सहकारीमा ठगी मुद्दा : आरोपीलाई अढाइ वर्ष जेल र सवा २ करोड जरिवाना

आश गुरुङ

लमजुङ — लमजुङकै एक प्रतिष्ठित सहकारीमा भएको ठगीको मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई अढाइ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ जरिवाना फैसला गरेको छ । कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर बस्नेतविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।

सहकारीमा ठगी मुद्दा : आरोपीलाई अढाइ वर्ष जेल र सवा २ करोड जरिवाना

२ वर्षदेखिको सहकारीमा ठगीको मुद्दामा जरिवानाको २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रुपैयाँ ३८ पैसा सहकारी संस्थालाई बिगो भराउन आदेश दिइएको छ । गत बैशाख ३० मा अन्तिम बहस भएपछिको लिखित बहस नोटका आधारमा न्यायाधीश आचार्यको इजलासले बिहीबार मुद्दा फैसला गरेको हो ।


अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार बस्नेतकी पत्नी सहकारीका तत्कालीन आर्थिक विभाग प्रमुख चिजालाई भने सफाई दिइएको छ । उक्त मुद्दामा तत्कालीन न्यायाधीश अर्जुन अधिकारीको इजलासले पूर्वकार्यकारी अधिकृत बस्नेतलाई १ करोड २१ लाख रुपैयाँ र उनकी पत्नी चिजालाई १० लाख रुपैयाँ धरौटी लिएर २०७३ भदौ १६ मा रिहा गरेको थियो । जिल्ला अदालतले दिएको धरौटी आदेशलाई घटाएर पूर्वकार्यकारी प्रमुख बस्नेतलाई उच्च अदालत पोखराले २०७३ माघ २७ मा ५० लाख धरौटी राख्न आदेश दिएको थियो । पत्नी चिजाको धरौटी रकम यथावत् राख्न आदेश दिएको थियो ।


कृषक जागरणको कार्यकारी प्रमुख पदमा रहँदा बस्नेत दम्पतीले ३ करोड ९५ लाख हिनामिना गरेको भन्दै बिगो असुल उपरसहित कारबाहीको माग गर्दै सहकारी संस्थाको सञ्चालक समितिले प्रहरीमा २०७३ वैशाख २४ मा निवेदन दिएको थियो । अदालतमा भने असार ५ मा मुद्दा दर्ता भएको थियो । जिल्लाकै ठूलो र चर्चित मानिएको उक्त सहकारी ठगी मुद्दामा वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल, मुद्दा जाहेरवालाका तर्फबाट अधिवक्ता लिलामणि पौड्याल, राजेश्वर अधिकारी र कृष्णप्रसाद अधिकारी साथै प्रतिवादी बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ताद्वय ज्योति बानियाँ र प्रवल शर्माले बहस गरेका थिए । सहकारीका अध्यक्ष प्रेमबहादुर घलेले सञ्चालक समिति र लेखा समितिले स्वतन्त्र अडिटर सीए अभय पौडेलबाट गराएको लेखापरीक्षण प्रतिवेदनमा करिब ४ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि उजुरी दिएको बताए । ‘यो मुद्दाको फैसलाले सहकारी क्षेत्र नियम कानुनका अधिनमा रहनुपर्छ भन्ने पाठ सिकाएको छ,’ घलेले भने ।


दोषी ठहर्‍याइएका बस्नेतले आफूमाथि अन्याय भएको भन्दै मुद्दाको पुनरावेदन गर्ने प्रतिक्रिया दिए । ‘मैले मुद्दा पुनरावेदन गर्ने ३५ दिनको म्याद पाउँछु । म अन्यायमा परेको छु । जिल्ला अदालतको निर्णय मलाई चित्त बुझेन,’ उनले भने । मुद्दाको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनको लागि माथिल्लो तहको अदालत जाने उनले बताए । कृषक जागरण बचत तथा ऋण सहकारी संस्था जिल्लाका वित्तीय संस्थामै सबैभन्दा बढी आर्थिक बारोबार गर्ने वित्तीय संस्थामा दरिन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?