बीउ पाउनै मुस्किल

कान्तिपुर संवाददाता

धनगढी — उदासीपुरका किसान हर्कबहादुर विष्ट उन्नत जातको धान बीउ खोज्न निकै भौंतारिए । गाउँका सहकारीदेखि धनगढीस्थित कार्यालयसम्म पुग्दा पनि बीउ नपाएपछि भारतकै भर परे । खुला नाकाबाट अवैध रूपमा भित्रिएको सरजु–५२ बीउ किनेर बेर्ना राख्न बाध्य भए । उनी यसपटक राधा–४ तथा सुक्खा २ र ३ जातको धान लगाउने सोचमा थिए ।

राष्ट्रिय बीउबिजन कम्पनीले पनि यहाँको माटो र हावापानी सुहाउँदो धानको उन्नत बीउका रूपमा यिनैलाई सिफारिस गरेको छ । विष्ट तिनै बीउ खोज्न बारम्बार बीउबिजन कार्यालय र सहकारी धाए पनि रित्तो फर्किएकोमा थकथक मानिरहेका थिए । राष्ट्रिय बीउबिजन कम्पनीका मधु ओझाले यस वर्ष उक्त जातको ४१ क्विन्टल धान बीउ मात्रै वितरण गरिएको बताए । ‘सबै किसानलाई पुर्‍याउनै सकिएन,’ उनले भने ।

ओझाका अनुसार उक्त बीउ करिब १ सय हेक्टरलाई मात्रै पुग्छ । कैलाली जिल्लामा ७१ हजार हेक्टरमा धान खेती गरिन्छ । किसानले उन्नत जातका भनिएका धानको बीउ बजारबाट किन्ने गरेका छन् । पछिल्लो समय अधिकांश बीउ भारतबाट अवैध रूपमा आयात गरिन्छ । त्यहाँबाट ल्याइएको सर्जु–५२ जातको धान बढी लगाउने चलन छ ।

मलखाद पनि उस्तै सकस
मलखादको पनि उस्तै चर्को समस्या छ । उदासीपुरका विष्ट मलखादका लागि स्थानीय मसुरिया बजारका सहकारी पसलमा धाइरहेको बताउँछन् । तर, अहिलेसम्म पाउन सकेका छैन्न । ‘जुन दिन मल आएको हल्ला चल्छ, सबै काम छोडेर सहकारीतिर दौडिन्छु,’ उनले भने, ‘रित्तै फर्किने गरेको छु ।’

हसुलियाका देवनारायण चौधरीले सहकारी पसल सञ्चालकको बदमासीले साना किसानले सहज रूपमा मल पाउन नसकेको गुनासो गरे । ‘ठूला किसानले जति पनि मल पाएका छन्,’ उनले भने, ‘साना किसानले पाउन सकेनन् ।’ उनले सहकारी पसलले सरकारी सहुलियतको मलमा व्यापार गर्ने गरेको आरोप लगाए । ‘सहकारी पसल सञ्चालकले स्थानीय व्यापारीलाई समेत मल बिक्री गर्दै आएका छन्,’ चौधरीले भने ।

घोडाघोडी नगरपालिका–११ स्थित ग्रामीण कृषक सहकारी संस्थाका शिवराज खत्रीले मल बेच्ने गरेको आरोप झूटो भएको दाबी गरे । उनी सबैलाई मलखाद पुर्‍याउन नसकेको भने स्विकार्छन् । मलखाद आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन हुन् । साल्ट ट्रेडिङसँग ‘सिंगल सुपर फस्फोरस’ नामक मल छ । उक्त मललाई किसानले मन नपराएका कारण बिक्री हुन सकेको छैन । उक्त मलमा पोटास र नाइट्रोजन नभएका कारण पनि किसानको रुचिमा नपरेको हो । सरकारी अनुदान पनि छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडले डीएपी, युरिया र पोटास बिक्री गर्दै आएको छ । किसानलाई अहिले डीएपी र युरियाकै आवश्यकता छ । कृषि सामग्रीका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले गाउँमा किसानले मल पाउन समस्या भए पनि अभाव भने नभएको बताए । ‘किसानलाई चाहिने मल जति पनि मगाउन सकिन्छ,’ उनले भने, ‘भैरहवास्थित गोदाममा मल पर्याप्त भण्डारण छ । आवश्यकताअनुसार त्यहाँबाट ल्याइरहेका छौं ।’

उनका अनुसार कैलालीमा धान खेतीका लागि २ हजार ५ सय मेट्रिक टन डीएपीको कोटा थियो । ‘माग बढी भएकाले हालसम्म २ हजार ८ सय मेट्रिक टन डीएपी गइसकेको छ,’ उनले भने, ‘५ सय मेट्रिक टन आउँदै छ ।’ क्षेत्रीय प्रबन्धक पाण्डेयले युरियाको कोटा ५ हजार ५ सय मेट्रिक टन रहेकोमा करिब ३ हजार मेट्रिक टन बिक्री भइसकेको जानकारी दिए । धानबाली पसाउने बेलासम्म युरियाको प्रयोग हुने भएकाले कोटाभन्दा बढी आवश्यक भए पनि आपूर्ति गर्न सकिने उनले बताए ।

