‘एयरलाइन्सको नाफा घट्ने’

एजेन्सी

काठमाडौँ — अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएसनले सन् २०१८ मा आफ्नो नाफा १२ प्रतिशतले कम भई करिब ३४ अर्ब डलर मात्रै हुने प्रक्षेपण गरेको छ । इन्धनको मूल्य वृद्धि र श्रमिकको मूल्य बढेको भन्दै एसोसिएसनले यस्तो आकलन गरेको हो ।

‘एयरलाइन्सको नाफा घट्ने’

बैंकहरूको बढदो व्याजदर र ठूला देशबीच भएको व्यापार विवादले पनि एयरलाइन्सको नाफामा असर गर्ने एसोसिएसनको अनुमान छ ।

सन् २०१७ मा संसारभरका ठूला एयरलाइन्सहरूले अहिलेसम्मकै धेरै ३८ अर्ब डलर कमाइ गरेका थिए । इन्धनमा भएको मूल्य वृद्धिका कारण एयरलाइन्सहरूको खर्च ३० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०१८ मा इन्धनको मूल्य ७० डलर प्रतिब्यारेल रहने प्रक्षेपण छ, जबकि सन् २०१७ मा यो करिब ५५ डलर प्रतिब्यारेल मात्रै थियो । एसोसिएसनले यसअघि इन्धन मूल्य यो वर्ष प्रतिब्यारेल ६० डलरमा रहने अनुमान गरेको थियो ।

एसोसिएसनमा संसारभरका २ सय ८० वटा एयरलाइन्स आबद्ध छन् । एसोसिएसनमा आवद्ध एयरलाइन्सले संसारभरका एयरलाइन्स व्यवसायको ८३ प्रतिशत हिस्सा ओगटेको छ ।

एसोसिएसनका महासचिव डे जुनियाकले राजनीतिक एजेन्डाका रूपमा बढेको संरक्षणवादका कारण पनि एयरलाइन्सहरूको व्यापारमा असर गर्ने चेतावनी दिएका छन् । तर, उनले कुनै देशको नाम भने लिएका छैनन् ।

उनले चीन र अमेरिकाबीचको सम्भावित व्यापार युद्धतर्फ संकेत गर्दै यस्तो चेतावनी दिएका हुन् । अमेरिकाले चीनसँग बढदो व्यापार घाटाका कारण आफ्नो देशमा उत्पादन हुने वस्तु आयात गर्दा भन्सार शुल्क महँगाउने निर्णय गरेको छ । अमेरिकी निर्णयको प्रत्युत्तरमा चीनले पनि अमेरिकी वस्तुमा भन्सार शुल्क लगाउने सूची सार्वजनिक गरिसकेको छ ।

‘एयरलाइन्सले अहिलेसम्म यात्रु वा कार्गोको कमीको महसुस गरेका छैनन् तर व्यापार युद्ध र संरक्षणवाद लागू भइरहने हो भने समस्या हुन सक्छ,’ जुनियाकलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘हामीलाई लाग्छ यस्तो खालको अवरोध हाम्रो लागि राम्रो होइन ।’

एसोसिएसनको प्रक्षेपणअनुसार उत्तर अमेरिकी एयरलाइन्सहरूले सबैभन्दा धेरै १५ अर्ब डलर कमाउने छन् । यस्तै युरोपियन र एसिया प्रशान्तका एयरलाइन्सहरूले क्रमश: साढे अर्ब डलर र १० अर्ब डलर नाफा कमाउने अनुमान छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?