हवाई भाडा २२० सम्म बढ्यो

सुरज कुँवर

काठमाडौँ — इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन (आयोन) ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ ।

हवाई भाडा २२० सम्म बढ्यो

यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन् । यती एयरलाइन्सका प्रबन्धक भीमराज राईका अनुसार यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्कमा वृद्धि गरेका छन् । अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो । निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन् । उनीहरूले पुनरावलोकन गरेको दरलाई नागरिक उड्डयन प्राधिकरणले सदर गर्नुपर्छ । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायुसेवा सञ्चालकले पठाएको प्रस्ताव प्राधिकरणमा आइपुगेको तर सदर भइनसकेको बताए । उनका अनुसार, प्राधिकरणका महानिर्देशकले यसलाई सदर गर्नुपर्छ ।


आयोनको सदस्य एयरलाइन्स सिम्रिकका मार्केटिङ तथा सेल्स प्रमुख प्रजोल थापाका अनुसार, वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले ट्रंक (सुगम) रुट र स्टल (पहाडी) रुट दुवैको हवाई टिकटमा फयुल सर चार्ज वृद्धि गरी प्राधिकरणमा सिफारिश गरेको हो । संघले यसअघि पुसमा पनि हवाई इन्धनको मूल्य वृद्धि हुँदा फयुल सर चार्ज बढाएको थियो । हवाई इन्धनको कम्तीमा ४ रुपैयाँ प्रतिलिटर घटबढ हुँदा इन्धन शुल्क पनि घटाउने वा बढाउनका लागि फ्युल सरचार्ज समायोजन समिति छ । यसमा आयोनसँगै नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण पनि रहेको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको हो ।


मुलुक भर काठमाडौंसहित ३० वटा विमानस्थलमा हवाई सेवा छ । यिनमा नेपाल वायुसेवासहित नौवटा एयरलाइन्सले उडान सञ्चालन गर्छन् । दैनिक सबैभन्दा धेरै उडान हुनेमा काठमाडौं, पोखरा, लुक्ला, सिमरा र विराटनगर पर्छन् ।

प्रकाशित : जेष्ठ २०, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?