कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीको बीउबाट आत्मनिर्भर गाउँ

पाङराङ (पर्वत) — यहाँका किसान तरकारीको बीउबाट मनग्य आम्दानी गर्दै आएका छन् । किसानहरूद्वारा उत्पादित बीउका कारण गाउँ बीउमा आत्मनिर्भर बनेको छ ।

तरकारीको बीउबाट आत्मनिर्भर गाउँ

कृषकले एकै वर्षमा करिब चार करोडको बीउ बिक्रीका लागि जिल्लाबाहिर पठाउन सफल भएका छन् ।

अगुवा किसानले खोलेको नारायणस्थान बीउ उत्पादक सहकारी मार्फत सामूहिक र एकल गरी विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका पाङराङ–कर्नासवासीले यो वर्ष काँक्रो, मुला, रायो र गोलभेंडालगायतका बीउ उत्पादन गरेका छन् ।

कर्नासका करिब सय घरधुरी किसान परिवार केही वर्षयता हिउँदेबाली छाडेर तरकारीका बीउ उत्पादनमा लागेका छन् । अहिले यहाँको फाँटभरि भक्तपुरे लोकल काँक्राको बीउ निकाल्ने समय सुरु भएको छ । यो सिजनमा मात्रै करिब ६० क्विन्टल काँक्राको बीउ उत्पादन गर्ने लक्ष्य रहेको अगुवा किसान माया पाठकले बताइन् । ‘अहिले सहकारीमा आबद्ध नहुनेहरू धेरैले काँक्रो लगाएका छन्,’ उनले भनिन्, ‘काँक्राको बीउको माग बढेपछि सबै त्यसैमा लागेका छन् ।’

यो वर्ष काँक्राको बीउ प्रतिकिलो ४ हजारदेखि ४५ सयमा बिक्री गर्ने लक्ष्य किसानहरूको छ । ‘अहिले अरू जिल्लामा बीउ पाइएको छैन,’ पाठकले भनिन्, ‘कम्तीमा किलोको चार हजार घटीमा बेच्दैनौं ।’ चार हजारमा बिक्री गर्दा काँक्राको बीउबाट मात्रै साढे दुई करोड आम्दानी हुने किसानहरू बताउँछन् ।

काँक्रोबाहेक गोलभेंडा, रायो र मुलालगायतको बीउ बिक्री गरेर डेढ करोड हाराहारीमा आम्दानी भइसकेको छ । यहाँका किसानले आगामी वर्ष उत्पादन गर्ने बीउको अर्डर यही वर्ष लिन्छन् । बीउ तयार भएपछि कम्पनीका सञ्चालकहरू ढुवानीका साधन लिएर गाउँमै आउँछन् । अर्की महिला कृषक जमुना कुँवरले भनिन्, ‘खाँचो पर्दा बाहिर महँगो ब्याजमा खोज्नु पर्दैन । साहै्र सजिलो भएको छ ।’ चालु वर्ष फलेबास नगरपालिकाले बीउ, मल, विषादी, तरकारीलाई भिटामिन खरिद र अन्य उपकरणका लागि चार लाख सहयोग गरेको कृषि अधिकृत नारायणप्रसाद पौडेलले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?