दूधको प्रतिवेदन सार्वजनिक : प्रशोधन उद्योगका ४२ ब्रान्डमध्ये ४० मा सोडा 

चिल्लो पदार्थ (फ्याट) कम : १७
ठोस वस्तु (सोलिड नट फ्याट) कम : ९
संकलित नमुनामा सूक्ष्म जैविक परीक्षण पूरा हुन ७२ घन्टा लाग्ने भएकाले अझै जारी छ : प्रवक्ता कार्की
सुरज कुँवर

काठमाडौँ — राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ । 

दूधको प्रतिवेदन सार्वजनिक : प्रशोधन उद्योगका ४२ ब्रान्डमध्ये ४० मा सोडा 

केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको हो ।

राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन् । यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमुना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो । मन्त्रालय मातहतको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा ‘न्युट्रलाइजर’ का रुपमा सोडा (सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडीयम कार्बोनेट) गरी तीन किसिमका रसायन (क्षार) मिसाएको औंल्याएको छ ।


सोडा मिसावट गर्ने उद्योगहरुमा दुग्ध विकास संस्थान (डीडीसी) बालाजु, चौधरी डेलिसियस, काठमाडौं, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जय श्रीकृष्ण डेरी काभ्रे, भक्तपुर डेरी भक्तपुर, हिमालय डेरी प्रोडक्ट, लगनखेल र जगदम्बा डेरी फुड एन्ड बेभरेज भक्तपुर छन् । यस्तै, खरीपाटी डेरी भक्तपुर, एचडी मिल्क एन्ड वेभेरेज, काठमाडौं, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस/सैजु डेरी भक्तपुर, नवप्रभात डेरी, ललितपुर (गोदावरी), नेपाल डेरी (एन्डिज) धापाखेल, नोभा/कन्ट्री फुड प्रालि भक्तपुर र राजधानी डेरी काठमाडौंले पनि सोडा मिसाएको नमुना परीक्षणमा देखिएको हो ।


सफल/सुजल डेरी थानकोट, सञ्जीवनी डेरी उद्योग भक्तपुर, शिवम डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, सामूहिक कृषि डेरी बालाजु, हिमालयन डेरी प्रडक्ट्स लगनखेल, तुलसा डेरी काठमाडौं र संयुक्त डेरी पाटनका दूधमा पनि सोडा भेटिएको प्रतिवेदनमा उल्लेख छ । यी डेरीले चिया दूध, गाईको दुध पूरै क्रिमयुक्त (बाक्लो) लगायत नाममा दूध उत्पादन गर्दै आएका छन् ।


कृषिमन्त्री चक्रपाणि खनालसहितले अनुगमन गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नमुना परीक्षण गरिएका मध्ये बालाजुको आधुनिक डेरीको उत्पादनमा भने सोडा फेला नपरेको प्रयोगशालाले जनाएको छ । त्यसैगरी, र्कीतिपुरको सिताराम डेरीबाट शनिबार लिइएको नमुनामा सोडा नभेटिए पनि आइतबार सोही डेरीको कृष्ण ब्रान्डको नमुना परीक्षणमा भने मिसावट देखिएको छ ।


परीक्षणमा १७ वटा नमुनामा चिल्लो पदार्थ (फ्याट) को मात्रा घटाइएको, नौ वटामा ठोस वस्तु (सोलिड नट फ्याट) को कमी र ४० वटामा सोडा पाइएको हो । यी दूधमा सूक्ष्म जैविक परीक्षण भने जारी छ । त्यसका लागि कम्तीमा ७२ घन्टा लाग्ने प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । मन्त्री खनालले सोमबार बालाजुका ४ वटा डेरी डीडीसी, आधुनिक डेरी, पुष्प डेरी र सामूहिक कृषक डेरी उद्योगमा छापा मार्दा त्यहाँको अवस्था सन्तोषजनक नरहेको प्रवक्ता कार्कीले जनाए । ती डेरीलाई खाद्य ऐनअनुसार कारबाही गरिएको जानकारी उनले दिए ।


मन्त्रालयले दूधको स्वच्छता एव गुणस्तरलगायत दीर्घकालीन सुधारका लागि उत्पादन, संकलन, चिस्यान, ढुवानी, प्रशोधन र बिक्रीवितरणमा असल उत्पादन अभ्यास (गुड म्यानिफ्याक्चरिङ प्राक्टिस, जिएमपी) का सिद्धान्तका आधारमा नया कार्यविधि, मापदण्ड निर्माण भइरहेको जनाएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी दुग्ध उद्योगलगायत अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न अनुगमन कार्यलाई अभियानका रुपमा सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?