पतंजलीको म्यासेजिङ एप

एजेन्सीहरू

काठमाडौँ — भारतीय योगगुरुद्वारा प्रवद्र्धित कम्पनी पतंजलीले पछिल्लोपटक आफूलाई बहुउद्देश्यीय कम्पनीका स्वरूपमा ढालिरहेको छ । उसले खाद्य वस्तुदेखि औषधि र अन्य उत्पादनहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेको छ ।

पतंजलीको म्यासेजिङ एप

केही दिनअघि कम्पनीले आफूलाई टेलिकम व्यवसायमा पनि संलग्न गराएको थियो । उसले भारतीय सरकारी स्वामित्वमा रहेको टेलिकम कम्पनी बीएसएनलसँग मिलेर सिम बेच्ने नयाँ योजना सार्वजनिक गरेको थियो । यो ‘स्वदेशी समृद्धि नारा’ दिइएको पतंजली सिम प्रयोगकर्ताको बिमा गर्ने घोषणा गरिएको छ । खाद्य र औषधि उत्पादनहरू बजारमा बिक्री गरिरहेको पतंजलीको टेलिकम बजार प्रवेशलाई धेरैलाई आश्चर्य पारेको थियो ।

यही आश्चर्यका बीच अर्को पनि थपिएको छ । पतंजलीले आफ्नै म्यासेजिङ एप पनि सार्वजनिक गरेको छ । ‘किम्भो’ नाम दिइएको एपलाई भारतमा लोकप्रिय रहेको हवाटसएपको प्रतिस्पर्धी
मानिएको छ ।

विश्वभर २ अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपको भारतमा मात्रै २० करोड प्रयोगकर्ता छन् । फेसबुक स्वामित्वको ह्वाट्सएप भारतमा लोकप्रिय म्यासेजिङ एपको पहिलो नम्बरमा आउँछ । रामदेवको कम्पनी पतंजली आयुर्वेदले आफ्नो म्यासेजिङ एपलाई ‘स्वदेशी’ विशेषण दिएर प्रचार गरेको छ ।

पतंजलीले सार्वजनिक गरेको किम्भो एप गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा पनि उपलब्ध छ । यसमा रहेका अधिकांश फिचरहरू ह्वाट्सएपसँग मिल्दाजुल्दा छन् ।

किम्भोमा व्यक्तिगत रूपमा म्यासेज गर्ने, ग्रुप बनाउने, भिडियो कल र कल गर्ने, स्टिकर पठाउनेजस्ता फिचरहरू छन् । यसमा इन्टाग्राम र स्न्यापच्याटका जस्ता फिचरहरू पनि समावेश छन् । यसमा प्रयोगकर्ताले आफ्ना मनपर्ने सेलिब्रेटीलाई फलो गर्न पनि सक्छन् ।

तर, केही साइबर सुरक्षा जानकारहरूले एपको सुरक्षाबारे प्रश्न पनि उठाएका छन् । एपमा प्रयोगकर्ताले गरेको कुराकानी सजिलै तेस्रो पक्षले थाहा पाउन सक्ने भन्दै सामाजिक सञ्जालमा उनीहरूले एपको आलोचना गरेका छन् । आलोचनाकै बीच गुगल प्ले स्टोरबाट म्यासेजिङ एप हटाइएको छ ।

तर, पतंजलीले भने आफैंले उक्त एप प्ले स्टोरबाट हटाएको प्रतिक्रिया दिएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बीबीसीले भने गुगल स्रोतलाई उद्धृत गर्दै एपमा केही समस्या भएको उल्लेख गरेको छ । यसमा भाषा पहिचान गर्दा समस्या आउने गरेको उसले जनाएको छ ।

पतंजली प्रोडक्सका प्रवक्ता एकसे टिजरावालाले प्रविधिमा भारतले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित गर्ने बताएका छन् । ‘सर्वसाधारणले एपलाई कसरी लिन्छन् भन्ने जान्नका लागि अहिले एक दिनका लागि मात्रै सार्वजनिक गरिएको हो,’ उनले भनेका छन्, ‘जनताबाट उत्साहित प्रतिक्रिया पाएका छौं । अब चाँडै सधैंका लागि यसलाई सार्वजनिक गर्छौं । त्यसपछि मात्र सुरक्षाको विषयमा उत्तर दिउँला ।’

प्रविधिका जानकारहरूले पतंजलीले सार्वजनिक गरेको किम्भो एपलाई यसअघि नै सार्वजनिक भएको बोलो एपको कपी भएको आरोप लगाएका छन् । यसका अधिकांश फिचर र डिजाइन बोलोबाट चोरिएको उनीहरूले बताएका छन् ।

साइबर सुरक्षा विशेषज्ञहरूले अर्को पनि टिप्पणी गरेका छन् कि किम्भो एपले प्रयोगकर्ताको तथ्यांक सजिलै पढ्न सकिने गरी संकलन गरेको छ ।

किम्भो एपले आफूलाई स्वदेशी उत्पादनको नारा दिएकाले यो ह्वाट्सएपका लागि पनि चुनौती हुन सक्छ । भारतीय प्रयोगकर्तामाझ लोकप्रिय बनेको हवाटसएपले अर्को सातादेखि भारतमा आफ्नो पेमेन्ट फिचर पनि सुरु गर्दै छ । ह्वाट्सएपले सार्वजनिक गर्ने पेमेन्ट फिचरका कारण भारतीय बजारमा चर्चामा रहेका अन्य मोबाइल वालेट र पेमेन्ट गेटवेको लागि यो अर्को चुनौती हुन सक्छ ।

तर, जेहोस् पतंजलीको प्रविधि व्यवसायमा प्रवेशले भारतीय बजारलाई चाखलाग्दो र ध्यानाकर्षक बनाएको छ । अहिलेका लागि अन्य कम्पनीलाई पतंजली प्राविधिक रूपमा बलियो प्रतिस्पर्धी नभए पनि उसले दिने ‘स्वदेशी’ उत्पादनको नारा अरूका लागि चुनौती बन्न सक्छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?