२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बुद्ध नेपालगन्जबाट दिल्ली उड्ने

सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यसबारे खुलासा गरेका हुन् ।

बुद्ध नेपालगन्जबाट दिल्ली उड्ने

‘सोमबार हामी नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिँदैछौं,’ बुद्धका बजार तथा बिक्री विभागका निर्देशक रुपेश जोशीले कान्तिपुरसँग भने ।


उनले कम्तीमा अबको ६ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्ली सीधा उडान भर्ने दाबी गरे । ‘भारतीय पक्षबाट गत बिहीबार कन्फर्म भएको हो,’ प्रवन्ध निर्देशक बस्नेतले भने, ‘अबको बाँकी हवाई रुटको काम सरकारको हो ।’ निजी क्षेत्रमा सर्वाधिक कारोबार गर्ने बुद्धको यो निर्णयले नेपालगन्जको अर्थतन्त्र कायापलट हुने भनिएको छ ।


सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पपछि अवरुद्ध भएपछि तिब्बतको मानसरोबार जाने भारतीय तीर्थयात्रीको रुट काठमाडौंबाट नेपालगन्जतर्फ सरेको थियो । अहिले नेपालगन्जपारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मनसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ । जेठदेखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन् । यस्मा अधिकांश भारतीय नागरिक छन् ।


बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने र त्यहाँको अर्थतन्त्र कायापलट हुने प्रबन्ध निर्देशक बस्नेतले बताए । बुद्धले दिल्ली उडान थालेपछि अहिले उडानमा रहेका एटीआर–५००–७२ विमान उडाउने भनेको छ । २२ हजार ५ सय सम्म अधिकतम उडान तौल (एमटीओडब्लु) भएका यस्ता ५ वटा विमान यस कम्पनीसँग छन् । बुद्धका प्राविधिकहरुले यो विमानबाट नेपालगन्जदेखि दिल्ली १ घन्टा हाराहारी उडान समय हुने भनेका छन् ।


अहिले नेपालगन्ज अन्तर्राष्ट्रय हवाई रुटसँग जोडिएको छैन । बुद्धले प्राधिकरणमा आवेदन दिएपछि पर्यटन मन्त्रालयले हवाई रुट खोल्न पहल गर्नुपर्ने हुन्छ । भारतसँग जोडिएका केही रुट चाँडै सञ्चालनमा ल्याइनेबारे प्रधानमन्त्री केपी ओलीले पनि आइतबार संसद्‍मा बोलेका छन् । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरणले यसै महिनाको अन्तिममा भारतको नागरिक उड्डयन महानिर्देशनालयका प्राविधिकहरुसँग हवाई रुटबारे वार्ता गर्ने तयारी गरिरहेको छ । यस्मा प्राधिकरणको हवाई ट्राफिक व्यवस्थापन विभागकाका प्राविधिकहरु रहनेछन् ।


अहिले नेपालबाट दिल्ली जानुपरे विमानहरु महेन्द्रनगरबाट निस्किने लिमा६२६ रुट हुँदै दिल्लीतर्फ लाग्छन् । अहिले नेपालगन्जबाट बाहिर निस्किने र भित्र पस्ने हवाई रुट छैन । यदि बुद्धले दिल्ली उडान थाले महेन्द्रनगरमाथिको आकाशबाट बनाइएको लिमा ६२६ रुट नै भित्र प्रवेश गर्न प्रयोग गर्नुपर्ने हुन्छ । अहिले यो बाटो एकतर्फी छ । यो रुटजस्तै भैहरवाको आकाशबाट हुँदै लखनउका लागि निस्कीने ब्राभो ३४५, जनकपुरबाट कलकत्ता निस्किने रोमियो ३२५ र विराटनगरबाट ढाकातर्फ जाने रोमियो३४४ रुट छन् । यी रुट एकतर्फी मात्रै हुन् । यी रुटबाट नेपालभित्र पस्न पाइँदैन । अहिले नेपालभित्र विमान प्रवेश गर्ने मुख्य रुटमा दिल्ली र दिल्ली पश्चिमका मुलुकबाट नेपाल आउने हवाई रुट गल्फ ५९८ हो भने ढाकालगायत पूर्वी मुलुकहरुबाट गल्फ ४५३ रुट हो ।


नेपालले भारततर्फका एकतर्फी रुटलाई दुईतर्फी बनाउन पहल गर्दै आएको छ । गत वर्ष पुस ५ गते पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा ८ सदस्यीय नेपाली टोली रुटका लागि वार्ता गर्न दिल्ली गएको थियो । तर, उक्त छलफलमा भारतीय अधिकारीहरुले जेट एयरको विमानमा आउने हवाई मार्शललाई राति बास बस्नु परे काठमाडौंमा बास दिनुपर्ने शर्त राखेपछि वार्ता निष्कर्षमा पुगेको थिएन । यसपटक नेपाल भम्रणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई रुटबारे पनि बोलेपछी बुद्धलगायत एयरलाइन्सलाई नेपालबाट क्षेत्रीय उडान भर्न सजिलो हुने छ । तर, चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलाइन्सलाई भने भारतले तीन वर्ष बित्न लाग्दा पनि उड्ने अनुमति दिएको छैन । सरकारी स्रोतका अनुसार, हिमालय एयरलाइन्सले लगानीको स्रोत प्रस्ट्याउन नसकेपछि भारतले यो एयरलाइन्सलाई दिल्ली उड्ने अनुमति अहिलेसम्म नदिएको हो ।


नेपाल सरकारले सन् २००९ मा भारतसँग गरेको दुईपक्षीय हवाई सम्झौताअनुसार, वार्षिक १५ लाख ६० हजार सिटको सम्झौता छ । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, हैदरवाद र कलकत्तामा सातामा ३० हजार सिट यात्रु उडान पाउँछन् । यी मुख्य सहरबाहेक भारतले देहेरादुन, बागडौरा, गोरखपुरलगायत २१ वटा पर्यटकीय सहरका लागि भने सिट संख्या असीमित गरेको छ । नेपालले भारतसहित ३८ मुलुकसँग सीधा हवाई सम्पर्कका लागि सम्झौता गरेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?