पाइलट नियुक्ति भएको २० दिनमै बर्खास्त

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले नियुक्त गरेका पाइलट सुदीप रिजाललाई २० दिनमै बर्खास्त गरेको छ । रिजाललाई जेठ ११ गते जेट विमान उडाउनका लागि करारमा नियुक्त गरिएको थियो ।

पाइलट नियुक्ति भएको २० दिनमै बर्खास्त

उनी निगमको अपरेसन विभागका प्रमुख पाइलट सुवास रिजालका माइला भाइ हुन् । उनलाई २० दिनपछि निगम व्यवस्थापनले २० लाख रुपैयाँ बक्यौता नबुझाएको कारण देखाएर बर्खास्त गरेको हो । ‘सुदीपले निगमलाई २० लाख रुपैयाँ बुझाउनुपर्ने बक्यौता देखियो । ७ दिनभित्र बुझाउने सर्तमा करार खारेज गरिएको छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने । नियुक्ति गर्ने बेला बक्यौता र निष्कासन गरिएको सूचनाबारे जानकारी नपाएको उनले बताए । ‘करारमा नियुक्ति गर्दा गोरखापत्रमा छापिएको सूचना र बक्यौता रकमबारे जानकारी नै भएन,’ महाप्रबन्धक कंसाकारले भने ।

पाइलट सुदीपले त्यस बेला निगमलाई तिर्नुपर्ने २० लाख रुपैयाँ नतिरे बेपत्ता भएकामा पाइलट तथा कर्मचारी संगठनले व्यापक विरोध गरेपछि उनको करारपत्र मंगलबार रद्द गरिएको हो । ‘हामीलाई थाहा नै भएन । सुदीप रिजालको त्यस बेलाको व्यक्तिगत फाइल पनि खोजिरहेका छौं,’ निगमका एक निर्देशकले भने, ‘सुदीपलाई निकालिएको पुराना कर्मचारी साथीहरूलाई थाहा रहेछ । उनीहरूले विरोध जनाएपछि मात्रै यो कुरा खुल्यो । यसमा निगम चुक्यो,’ ती निर्देशकले भने ।

स्रोतका अनुसार ६ वर्षअघि सुदीप रिजाललाई स्पष्टीकरण बुझाउन निगम व्यवस्थापनले दुईपटक गोरखापत्रमा सूचना पनि निकालेको थियो । ‘०६८ फागुन ४ र ५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी उनलाई खोजी गरिएको थियो,’ निगमका अर्का एक निर्देशकले भने, ‘दुईपटक स्पष्टीकरण सोध्दा पनि रिजालले स्पष्टीकरण नबुझाई भागेको देखिन्छ ।’ हुलाक ठेगानामा घर खोज्दासमेत घर फेला नपरेको उल्लेख गरिएको सूचनामा लेखिएको छ, ‘तपाईले स्पष्टीकरण पेस गर्नुभएको नदेखिएकाले सञ्चालक समितिको मिति २०६९/०३/२९ मा भएको निर्णयअनुसार निगमका कर्मचारीहरूको सेवा सर्तसम्बन्धी विनियमावली, २०५८ को विनियमबमोजिम भविष्यमा निगमको सेवाका निमित्त अयोग्य नठहरिने गरी निगमको सेवाबाट हटाइएको छ,’ उक्त सूचनामा लेखिएको छ ।


आठ वर्ष निगमको टुइनअटर विमान उडाएका रिजाललाई २०६९ असार २९ गते सञ्चालक समितिले गोरखापत्रमा सूचना जारी गर्दै बर्खास्त गरेको थियो । त्यसबेला उनी संयुक्त राष्ट्रसंघको आकर्षक सेवा सुविधा पाएपछि निगम छाडेर अमेरिका पलायन भएका थिए ।

तिनै रिजाललाई ६ वर्षपछि पुन: निगमको जेट विमान (एयरबस) उडाउनका लागि महाप्रबन्धक कंसाकारले मासिक ५ लाख रुपैयाँ हाराहारी तलबभत्ता दिने गरी नियुक्ति दिएका थिए ।

