सूचना प्रकाशित गरेर अनुगमन

मूल्य वृद्धि भएका वस्तु पहिचान गर्न समिति
राजु चौधरी

काठमाडौँ — बजेटपश्चात् बजारमा अचाक्ली मूल्य बढेपछि सरकारले सूचना प्रकाशित गरेर अनुगमन गर्ने भएको छ । बजारभाउ वृद्धिको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बिहीबार उद्योगी, व्यवसायीसँगको छलफलपश्चात् विभागले यस्तो निष्कर्ष निकाले हो ।

सूचना प्रकाशित गरेर अनुगमन

‘बजारमा मूल्य वृद्धिको गुनासो बढे पनि अनुगमन गर्दा केही फेला परेन । बिलबीजक जारी गरेका छैनन् । बिहीबारको छलफलमा बिल जारी गर्नुपर्‍यो अन्यथा अनुगमन गरेर कारबाही गर्ने जानकारी गरायौं,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘व्यवसायीले नै सूचना प्रकाशित गर्न अनुरोध गरेका छन् । उनीहरूकै अनुरोधमा सूचना निकाल्दै छांै । त्यसपश्चात कडाइका साथ अनुगमन गर्छौं ।’ बजार अनुगमन गोप्य रूपमा गरिन्छ । अनुगमन गर्दा सूचना दिँदा कैफियत लुकाउन सक्छन् । जसले गर्दा समान्यतया अनुगमन गर्दा गोप्य गर्ने चलन छ । तर, विभागले सूचना जारी गरेरै अनुगमन गर्न लागेको हो ।

मूल्य वृद्धिबारे बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको अध्यक्षता बसेको बैठकले अनुगमन कार्यलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षको बजेटमार्फतको करका दरमा भएको परिवर्तनका कारण मूल्य वृद्धि हुन सक्ने वस्तुहरूको पहिचान गर्ने निर्णय गरेको थियो । गृह, अर्थ, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसहितको उपस्थिति रहेको बैठकले वस्तु पहिचान गर्न आपूर्तिका सहसचिव नवराज ढकालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिमा अर्थ, गृह, राष्ट्र बैंक र आपूर्ति विभागका प्रतिनिधि छन् । बैठकले दैनिक उपभोग्य वस्तुहरू खासगरी खाद्यान्न, तरकारी, फलफूल, औषधिका थोक बिक्रेताहरूको अनुगमनलाई तीव्र एवं प्रभावकारी बनाउने र कडाइका साथ अनुगमन गर्ने तथा अनुगमनका क्रममा असहयोग गर्नेेलाई सख्त कानुनी कारबाही गर्ने निर्णय गरेको थियो । अनुगमनका क्रममा कृत्रिम अभाव, कालोबजारी मिसावट र गुुणस्तरहीन वस्तु बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम सख्त कारबाही अघि बढाइने निर्णय भएको थियो ।

कालोबजारी, कृत्रिम अभाव मूल्य वृद्धिलगायतका सूचनाहरू नेपाल प्रहरीलगायतका सम्बद्ध निकायहरूले विभागलाई जानकारी गराउने र विभागले पनि सरोकारवाला निकायहरूसँग समन्वय गरी त्यस्ता क्षेत्रहरूमा तत्काल अनुगमन गर्ने प्रबन्ध मिलाउने निर्णय भएको थियो । सोही सन्दर्भमा विभागले बिहीबार चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघ, होलसेल व्यवसायी र खुद्रा व्यवसायीहरूसँग छलफल गरेको हो । मूल्य वृद्धिका सन्दर्भमा कारणसहित पेस गर्न व्यवसायीलाई निर्देशन दिएको गौचनले दाबी गरे ।

छलफलका क्रममा होलसेल व्यवसायीले आयाततित वस्तुको मूल्य बढेको बताएका थिए भने खुद्रा व्यवसायीको छाता संगठन खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले सबै वस्तुको मूल्य वृद्धि भएको बताएका थिए । विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बैठकमा बिलबीजक जारी गर्नेमा व्यवसायीहरू सहमत भएको बताए । ‘विभागले गर्ने अनुगमनमा व्यवसायीले अनिवार्य बिल देखाउनुपर्छ, अन्यथा कारबाहीको भागीदार हुन्छ भनेका छौं,’ उनले भने, ‘यसमा व्यवसायीहरू सहमत भएका छन् ।’ विभागले प्रत्येक १५ दिनमा खाद्यको मूल्यसूची माग गरेको जनाएको छ । त्यसका आधारमा अनुगमन र कारबाही हुने उनले बताए ।

प्रकाशित : असार १, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?