कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयर एसियाले तिरेन ३० करोड

काठमाडौँ — थुपैपटक मौका माग्दै आएको मलेसियाको एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनुपर्ने ३० करोड ९ लाख रुपैयाँ बक्यौता अझै बुझाएको छैन ।

एयर एसियाले तिरेन ३० करोड

विमानस्थलले आइतबार विज्ञप्ति जारी गर्दै कुल ४० करोड ७९ लाख ७६ हजारमध्ये धेरैपटक ताकेता गर्दा १० करोड ७० लाख मात्रै असुलउपर भएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार यस एयरलाइन्सले नेपालमा वायुयान सञ्चालन गरेबापत अवतरण (ल्यान्डिङ), पार्किङ (बिसौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडालगायत सेवा लिएबापतको बुझाउनुपर्ने बक्यौता २७ करोड १२ लाख र यो रकमको विलम्ब शुल्क १३ करोड ६७ लाख थियो । विमानस्थलले एयर एसियाबाट उठाउनुपर्ने चार वर्षयताको यो बक्यौता हो ।


तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेले विमानस्थललाई बक्यौता उठाउन निर्देशन दिएपछि विमानस्थल कार्यालयले पुसयता एयर एसियासहित सबै एयरलाइन्स र संघसंस्थालाई ताकेका थालेको थियो । त्यसताका पुस २३ सम्म बक्यौता फरफारक नगरेमा जहाज काठमाडौंमै नियन्त्रणमा लिई उडान रोक्ने भनिएको थियो । यस्तो चेतावनीपछि मलेसियामा रहेको एयर एसियाको प्रधान कार्यालयले इमलमाफर्त फेब्रुअरी २८ (फागुन १६ गते) तारिखसम्म सबै बक्यौता बुझाउने प्रतिबद्धता पनि गरेको थियो । त्यसपछि फेरि विमानस्थल व्यवस्थापनले चैत २ गतेसम्मको भाका दिएको थियो । तीन महिना बितिसक्दा पनि विमानस्थल व्यवस्थापनले सबै बक्यौता उठाउन सकेको छैन ।


एयर एसियाले पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने छ । यो उक्त एयरलाइन्सले प्रत्येक विदेशीबाट उठाउने पर्यटन सेवा शुल्कबाट बुझाउनुपर्ने रकम हो । नेपालबाट हवाईजहाजमा फर्किने हरेक विदेशीले १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क अनिवार्य तिर्नुपर्छ ।


यस एयरलाइन्सले सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?