१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अर्थतन्त्रमा कर्णाली प्रदेश कमजोर

मानव विकास सूचकांकमा प्रदेश २ सबैभन्दा कमजोर
प्रतिव्यक्ति आयमा प्रदेश ७ सबैभन्दा कमजोर
कृष्ण आचार्य

काठमाडौँ — अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरूमा ६ नम्बर (कर्णाली प्रदेश) सबैभन्दा कमजोर देखिएको छ ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय’ स्थितिसम्बन्धी प्रदेशगत प्रोफाइलमा जनाएअनुसार कर्णाली प्रदेश कमजोर देखिएको हो ।

अर्थतन्त्रमा कर्णाली प्रदेश कमजोर

तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबै कम योगदान कर्णाली प्रदेशको छ । ३० खर्ब रुपैयाँको मुलुकको अर्थतन्त्रमध्ये कर्णाली प्रदेशले ४ प्रतिशत हिस्सा अर्थात् १ खर्ब २४ अर्ब रुपैयाँ मात्रै योगदान गरेको छ । जीडीपीमा सबैभन्दा बढी अर्थात् ३१ प्रतिशत हिस्सा प्रदेश ३ ले ओगटेको छ ।

आर्थिक रूपमा महत्त्वपूर्ण मानिने मानव विकास सूचकांकमा भने प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ । प्रदेश २ को मानव विकास सूचकांक ० दशमलव ४२१ हो । मानव विकास सूचकांकमा २ नम्बरभन्दा झिनो अंकले केही माथि कर्णाली प्रदेश छ । तथ्यांकअनुसार ० दशमलव ४२७ कर्णाली प्रदेशको सूचकांक हो ।

प्रदेश ३ को मानव विकास सूचकांक मुलुकको औसत सूचकांकभन्दा बढी छ । ० दशमलव ४९ मुलुकको मानव विकास सूचकांक हो भने ३ नम्बर प्रदेशको सबैभन्दा बढी अर्थात् ० दशमलव ५४३ रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक मापनको हिसाबले अर्को महत्त्वपूर्ण सूचकांक प्रतिव्यक्ति आयमा भने ७ नम्बर प्रदेश सबैभन्दा कमजोर देखिएको छ । यो प्रदेशका एक व्यक्तिले वार्षिक ६ सय ६० अमेरिकी डलर (हालको विनियमअनुसार ७१ हजार रुपैयाँ) कमाउँछन् । प्रतिव्यक्ति आयमा दोस्रो कमजोर प्रदेश कर्णाली हो । कर्णालीका एक व्यक्तिले वर्षमा औसत ६ सय ७७ अमेरिकी डलर (७३ हजार रुपैयाँ) कमाउँछन् ।

मुलुकभरको हिसाबले यस्तो कमाइ वार्षिक १ हजार ४ डलर (१ लाख ८ हजार ११० रुपैयाँ) कमाउने गरेको तथ्यांक विभागले जनाएको छ । तर, ३ नम्बर प्रदेश प्रतिव्यक्ति आयको हिसाबले पनि सबैभन्दा बलियो देखिन्छ । ३ नम्बरको प्रतिव्यक्ति आय १ हजार ५ सय ३४ अमेरिकी डलर (१ लाख ६५ हजार १ सय ८१ रुपैयाँ) छ । खेतीयोग्य जमिन, उद्योग संख्या, उत्पादनमूलक उद्योगहरूमा रोजगारीको संख्या, सडक, सहकारी, राजस्व संकलन, सरकारी खर्चमा पनि कर्णाली प्रदेश नै कमजोर देखिएको छ । हालको विद्युत् उत्पादन र भविष्यमा उत्पादन हुने विद्युतमा भने प्रदेश २ सबैभन्दा पछाडि देखिएको छ ।

प्रदेश २ मा विद्युत्सँग सम्बन्धित आयोजनाहरू नै छैनन् । उल्लेखित सबैजसो सूचकहरूमा भने प्रदेश ३ निकै अगाडि रहेको तथ्यांकले देखाउँछ । हालको उत्पादनअनुसार जलविद्युतमा प्रदेश नम्बर ४ अगाडि छ । मुलुकभर उत्पादन भइरहेको १ हजार ६ मेगावाट विद्युत्मध्ये प्रदेश ४ ले ४ सय ७९ उत्पादन गरेको गरिरहेको छ । भविष्यमा समेत उत्पादन हुने हिसाबले प्रदेश ३ नै अगाडि हुने सम्भावना छ । तथ्यांकमा उल्लेख भएअनुसार निर्माणाधीन विद्युत् आयोजनाहरूको क्षमता ४ हजार ६ सय ४१ मेगावाट हो । यसमध्ये २३ सय २६ मेगावाट विद्युत् ३ नम्बर प्रदेशमा उत्पादन हुनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?