करको त्रासले नेप्से घट्यो

बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यकै आधारमा कर तिर्न विभागको निर्देशन
‘हकप्रद वा बोनस पाउनका लागि लगानीकर्ताले बजारमा ठूलो मूल्य चुकाएका हुन्छन् भन्ने तथ्य विभागले बिर्सिएको छ’

काठमाडौँ — आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत मानेर कर असुली गर्न निर्देशन दिएपछि बजार ओरालो लागेको छ ।

करको त्रासले नेप्से घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ३४ अंकले घट्यो । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ३३.७१ अंकले घटेको हो ।


‘विभागको निर्देशनले लगानीकर्तालाई त्रसित बनाएको छ,’ एक सेयर दलालले भने, ‘अब पहिलेको तुलनामा धेरै कर तिर्नुपर्ने उनीहरूको बुझाइ छ ।’ विभागले शुक्रबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।


आय कर ऐन ०५८ को व्यवस्थालाई उद्धृत गर्दै विभागले सोही विधिअनुसार अग्रिम कर असुली गर्न/गराउन पत्र पठाएको छ । यो निर्देशनपछि अब लगानीकर्ताले बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा अग्रिम कर बुझाउनुपर्ने भएको छ । यसअघि अर्थ मन्त्रालयको निर्देशनमा बोनस र हकप्रदको समायोजित मूल्यका आधारमा पुँजीगत लाभ कर काटिँदै आएको थियो ।


विभागको निर्देशनले बजार धेरै प्रभावित हुने भएकाले आउँदा दिनहरूमा पनि नेप्से परिसूचक बढ्ने सम्भावना न्यून बन्दै गएको अर्का ब्रोकरले बताए । ‘यो व्यवस्थाले लगानीकर्तालाई ठूलो मर्का पर्छ,’ ती ब्रोकरले भने, ‘पुराना लगानीकर्ताको आत्मबल घट्छ भने नयाँ लगानीकर्ता उत्साहित हुँदैनन् ।’


उनका अनुसार लगानीकर्ताले बोनस तथा हकप्रद सेयरमा लगानीकर्ताको लागत सय रुपैयाँ मात्र हुन्छ भन्ने बुझाइका कारण विभागबाट यस्तो निर्देशन आएको हो । ‘हकप्रद वा बोनस पाउनका लागि लगानीकर्ताले बजारमा ठूलो मूल्य चुकाएका हुन्छन् भन्ने तथ्य विभागले बिर्सिएको छ,’ उनले भने ।

सरकारले बजेटमार्फत व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको सीमा साढे २ प्रतिशत विन्दुले बढाएको छ । तर, संस्थागत लगानीकर्ताले तिर्ने लाभरको सीमा दस प्रतिशत नै कायम राखेको छ भने ‘अन्य लगानीकर्ता’ नामक नयाँ शीर्षक खडा गरेको त्यो समूहमा पर्ने लगानीकर्तालाई २५ प्रतिशतका दरले पुँजीगत लाभकर तोकेको छ ।


आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले पुँजीगत लाभकर घटाएकाले आइतबार सेयर बजार घटेको ब्रोकरहरूले बताएका छन् । अघिल्ला दिनहरूमा सामान्य अंकले घटबढ भइरहेको सेयर बजार आइतबार करिब ३४ अंकले घट्नुको प्रमुख कारण सरकारको कर नीति रहेको उनीहरूको दाबी छ ।

सरकारले बजेटमार्फत व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको सीमा बढाएर साढे ७ प्रतिशत पुर्‍याएको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले यस्तो कर तिर्दै आएका थिए ।


अघिल्लो दिनको तुलनामा आइतबार साढे २ प्रतिशतले घट्यो । कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा ५४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब साढे ६ हजार कारोबारबाट १ सय ६५ कम्पनीका ९ लाख ५७ हजार ३ सय ३८ कित्ता सेयर किनबेच हुँदा करिब साढे ५४ करोड रुपैयाँ परिचालन भएको हो ।

उक्त दिन बिमा समूहको परिसूचक सबैभन्दा बढी ४.२५ प्रतिशतले घट्यो । यसैगरी, होटल, लघुवित्त, बैकिङ, विकास बैंक, जलविद्युत् र ‘अन्य’ समूहले पनि बिमा समूहलाई नै पछ्याएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । आइतबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने १.५५ प्रतिशतले बढेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?