२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विद्युत् उत्पादन कटौती

कुलेखानी दोस्रोको जेनेरेटर बिग्रियो
प्रताप विष्ट

हेटौंडा — विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा कुलेखानी जलविद्युत् आयोजनाको जेनेटरमा समस्या आएकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।
समस्या देखापरेको जेनेटर खोल्न आयोजनाका प्राविधिकहरूले चार दिन लगाएका छन् ।

विद्युत् उत्पादन कटौती

९ वर्षअघि यही जेनेटर खोलेर मर्मत गरिएको थियो । ‘मर्मत गर्ने समय भइसकेको थियो,’ प्राधिकरणका एक प्राविधिकले भने ।


३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा युनिट १६ मेगावाटको जेनेरेटरमा समस्या देखिएको हो । युनिट २ को रोटरमा भएका ‘स्टपर रिङ’ भाँच्चिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो । दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेपछि कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेटर सञ्चालन गर्नुपर्ने हुन्छ । कुलेखानी पहिलोका २ वटा जेनेटर सञ्चालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेटर चलाउने गरिन्छ ।


कुलेखानी दोस्रोको युनिट २ को ‘स्टेटर वाइन्डिङ’ को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको हो । ४६ मेगावाट उत्पादन गर्न सकिँदैन । कुलेखानी जलाशयको पानी खेर फाल्ने हो भने ७६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । ‘जलाशयको पानी खेर फालेर विद्युत् उत्पादन गरिहाल्नुपर्ने अवस्था अहिले छैन,’ कुलेखानी दोस्रोका प्रमुख आभाष ओझाले भने । एउटा युनिट बन्द भएको अवस्थामा पहिलो ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको उनले बताए । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी बगेको पानीबाट दोस्रो विद्युत्गृह सञ्चालन हुन्छ । दोस्रोबाट विद्युत् उत्पादनछि त्यही पानीबाट तेस्रो कुलेखानी विद्युत्गृहबाट १४ मेगावाट विद्युत् निस्कन्छ । कुलेखानी ३ निर्माणाधीन अवस्थामा छ । केही महिनाभित्र काम सकिँदै छ ।


कुलेखानी आयोजना पहिलो र दोस्रो विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन जडान गरिएका छन् । कुलेखानीको पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । अहिले दुवै विद्युत्गृहका एउटा/एउटा मात्र टर्बाइन सञ्चालनमा छन् । वर्षा सुरु भएकाले खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको छ ।


‘कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदा पनि विद्युत् प्राधिकरणलाई खासै समस्या भएको छैन,’ प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने, ‘चैत–वैशाखमा भएको भए समस्या हुन्थ्यो ।’ कुलेखानी दोस्रोको जेनेटर बिग्रेका कारणले पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न समस्या नपरेको प्राधिकरणले जनाएको छ । जेनेटर बिग्रेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठ २१ मा कुलेखानी दोस्रो विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी छिटोभन्दा छिटो मर्मत गर्न निर्देशन दिएका थिए । फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक सोमबार मर्मतका लागि आउने भएकाले यहाँका प्राविधिक उनीहरूको प्रतीक्षामा छन् । ‘जापानी प्राविधिकको अवलोकनपश्चात् मर्मत कार्य सुरु गर्नेछौं,’ केन्द्रका प्रमुख ओझाले भने ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?