कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दूधकोसी जलविद्युत्को डीपीआर तयार गरिने

डम्बरसिं राई

खोटाङ — दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआर तयार गरिने भएको छ । खोटाङको रावाबेंसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने दूधकोसी नदीमा उत्पादन हुन लागेको तीन सय मेगावाट क्षमताको जलविद्युत् आयोजनाको डीपीआर निर्माणको काम हुने भएको हो ।

दूधकोसी जलविद्युत्को डीपीआर तयार गरिने

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईका अुनसार गत जेठ १६ गते ऊर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुङ्गा र सोलुबाट विजयी प्रतिनिधिसभा सदस्यहरू, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक, विद्युत् विभागका महानिर्देशक सम्मिलित बैठकले उक्त आयोजनाको डीपीआर गर्ने टुङ्गो लागेको हो ।

दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको रावाबेसी गाउँपालिका–३ लामीडाँडाको रभुवास्थित नकटीडाँडा र चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित दोभानडाँडामा परीक्षण सुरुङ निर्माणका लागि गत जेठ १० गते हिमाल कन्स्ट्रक्सन–वाइबा इन्फ्राटेक जेभीले विस्फोटकको काम गरेको छ ।

आयोजनास्थलको प्रगतिबारे बुझ्न प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ जेठ ५ गते रभुवा आएका थिए । ३० महिनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएकलसी इलेक्ट्रोकन्सल्ट एसपीए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययन गरिरहेको छ । रभुवामा एक सय ६० मिटर अग्लो बाँध हालेर उक्त जलाशयबाट १३ दशमलव ५ किलोमिटर हेडरेस सुरुङ मार्फत पानी खसाएर विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । पौने एक खर्बको लागतमा उक्त आयोजना सम्पन्न हुने भएको हो । यसबाट वार्षिक एक अर्ब ८० करोड युनिट विद्युत् उत्तपादन हुने प्राधिकरणले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा सन २०२४ सम्म काम सक्ने गरी आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।

जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा यो आयोजना सञ्चालन गर्न सकिने पहिचान भएको थियो । त्यसै आधारमा यो आयोजना सम्पन्न गर्न सिफारिस गरिएको थियो । आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा आयोजना निर्माणको टेन्डर आह्वान र सम्झौता गरी आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ । दूधकोसीमा सुरुङ बनाएर ६ सय मेगावाट र थप प्रविधि प्रयोग गरेर दुई सय मेगावाट गरी आठ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?