ट्यांकरलाई अलग्गै लाइन

शकर आचार्य

पर्सा — वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई ‘डेडिकेटेड लाइन’ (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ ।

ट्यांकरलाई अलग्गै लाइन

सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेका समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरूको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो ।

भारतीय राजमार्ग हुँदै बरौनीबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका ट्यांकर चालकहरूलाई रक्सौल आईसीपीतर्फ प्रवेश गर्ने क्रममा लक्ष्मीपुरमा भारतीय प्रहरीले कुट्ने, कागजात र पैसा खोस्नेजस्ता घटना नियमित हुन थालेपछि त्यसको दीर्घकालीन समाधान गर्न उक्त बैठक गरिएको थियो । नेपाली ट्यांकरचालक कुटिने घटना बढेको र त्यसको विरोधमा चालकहरूले इन्धन ढुवानी ठप्पलगायतका विरोध कार्यक्रम गर्दा राजधानीमा समेत इन्धनको आपूर्ति सेवा प्रभावित भएपछि सरोकारवालाहरू यस विषयमा गम्भीर भएका हुन् ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत बीसी प्रधान, वाणिज्य मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात विकास समितिका सीईओ लक्ष्मणबहादुर बस्नेत, नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील
भट्टराई, वीरगन्ज/आईसीपी भन्सारका प्रमुख सेवन्तक पोखरेल, रक्सौल/आईसीपी भन्सार प्रमुख सन्तोष कुमारलगायतका सहभागी थिए ।

बैठकले नेपाली ट्यांकरलाई छुट्टै लाइन दिने निर्णयका साथै रक्सौल आईसीपीमा प्रवेश गर्नुअघि ती ट्यांकरले भन्सार प्रक्रिया गर्नुपर्नेमा अब ट्यांकरहरू सोझै रक्सौल आईसीपीमा प्रवेश गरेपछि मात्र भन्सारको कागजी प्रक्रिया थाल्ने सुविधा दिन पनि भारतीय पक्ष सहमत भएको छ ।

यसका साथै इन्धन भरेर बरौनीबाट नेपाली ट्यांकरहरू रक्सौलका लागि हिँडेलगत्तै भारतीय आयल निगमले रक्सौल भन्सारलाई ती ट्यांकरको आवश्यक सूचना दिने सहमति तथा निर्णयसमेत बैठकले गरेको छ । यसले गर्दा नेपाली ट्यांकरले सहजै रक्सौल आईसीपीमा आफ्नो भन्सार जाँचपास प्रक्रिया गर्न पाउनेछन् ।

इन्धन ढुवानीलाई थप सहज बनाउन आईओसी र भारतीय आईसीपीमा हाल भइरहेका ‘म्यानुअल’ कामकाज प्रक्रियालाई अनलाइन/कम्प्युटरकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । पर्साका प्रजिअ पौड्यालले पटकपटक नेपाली ट्यांकर चालकलाई भारतीय प्रहरीले कुट्ने र दुव्र्यवहार गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने बताए । ‘यो समस्याको अविलम्ब समाधान हुन जरुरी छ,’ उनले भने, ‘हामी वीरगन्जको पुरानो भन्सारबाट हुने भन्सार जाँचपास प्रक्रिया पूर्ण रूपमा नयाँ आईसीपी भन्सारबाट होस् भन्ने पक्षमा छौं,

म यो समस्या समाधानका लागि मेरो काउन्टर पार्ट भारत बिहार पूर्वी चम्पारणका डीएमसँग पनि छिट्टै कुरा गर्दै छु, नेपालतर्फ जे जस्तो समस्या छ त्यो हामी समाधान गर्छौं, भारततर्फका समस्याको समाधान भारतीय पक्षले गर्नुपर्छ ।’बैठकमा भारतीय महावाणिज्य दूत प्रधानले नेपालतर्फ इन्धनको आयात सकेसम्म सहज र छरितो बनाउन भारतीय पक्ष सक्दो सहयोग गर्न तयार रहेको बताए । उनले यसका लागि लक्ष्मीपुरमा नेपाली ट्यांकरलाई अन्य सवारीलाई ओभरटेक गरेर आउनेसम्मको सुविधा दिइने बताए । उनले भने, ‘आईसीपी निर्बाध रूपले चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, समस्याहरूको दीर्घकालीन समाधान गरिनुपर्छ ।’

वीरगन्ज/आईसीपी भन्सार प्रमुख पोखरेलले बरौनीबाट रक्सौलसम्म ट्यांकर आउन ६ देखि ७ घण्टा समय लाग्ने त्यसबीचमा ती ट्यांकरको सूचना रक्सौल आईसीपीमा आउने व्यवस्था भए भारतीय भन्सारमा सहज रूपमा ट्यांकरको जाँचपास हुने बताए । यसबाहेक भारतीय आईसीपीमा २ वटा मात्र ट्यांकरको तौल गर्ने मेसिन भएकाले समय लाग्ने भएकाले यसको समाधान पनि जरुरी भएको उनले बताए ।

नेपाल आयल निगमका निमित्त महाप्रबन्धक भट्टराईले आफूहरूले जे जस्तो सहमति गरे पनि त्यसको पालना भारतीय प्रहरीले गर्नेमा आशंका व्यक्त गरे । ‘हामी सहमति गर्छाैं, भारतीय प्रहरीले त्यसको पालना गर्छ भन्नेमा आशंका छ,’ उनले भने, ‘नेपाली ट्यांकर चालकउपर उनीहरूको दुव्र्यवहारको शृङ्खला सहजै रोकिएलाजस्तो छैन, हामीलाई दिनहुँजसो ट्यांकर चालकबाट भारतीय प्रहरीको दुव्र्यवहारको सूचना र गुनासा आइरहेका छन्,

ट्यांकर चालकमाथि दुव्र्यवहार भए त्यसको असर नेपालको इन्धन ढुवानी र आपूर्ति व्यवस्थामा पर्न जान्छ ।’ उनले नेपालको इन्धन ढुवानीको भन्सार जाँचपास प्रक्रिया छरितो रूपमा गर्न एनओसी रक्सौल भन्सारमा आफ्नो कस्टम एजेन्ट नियुक्त गर्न तयार रहेको बताए । रक्सौल आईसीपीमा इन्धन तौल गर्ने उपकरण कम भएकाले त्यो थप्नुपर्ने माग पनि उनले गरे ।

भारतीय आईसीपी कस्टम प्रमुख कुमारले नेपालतर्फको इन्धन मात्र नभई सबै मालवस्तुको निर्यात प्रक्रियामा सहजीकरण गर्न आफू तयार रहेको बताए । ट्यांकरका लागि छुट्टै ‘डेडिकेटेड लाइन’ को व्यवस्था भएपछि हाल देखिएका सबैखाले समस्या समाधान हुने उनले दाबी गरे ।

इन्टर मोडल यातायात विकास समितिका सीईओ बस्नेतले हालको समस्याको समाधान भारतीय प्रहरीको व्यवहारमा निर्भर हुने बताए । उनले आफू तथा पर्साका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार भारतको लक्ष्मीपुरसम्म पुगेर बढी विवाद हुने स्थलको स्थलगत निरीक्षण तथा नेपाली ट्यांकर चालकहरूसँग भेटघाट पनि गरेको बताए । त्यहाँ भारतीय प्रहरीको दुव्र्यवहारको थुप्रै गुनासा आफूहरूले पाएको पनि उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?