थाहा नपामा शीत भण्डार बन्ने

२० हजार टन क्षमता
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकामा शीत भण्डार निर्माण गर्न सोमबार सम्झौता भएको छ । सम्झौतामा शीत भण्डार निर्माणका लागि १५ करोड ६६ लाख ७१ हजार १ सय १५ रुपैयाँ खर्चिने उल्लेख छ ।

थाहा नपामा शीत भण्डार बन्ने

थाहा नपा ३ घर्तीखोलस्थित काला भैरव चौरमा शीत भण्डार निर्माण गरिनेछ । १० रोपनी जग्गामा निर्माण हुने शीत भण्डारमा २० हजार टन आलुलगायत तरकारी राख्न सक्ने क्षमता हुने जनाइएको छ । शीत भण्डारको डिजाइनसमेत तयार भइसकेको छ । अब सार्वजनिक रूपमा निर्माणका लागि टेन्डर निकाल्न बाँकी छ । शीत भण्डार निर्माणका लागि नगरपालिका कार्यालय र थाहानगर शीत भण्डार विशिष्टीकृत सहकारी संघबीच सम्झौता भएको हो ।


सम्झौतापत्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र सहकारी संघका तर्फबाट संयोजक विमलकुमार ढकाल, सञ्चालक राजेश केसी र महेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् । शीत भण्डारका लागि कुल लागतको ६० प्रतिशत रकम नेपाल सरकार सहकारी मन्त्रालयबाट अनुदानका रूपमा प्राप्त हुने भएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्षमै ५० लाख रुपैयाँ प्राप्त भइसकेको मेयर लवशेर विष्टले बताए । निर्माण सम्पन्न गर्न लाग्ने कुल ४० प्रतिशत रकममध्ये ४ करोड ४० लाख रुपैयाँ विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । संघले व्यहोर्ने रकमबाट नपुग रकम नगरपालिकाले अनुदानस्वरूप प्रदान गर्ने सम्झौतामा छ ।


शीत भण्डार निर्माणका लागि विभिन्न ९ बुँदामा भएको सम्झौताअनुसार थाहा नगर व्यवस्थापन र सञ्चालन गर्न संरक्षकका रूपमा रहनेछ । निर्माण सम्पन्न भएपछि नगरपालिकाले सहकारी संघलाई प्रोजेक्ट हस्तान्तरण गर्नेछ । त्यसको स्वामित्वसमेत सहकारी संघकै हुनेछ । आलुको पकेट क्षेत्र रहेको थाहा नगरमा शीत भण्डार निर्माणपछि उक्त क्षेत्रका कृषकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।


शीत भण्डारले जिल्लाको उत्तरी क्षेत्रका कृषकलाई ठूलो राहत मिल्ने थाहा नपा कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताए । २ वर्षभित्र शीत भण्डार निर्माण गरिसक्ने स्थानीयबासी र जनप्रतिनिधिहरूको अठोट छ । थाहा नपा वरिपरि रहेका २७ वटा सहकारीले शीत भण्डार निर्माण गर्न लगानी गर्ने नपाले जनाएको छ । उक्त शीत भण्डार निर्माण गर्न थाहा नपामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड र बाँकी अन्य सहकारीबाट जुटाउने पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष विमल ढकालले बताए ।


शीत भण्डारको अभावले गर्दा थाहा नपालगायत उत्तरी क्षेत्रका बासिन्दाले सस्तोमा नै आलुलगायत तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ । आलुको बीउ सुरक्षित साथ राख्न काठमाडौं वा हेटौंडामा लगेर शीत भण्डारमा राख्ने गरिन्छ । ‘शीत भण्डार थाहा नपामा नै निर्माण हुँदा यस क्षेत्रका तरकारी उत्पादक कृषकहरूलाई ठूलो राहत मिल्नेछ,’ स्थानीय दुर्गाबहादुर केसीले भने, ‘शीत भण्डारको अभावले समस्या व्यहोर्नुपरेको छ ।’ तरकारी र आलुको बीउ भण्डारणका लागि यस क्षेत्रमा कृषकहरूले लामो समयदेखि शीत भण्डारको माग गर्दै आएका थिए ।


थाहा नगरमा विशेषगरी आलु, काउली, बन्दा, माछे खुर्सानी, पिरो खुर्सानी, भेंडे खुर्सानी, गोलभेंडालगायत तरकारी उत्पादन हुने गर्छ । शीत भण्डार अभावले गर्दा यस क्षेत्रका कृषकहरूले ढुवानीमा लाखौं रुपैयाँ तिरेर आलुको बीउ हेटौंडा र काठमाडौंका शीत भण्डारमा राख्ने गरेका छन् ।


थाहा नगरपालिका आसपासका ठाउँबाट बीउको आलु मात्र २० हजार बोरा काठमाडौंका विभिन्न शीत भण्डारमा राख्न लैजाने गरिएको थाहा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र प्रधानले बताए । ढुवानीसहित किसानहरूले आफ्नो बीउको आलु प्रतिबोरा ६ सय रुपैयाँका दरले तिर्ने गरेका छन् । आलुको बीउ मात्र हैन मूल्य कम भएको अवस्थामा शीत भण्डारमा राख्ने र मूल्य बढी भएको अवस्थामा शीत भण्डारबाट झिकेर बेच्न सकिनेछ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपालगायत क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत आलुलगायत तरकारी खेती हो । ६ वटा गाविस समेटेर बनेको थाहा नपाका कृषकहरूले बर्सेनि १ अर्बभन्दा बढीको आलु उत्पादन गर्छन् ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?