कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विषादीले दोहोरो जोखिममा कृषक

कृषकको पाना
प्रताप विष्ट

हेटौंडा — तरकारी र खाद्यबालीमा विषादीको प्रयोगले कृषकहरू दोहोरो जोखिममा पर्ने गरेका छन् । तरकारी र खाद्यबालीमा प्रयोग गरेको विषादीको असर आफ्नो स्वास्थ्यमा पनि पर्न थालेको महसुस कृषकहरूले गर्न थालेका छन् ।

विषादीले दोहोरो जोखिममा कृषक

‘रासायनिक विषादी हालेको तरकारी उपभोग गर्दा आफूहरूलाई पनि विभिन्न किसिमको रोग लागेको र असुरक्षित ढंगले तरकारी तथा खाद्यबालीमा विषादी हाल्दा त्यसको पनि असर आफ्नो स्वास्थ्यमा परेको उनीहरूले महसुस गर्न थालेका छन्,’ भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख निर्मल गदालले भने, ‘तरकारी र खाद्यबालीमा प्रयोग गर्ने विषादीले आम उपभोक्ताभन्दा बढी सम्बन्धित कृषकहरू दोहोरो जोखिममा छन् ।’ विषादी हालेको तरकारीको उपभोग र असुरक्षित ढंगले विषादी हाल्ने गरेका कृषकहरू दोहोरो जोखिममा पर्ने गरेको कृषि प्राविधिकहरूको दाबी छ । विषादीबाट मकवानपुरका कृषकहरू दोहोरो जोखिममा परेकाले तरकारीमा विषादीको प्रयोग क्रमश: न्यूनीकरण गर्न थालेका छन् ।

तरकारी उत्पादनमा ख्याति कमाएको मकवानपुरको दामन पालुङ, बज्रवाराही हाँडीखोलालगायतका तरकारी उत्पादक कृषकहरूले जैविक विषादी प्रयोग गर्न थालेकाले रासायनिक मल र विषादी प्रयोगमा कमी आएको हो । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन, पालुङ, बज्रवाराही, टिस्टुङ र इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी, मार्खु, फाखेल तथा सिस्नेरीमा उत्पादन गरिएका तरकारीमा विषादीको अत्यधिक प्रयोग भएको र ती तरकारी मानव स्वास्थ्यको निम्ति हानिकारक भएको ठहर गरेपछि उक्त क्षेत्रका कृषकहरू सचेत भई जैविक विषादी प्रयोग गर्न थालेका हुन् ।

काठमाडाैंस्थित तरकारी बजार कालिमाटीमा राखिएको विषादी मापनयन्त्रले मकवानपुरका कृषकहरूले उत्पादन गरेका तरकारी उपभोग गर्न उपयु्क्त नभएको देखाएपछि यस क्षेत्रमा उत्पादित तरकारीले केही समय बजार पाउन पनि सकेन । उक्त घटनाबाट सचेत र जागरुक भएर मकवानपुरका तरकारी उत्पादक कृषकहरूले तरकारीमा रासायनिक विषादी प्रयोग गर्न कटौती गरेका हुन् । ‘यहाँका कृषकहरूले रासायनिक विषादी प्रयोगमा कटौती गर्दै गएका छन,’ भुमिसुधार, कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका कृषि विकास महाशाखा प्रमुख गदालले भने, ‘रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादीको प्रयोगबारेमा जानकारी दिने गरेकाले पनि कृषकहरूले रासायनिक विषादीको प्रयोगमा कटौती गरेका हुन् ।’

मकवानपुरको तल्लो भूभागमा पर्ने हाँडीखोला, आमभञ्ज्याङ र माथिल्लो भागमा पर्ने दामन, पालुङ, आग्रा गाविसलगायत क्षेत्रका कृषकहरूले जैविक विषादी प्रयोग गर्न थालेका छन् । कृषि विकास कार्यालय मकवानपुरले अघिल्लो वर्ष जैविक विषादी प्रयोग गर्न कृषकहरूलाई सैद्धान्तिक ज्ञान दिनुको साथै जैविक विषादी बनाउन करिब एक हजारभन्दा बढी ड्रम पनि उपलब्ध गराएको थियो । विभिन्न गाउँका अगुवा कृषकहरूले आफैंले जैविक विषादी उत्पादन गरेर प्रयोग गर्ने गरेका छन् । तरकारी वा खाद्यबालीमा रासायनिक विषादी नै प्रयोग गर्नुपरेछ भने पनि कृषि प्राविधिकसँग सल्लाह गरेर मात्र प्रयोग गर्ने गरेका छन् । विगतमा विशेषगरी तरकारी उत्पादक कृषकहरूले देखासिकी र आफूखुसीमा विषादी प्रयोग गर्ने गरेका थिए ।

‘छिमेकीले तरकारीमा विषादी हालेपछि आफूहरूले पनि हाल्ने गरेका थियौं’ थाहा नगरपालिका १० का धनबहादुर गमालले भने, ‘अहिले प्राविधिकसँग सल्लाह लिएर मात्र रासायनिक विषादी प्रयोग गर्ने गरेका छौं ।’ गत वर्ष अत्यधिक विषादीको प्रयोगको कारणले कालिमाटी बजारका थोक व्यापारीले यहाँ उत्पादित तरकारी खरिद नगरेपछि यस क्षेत्रका कृषकहरूले तरकारी खोलामा फालिदिने र बारीमा नै कुहाउने गरेका थिए ।

तरकारी उत्पादन नै आम्दानीको मुख्य स्रोत रहेको मकवानपुर उत्तरी क्षेत्रका बासिन्दाहरूले अहिले २० देखि ३० प्रतिशत रासायनिक विषादीको प्रयोगमा कटौती गरेका छन् । थाहा नगरपालिकाका कृषि संयोजक सञ्जय तिवारीले भने, ‘ विगतमा सेवा केन्द्रले गरेको रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादी बनाउने तरिका तथा फाइदाका बारेमा व्यापक रूपमा तालिम सञ्चालन गर्‍यौं जसको परिणाम रासायनिक विषादी प्रयोगमा क्रमश: कटौती भइरहेको छ ।’

जिल्लाका तरकारी उत्पादक कृषकले विगतका वर्षको तुलनामा विषादी प्रयोगमा क्रमश: कमी गरेको विषादी विक्रेताहरूले बताएका छन । कृषकहरूले पहिलाको जस्तो कडा खालको र आफूखुसीमा विषादी प्रयोग गर्न छाडेको विषादी विक्रेताहरूले बताए । तरकारीमा विषादी हाल्नेबित्तिकै उक्त तरकारी बिक्री गर्न बजार लैजाँदैनन्् । ग्रामीण भेगका केही कृषकहरूले रासायनिक मल र विषादी प्रयोग नगरीकन तरकारी उत्पादन गर्न थालेका छन् । तरकारीमा गँड्यौले र प्रांगारिक मल प्रयोग गर्न थालेका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिकाअन्तर्गत पर्ने आमभञ्ज्याङका कृषकहरू गँड्यौले मल उत्पादन गरेर बिक्रीसमेत गर्न थालेका छन् भने उक्त गाउँका बासिन्दाहरूले अग्र्यानिक तरकारी उत्पादन गर्न थालेका छन् । आमभञ्ज्याङलाई अग्र्यानिक तरकारी उत्पादन गर्ने थलोको रूपमा विकास गर्ने प्रयत्न गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?