कैलालीको सीमावर्ती क्षेत्रका साना किसानले भने नेपाली मल नपाएर भारतबाट भित्रिएको अवैध मल प्रयोग गर्दै आएको बताए । खुला सीमा–नाकामा भारतबाट अवैध मलको तस्करी बढेको छ । कैलालीका किसानले बीउ र मलको मात्रै समस्या भोगिरहेका छैनन्, डिजेलको मूल्यवृद्धिले समेत मर्कामा परेका छन् । धनगढीका देवनारायण चौधरीले भने, ‘डिजेलको मूल्य बढेकाले किसान मर्कामा परेका छन् । खेत जोत्नेदेखि खेतमा पानी तान्नसमेत डिजेलको आवश्यकता पर्छ ।’ उनले १० हजार रुपैयाँको डिजेल खर्च हुने ठाउँमा अहिले १५ हजारको खर्चभार बेहोर्नुपरेको गुनासो गरे ।

प्रकाशित : असार ३, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चेपाङलाई रोपवेकै भर

हरिराम उप्रेती

भुम्लीचोक (गोरखा)– — मुग्लिन–मलेखु सडकका यात्रु तारमा झुन्डिएको बकेट तलमाथि गरेको देखेर अचम्म मान्छन् । तर यससँग जोडिएको चेपाङ परिवारको दु:ख उनीहरूलाई सायदै थाहा होला । गण्डकी गाउँपालिका–६ भुम्लीचोक, हिक्लुङका चेपाङ वर्षौंदेखि रोपवेबाट दैनिक उपभोग्य सामग्री ओसारिरहेका छन् ।

गण्डकी गाउँपालिका–६ भुम्लीचोक, हिक्लुङबाट रोपवेमा तरकारी बजार ल्याइँदै । तस्बिर : हरिराम

हिक्लुङबाट पृथ्वीराजमार्ग आउन २ घण्टा हिँड्नुपर्छ । सामान बोकेर उकालो लागे ४ घण्टा लाग्छ । त्यसैले स्थानीय बासिन्दा रोपवेबाटै उपभोग्य सामग्री ढुवानी गर्छन् । गाउँबाट कृषिउपज बजार लैजान्छन् । हिक्लुङ स्टेसनका बासु चेपाङले रोपवेको लठ्ठामा दुईचोटि मुंग्रो बजारेपछि तल्लो स्टेसनका पूर्णबहादुर चेपाङले इसारा बुझिहाले– अब माथिबाट तरकारी आउँदैछ । मुंग्राले लठ्ठामा फेरि तीनचोटि बजारेको इसारा हुन्छ– रोपवे बन्द गर्नुपर्छ ।

पूर्णबहादुरले रोपवे ‘ब्रेक’ लगाउँदै भने, ‘घिर्नीको मद्दतले चल्ने लठ्ठा एउटा काठले अड्याए रोकिन्छ । यसलाई हामी ब्रेक भन्छौं ।’ ६ सय १२ मिटर दूरीमा बस्ने बासु र पूर्णबहादुर झट्काकै इसारामा सामान ओसारपसार गर्छन् । १ सय २० घरधुरी चेपाङलाई रोपवेकै भर छ । सुरज चेपाङले गत सोमबार आफ्नो तरकारीको भारी रोपवेको माथिल्लो स्टेसनमा छाडे । अनि २ घण्टा हिँडेर धादिङस्थित रोराङको तल्लो स्टेसन आइपुगे । माथिल्लो स्टेसनमा छाडेको तरकारी भने पाँच मिनेटमै रोराङ आइपुगिसकेको थियो ।

‘तरकारी माथि नै संकलन हुन्छ अनि पालोअनुसार तल पठाउने हो,’ सुरजले भने । तल्लो स्टेसन झरेको तरकारी मलेखु, फिस्लिङ र मुग्लिनसम्मका बजारमा बिक्रीका लागि पुर्‍याइन्छ । रोपवे व्यवस्थित गर्न जलदेवी चेपाङ कृषि सहकारी गठन गरिएको छ । ‘प्रतिकिलो एक रुपैयाँ रोपवेलाई दिनुपर्छ,’ सहकारीका सचिवसमेत रहेका सुरजले भने, ‘त्यसलाई हामी रोपवे मर्मतसम्भार कोषमा राख्छौंं ।’ संकलित रकममध्ये भाग लगाएर ५० पैसा सहकारीले मर्मतका लागि राख्छ भने अर्को ५० पैसा अपरेटरले पाउँछन् ।

हिक्लुङका चेपाङ समुदायले वार्षिक १० लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्ने गरेको उनले बताए । तलबाट माथि जाने बकेटले पृथ्वी राजमार्गसँगैको बजारमा खरिद गरिएको उपभोग्य सामग्री लैजान्छ भने माथिबाट तल आउनेले तरकारी ल्याउँछ । ‘दुईवटा बकेट छन्, ब्यालेन्स मिलाउन भने जान्नुपर्छ,’ सुरजले भने, ‘ब्यालेन्स नमिले बकेटबीचमा अडकिन्छ ।’ माथिबाट आउने बकेटमा अनिवार्य ‘लोड’ हुनैपर्छ । तरकारी नहुँदा त्यसमा ढुंगा वा माटो राखेर तल पठाउने गरिएको छ । एकपटकमा ५० केजीसम्म सामान ओसार्न सकिन्छ ।

२०६६ चैतबाट सञ्चालित रोपवे जीर्ण बन्दै गएको तल्लो स्टेसनका अपरेटर पूर्णबहादुर बताउँछन् । ‘लठ्ठाको पोया एकपछि अर्को गर्दै चुँडिँदै गएको छ,’ उनले भने, ‘बनेदेखि अहिलेसम्म फेरेको छैन । यो वर्षको तरकारी ओसार्न पाउँछौं कि पाउँदैनौं भन्ने लाग्या छ ।’ रोपवे बाह्रै महिना बिहान ८ देखि साँझ ५ बजेसम्म चलाइने गरिएको छ ।

प्रकाशित : असार ३, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्