन्छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?