रिजाललाई पुन: निगममा करार सेवामार्फत सुटुक्क प्रवेश गराइएपछि कार्यरत पाइलटहरूले महाप्रबन्धक कंसाकार, पर्यटन सचिव तथा निगमको सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद देवकोटा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुनासो गरेका थिए । यसैबीच बुधबार पनि कर्मचारी युनियनसहितको समूहले पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई भेटेर रिजालको नियुक्ति प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । राज्यमन्त्री बुढाले कंसाकारलाई फोन गरी नियमसंगत काम गर्न निर्देशन दिएको बताए । ‘पाइलट नियुक्तिकाबारे कर्मचारीसाथीहरू म कहाँ आएका थिए । नियमसंगत तरिकाले गर्नु भनेको छु,’ राज्यमन्त्री बुढाले भने ।

सुवास निगमको अपरेसन विभाग प्रमुख हुन् । यस विभाग मातहत निगमका सबै ५ प्रकारका विमान (२ एयरबस, १ बोइङ, ४ वाई१२ई, २ एमए६०, दुईटा टुइनअटर) का लागि ८२ जना पाइलट र २ सय हाराहारी एयरहोस्टेस छन् । अपरेसन विभाग प्रमुखले नातावादका आधारमा पक्षपात गरेको जनाउँदै चिनियाँ विमान उडाउँदै आएका प्रशिक्षक पाइलट गोपाल बिष्टले व्यवस्थापन र मन्त्रालयमा राजीनामा बुझाएका छन् । यसअघि विष्ट अपरेसन विभागअन्तर्गत डोमेस्टिकका उपनिर्देशक थिए । सुवास रिजाल अपरेसन विभाग प्रमुख भएर आएपछि उनले पाइलट विष्टलाई हटाई उनको स्थानमा आफ्ना कान्छा भाइ श्रवण रिजाललाई ल्याएका थिए । व्यवस्थापनका अनुसार निगममा पाइलटहरूबीच दुइटा गुट छ । विष्ट अर्को गुटको रहेकाले रिजालले त्यसबेला हटाई भाइ श्रवणलाई ल्याएका थिए । बाहिरबाट टिपेर ल्याइएका कनिष्ठ पाइलटलाई सोझै जेट विमानमा भित्र्याइएको विरोधमा उनले राजीनामा दिएका हुन् । यसबारे पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पनि भेटेरै पनि भनिसकेका छन् ।

अपरेसन विभागको कामकारबाहीसँग असन्तुष्टि जनाउँदै यसअघि एयरबसकै क्याप्टेन आरपी ढकाल, किरण भट्टराई, आङ नुरी शेर्पाले राजीनामा दिइसकेका छन् । पाइलटहरूको क्षमता र मिहिनेतअनुसार वृत्ति विकास गर्ने जिम्मा पाएको अपरेसन विभागमा हुने चलखेल र चरम गुटबन्दीका कारण ती पाइलटहरूले राजीनामा दिनुपरेको यसअघि बताएका थिए ।

निगमले असार १४ र त्यसपछि भित्र्याउन लागेको एयरबसको वाइड बडी विमानका लागि क्याप्टेन र कोपाइलटसहित कम्तीमा ३२ जना जनशक्ति चाहिने भनेको छ । अहिलेसम्म सुदीप रिजाललाई निगममै कार्यरत उनका दाजु सुवासले जेट विमान उडाउने (पी–टु) को–पाइलट मा नियुक्ति दिलाएका छन् भने सौर्य एयरको सीआरजे विमान उडाउने भावना पन्त गिरीलाई पनि जेट विमानकै लागि रिजालले भर्ना गरेका छन् । प्रशिक्षक पाइलट विष्टभन्दा गिरी कनिष्ठ हुन् । निकोन एयरमा छँदा सेस्ना क्याराभानमा गिरी कोपाइलट थिइन् भने विष्ट क्याप्टेन थिए । निगमको अपरेसन विभागको सिफारिसमा पाइलटलाई करारमा महाप्रबन्धकले सोझै भर्ना गर्न सक्ने प्रावधान छ ।

अघिल्लो साता आन्तरिक उडानमा रहेका पाइलटहरूको समूहले कंसाकारलाई प्रधान कार्यालयमै भेटेर सानो विमान उडाएर भागेका सुदीप रिजाल सटुक्क भर्ना गरेको विषयमा विरोध गरेका थिए । दुर्गम भेग र आन्तरिक उडानमा रहेका पाइलटहरूलाई एयरबसमा पालो नदिई नातावाद, राजनीतिक दबाबका आधारमा करारमा पाइलट भर्ना गरिएकामा उनीहरूले विरोध गरेका थिए । ती पाइलटहरूले आफूहरूलाई आन्तरिक उडानमै खुम्च्यिाइएकामा विरोध जनाउँदै जेट विमान उडानको अवसरका लागि नियम बनाउन भनेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?