कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै रोकिएन डिजल पेट्रोल तस्करी

तीनसय पैताली लिटर डिजलसहित भारतीय नागरिक पक्राउ
विनोद भण्डारी

विराटनगर — एकवर्ष देखि नियमितजसाे हुँदै आएको डिजल र पेट्रोलको चोरी तस्करी अझै नियन्त्रण भएको छैन । नेपाल आयल निगमले गरेको पछिल्लो मूल्य बृद्धिपछि पनि नेपालमा भन्दा भारतमा डिजल प्रतिलिटर २२ रुपैया र पेट्रोल प्रतिलिटर १६ रुपैया महँगो भएका कारण चोरी पैठारीले निरन्तरता पाएको हो ।

अझै रोकिएन डिजल पेट्रोल तस्करी

आइतबार पूर्वी मोरङको सिक्टी र चोप्राहा नाकाबाट चोरी पैठारी हुँदै गरेको ३ सय ४५ लिटर डिजलसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार चोरी पैठारीमा संलग्न भारतीय नागरिक मुकेशकुमार मण्डलसहित उक्त परिमाणको डिजल, दुई थान मोटर साइकल र एक थान साइकल नियन्त्रणमा लिइएको हो ।


पूर्वमा दैनिक ७ सय किलो लिटरडिजल र २ सय किलोलिटर पेट्रोल बजारमा पुग्छ । त्यसमध्ये अधिकांश डिजल र पेट्रोल भारततर्फ चोरी पैठारी भएको पुष्टि भएपछि निगमले स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरेर नियन्त्रणको प्रयास सुरु गरेको निगमका क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालले बताए । खनालका अनुसार पम्पसंचालकलाई वास्तविक उपभोक्ता पहिचान गरेर मात्र डिजल पेट्रोल उपलब्ध गराउन निर्देशन दिइएको छ ।


आयल निगमको चरणबद्ध मूल्य बृद्धि अघि डिजलमा प्रतिलिटर २८ र पेट्रोलमा २२ रुपैया मूल्य अन्तर हुँदा भारतको बरौनी डिपोमा पेट्रोलियम लोड गर्न गएका ट्याङकरका चालकले भारतमै इन्धन विक्री गरेर रित्तो ट्याङकर लिएर आउने गरेको रहस्य सार्वजनिक भएको थियो ।


बरौनी डिपोबाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजल लोड भएको ना ४ ख ८७३३ नम्बरको ट्याङकरका चालक कृष्ण यादवले १६ हजार लिटर भारतमा बिक्री गरी ४ हजार लिटरमात्र नेपाल भित्र्याएका थिए ।


त्यसैगरी आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट सुनसरीका बिभिन्न ५ वटा पम्मका नाममा २० हजार लिटर डिजल लिएर हिडेको ट्याङकरका चालकले पम्पलाई नदिई उक्त डिजल भारतमा लगेर बिक्री गरी ट्याङकरलाई भारतमै बेवारिसे छाडेर फरार भएको खुलासा भएको थियो ।


ना २ ख ४३५२ नम्बरको ट्याङकरका चालक मुन्नाले सुनसरीको इटहरीका तीनवटा पम्पमा १२ हजार लिटर दिएर बाँकी ८ हजार लिटर डिजल भारतमा लगेर महंगो मूल्यमा बिक्री गरी चालकले ट्याङकरलाई भारतको बरौनीमा बेवारिसे छाडेर फरार भएका थिए ।


आयल निगम क्षेत्रीय डिपो स्रोतका अनुसार उक्त ट्याङकरमा सुनसरीको इटहरीका न्यू स्यार्सेकाली, गोविन्द आयल, सिडी जाल्पा, मिलन आयल र चन्द्रमन पम्पको २० हजार लिटर डिजल बोकेर डिपोबाट बाहिर निस्केको थियो । ट्याङकरका चालक मुन्नाले जाल्पा, सिडी, न्यू स्यार्सेकाली र गोविन्द आयलमा १२ हजार लिटर खन्याएर बाँकी दुई पम्पको नामको ८ हजार लिटर पम्पमा नखन्यायी भान्टाबारी नाकाबाट भारत प्रवेश गरी बिक्री गरेर ट्याङकरलाई वरौनीमा वेवारिसे अवस्थामा छाडेर भागेको हो । डिजल नपाउने दुई पम्पले पम्पमा डिजल नआएपछि खोज तलास गर्दा यसको पुष्टि भएको निगम स्रोतको भनाई छ ।


यसअघि ना ४ ख ९४१० र ना ४ ख ३९३७ नम्बरको ट्याङकरमा नेपाल आयात गरिएको ४० हजार लिटर डिजल चालकले भारतमै बिक्री गरेर ट्याङकरलाई भारतीय क्षेत्रमा दुर्घटना गराएको नाटक गरेको निगम स्रोतको दाबी छ । ‘एक ट्यांङकर डिजल अहिले भारतीय मूल्यमा बिक्री गर्दा करिब ५ लाख रुपैंया नाफा हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले ट्याङकर चालकहरु पेट्रोलियम पदार्थ भारतमै बिक्री गरेर ट्याङकरलाई पल्टाएर र्दुघटनाको नाटक गर्न थालेका छन् ।’


क्षेत्रीय डिपो प्रमुख खनालले चोरी पैठारी नियन्त्रण गर्न सिमावर्ती क्षेत्रका पेट्रोल पम्पलाई इन्धन कटौती गर्दा पनि तस्करी नियन्त्रण हुन नसकेको बताए । सिमावर्ती क्षेत्रका पम्पले ड्रममा हालेर सीमा पारि पेट्रोलियम पदार्थ पुर्‍याउने गरेको आशंकामा त्यस्ता पम्पले पाउने गरेको दैनिक १२ हजार लिटर डिजललाई ८ हजार लिटरमा झारेपनि तस्करी रोकिएको छैन ।

प्रकाशित : जेष्ठ २८, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?