२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रारा वरपर जग्गा किन्ने बढे

राजबहादुर शाही

मुगु — रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँमा स्याउबारीसहितका जग्गा किन्नेहरू बढेका छन् । जग्गा किन्नेमा व्यापारीहरू बढी छन् । उनीहरू स्याउबारी किन्नका लागि तँछाडमछाड गरिहेका छन् ।

रारा वरपर जग्गा किन्ने बढे

व्यवसायीको प्रतिस्पर्धाले रारा मुर्मा, माझघट्ट, मुर्माटप, झयारी, रैसेडी, माथितुम, लामाचौर, ताल्चा मैतुलगायतका गाउँका बासिन्दाको स्याउबारीले राम्रै मूल्य पाएका छन् ।

भक्तपुरका ओम तिमिल्सेनाले मुर्मा माझघट्टको ४८ रोपनी स्याउबारी किनेका छन् । पाल्पाका शंकर खनालले तीन रोपनी र पाल्पाकै पदम न्यौपानेले चार रोपनी स्याउबारी किनेका छन् । काठमाडौंका ओमप्रकाश पौडेलले एक रोपनी स्याउबारी किनेको बताए । त्यस्तै खत्याड गाउँपालिकाका राजु कार्कीेले १५ रोपनी, छायानाथ रारा नगरपालिकाका परेक चौलागाई, तीर्थराज चौलागाई र केशव चौलागाईले तीन/तीन रोपनी स्याउबारी किनेका छन् ।

दैनिकजसो स्याउबारी किन्ने व्यवसायीको संख्या बढदै गएको मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए । प्रतिमिटर ३ लाखदेखि ५ लाखसम्म स्याउबारी बिक्री भइरहेको उनको भनाइ छ । मुगु, जुम्ला, काठमाडांै, पाल्पा, नेपालगन्ज, सुर्खेत, बुटवल, पोखरालगायतका व्यवसायीले स्याउबारी किन्न थालेका हुन् । स्याउबारीका लागि आकर्षक रकम दिन व्यवसायीबीच प्रतिस्पर्धा चल्ने गरेको छ ।

तथ्यांकअनुसार १ सय ९० जना व्यवसायीले निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा स्याउबारी किनेका छन् । स्याउबारी बेच्दै स्थानीयले नेपालगन्ज, काठमाडौं, सुर्खेतलगायतका सहरमा घडेरी खरिद गर्न थालेका छन् । स्याउबारीको निहुँमा जग्गा किन्नेको लहर चलेको मुर्मा गाउँका धनसिंह रोकायाले बताए । गमगढी बजार क्षेत्रको जग्गाभन्दा रारा ताल वरपरको जग्गा बढी बेचनबिखन हुने गरेको स्थानीयको भनाइ छ । व्यापारीले किनेको जग्गा स्थानीयलाई अधियाँमा दिएर स्याउ खेती गर्ने गरिएको छ ।

राराको मोहले उक्त क्षेत्रमा जग्गा बिक्री बढदै गएको जिल्ला मालपोत अधिकृत जगतबहादुर रोकायाले बताए । रारा आउजाउ सहज भएपछि जग्गाको कारोबार हवात्तै बढेको उनको भनाइ छ । समुद्र सतहदेखि २ हजारदेखि २ हजार ६ सय मिटरको उचाइमा रहेका मध्यवर्ती क्षेत्रमा रसिलो र स्वादिलो स्याउ उत्पादन हुने स्थानीयले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?