आईसीपी सञ्चालनपछि झन् सास्ती

भूषण यादब

वीरगन्ज — भारत झारखन्डको धनबादबाट वीरगन्जका लागि कोइला लिएर जेठ १९ मा हिँडेका ट्रक चालक मुस्ताक अहमद २४ घण्टापछि ५ सय ५० किलोमिटरको दूरी पार गरी जेठ २० मा बिहारको रामगढवा आइपुगेका थिए ।

आईसीपी सञ्चालनपछि झन् सास्ती

रामगढवाबाट मात्र २५ किलोमिटरको दूरीमा रहेको वीरगन्जको अलौँस्थित एकीकृत भन्सार चौकी (आईसीपी) पुग्न अहमदलाई पाँच दिन लाग्यो ।

आईसीपीको ढिलासुस्ती र प्रहरीको अवैध असुलीका कारण लामो जाम लागेको चालकहरूले बताएका छन् । दुवैतिर आईसीपी सञ्चालनमा आएपछि नेपालका लागि सामान लिएर आउने ट्रक रक्सौल नपुग्दै लक्ष्मीपुरबाट आईसीपी जाने बाइपास रोडतर्फ मोडिन्छन् ।

‘रातिको समयमा भारतीय प्रहरीले पैसा लिएर पछाडिका गाडीलाई ओभरटेक गर्न दिएर भारतपट्टिको आईसीपी गेटमा जाम लाग्ने गरेको छ,’ ट्रक चालक अहमदले भने, ‘अनि आईसीपीका कर्मचारीले पनि बिनाकागजात मालबाहक सवारी परिसरभित्र प्रवेश गर्न दिँदैनन् जसले गर्दा झन्डै १२ किलोमिटरसम्म जाम लागेको छ ।’

पैसा नदिई ओभरटेक गर्न खोज्दा प्रहरीले पिट्ने गरेको उनले गुनासो गरे । लामो समयदेखि नेपालका लागि सामान लिएर आउने गरेका चालकहरूले पछिल्लो समय नाकामा हुने अनावश्यक जाम र प्रहरीको गैरजिम्मेवार व्यवहारले दुखित भएको गुनासो गरेका छन् । ‘जाम र प्रहरीको अवैध असुलीले रक्सौल–वीरगन्ज नाका बदनाम भइसक्यो,’ उत्तरप्रदेश बरेलीका चालक अपसार अहमदले भने, ‘एउटा ट्रकबाट ६ हजारदेखि १० हजार भारुसम्म प्रहरीले लिइरहेका छन् ।’

लोकल चालकलाई प्रहरीले सजिलै अगाडि बढ्न दिए पनि अन्य प्रदेश गाडीलाई अनावश्यक दु:ख दिने गरेको उनीहरूले आरोप लगाएका छन् । आईसीपीमा जाँचपास प्रक्रिया लामो भएकाले पनि सवारी जाम बढेको एजेन्टले आरोप लगाएका छन् । वीरगन्जको अलौँ र रक्सौलको पन्टोकामा अवस्थित दुवैतिरको आईसीपीमा रहेको तौल मेसिनमा मालबाहक गाडी तौलिनुपर्ने बाध्यता छ । ‘पिस र एमआरपीमा भन्सार जाँचपास हुने वस्तु पनि तौलने गरिएको छ,’ एक एजेन्टले भने, ‘दुवैतिर फरकफरक मूल्य तिर्नुपरेको छ ।’

सिमानाको वारिपारि निर्माण भएको दुवै आईसीपीमा एउटै वस्तु तौल गर्दा अतिरिक्त रकम खर्च हुनका साथै बढी समय पनि लाग्ने गरेको छ । आईसीपीमा छवटा गेट भए पनि हालसम्म एउटा गेट मात्र प्रयोगमा ल्याएको छ । आईसीपी सञ्चालनमा आएपछि व्यापार सहज हुने आयातकर्ता तथा व्यापारीले अपेक्षा गरेका थिए । तर, सञ्चालनमा आएको दुई महिना बितिसक्दा पनि समस्या झन जटिल बन्दै गएकामा आयातकर्ता चिन्तित बनेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज भन्सार एजेन्ट संघका प्रतिनिधिले मंगलबार समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं आयातकर्ता प्रदीप केडियाले अपेक्षाअनुरूप आईसीपी सञ्चालन नभएको गुनासो गरे ।

लामो जामका कारण वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगमा कच्चा पदार्थ अभावको समस्या देखिन थालेको उनले जनाए । पछिल्लो समय वीरगन्ज नाकाका लागि सामान लिएर आउँदा एउटै ट्रिपमा १२ दिनसम्म लाग्न थालेको छ । ‘जसले गर्दा कतिपय ट्रक चालक यो नाकामा सामान बोकेर आउन मान्दैनन्,’ केडियाले भने । भन्सार जाँचपास प्रक्रिया सकाएर आईसीपीको गेटपास लिन एउटा ट्रकलाई कम्तीमा ४५ मिनेट लाग्ने गरेको छ । पूर्वअध्यक्ष केडियाले भने, ‘व्यापार सहजको अपेक्षा गरेका थियौं, झन् झन् समस्या बढ्दै छ ।’

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?