इन्टरनेट खर्च डेढ अर्ब

४० प्रतिशतभन्दा बढी ब्यान्डविथ युटयुबमा खर्च भइरहेको छ भने फेसबुकले दोस्रो स्थान लिएको छ
विजय तिमल्सिना

काठमाडौँ — नेपाल ल्याइएको इन्टरनेट ब्यान्डविथबापत गत वर्षभर डेढ अर्बभन्दा बढी रकम बाहिरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अघिल्लो वर्ष वैशाखदेखि चैतसम्ममा १ अर्ब ५८ करोड ४५ लाख रकम बाहिरिएको हो ।

इन्टरनेट खर्च डेढ अर्ब

ठूला दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसहित अन्य इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ भित्र्याएबापत यो रकम बाहिरिएको हो । तर, नेपाल भित्रिने इन्टरनेट ब्यान्डविथ युटयब र फेसबुक चलाउनमा बढी खपत हुने गरेको जानकारहरू बताउँछन् ।

नेपालमा सञ्चालित अधिकांश दूरसञ्चार सेवा प्रदायकले भारतबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्दै आएका छन् । दूरसञ्चार सेवाप्रदायकले ब्यान्डविथ र अन्य सेवाबापत पैसा विदेश पठाउँदा नेपाल दूरसञ्चार प्राधिकरणले सिफारिस लिनुपर्ने प्रावधान छ । १० हजार डलरभन्दा माथिको रकम तिर्दा मात्रै यस्तो सिफारिस लिनुपर्ने हुन्छ । यो तथ्यांकमा दूरसञ्चार सेवाप्रदायक र इन्टरनेट सेवा प्रदायकले तिरेको १० हजार डलरभन्दा कमको विवरण समावेश छैन ।

‘१० हजार डलरभन्दा बढी रकमको सिफारिस मात्रै हामीले गर्छौं,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, ‘त्योभन्दा कम रकम सेवा प्रदायक आफैंले तिर्छन् ।’

१० हजार डलरभन्दा कम रकम तिर्दा प्राधिकरणको सिफारिस नचाहिने भएकाले तिनको तथ्यांक नभएको प्रवक्ता अर्याल बताउँछन् ।

वल्र्डलिंकका सञ्चालक तथा इन्टरनेट सेवा प्रदायक एसोसिएसनका अध्यक्ष दिलीप अग्रवाल नेपालमा अधिकांश ब्यान्डविथ युटयुब र फेसबुकमा खपत हुने बताउँछन् । ‘हामीले हाम्रो प्रणालीमा गरेको अनुभवअनुसार ४० प्रतिशतभन्दा बढी ब्यान्डविथ युटयुबमा खर्च भइरहेको छ,’ उनले भने, ‘युटयुबपछि धेरै ब्यान्डविथ फेसबुकमा खपत हुन्छ ।’

नेपालमा सबैभन्दा धेरै ब्यान्डविथ वल्र्डलिंकले भित्र्याउँछ । कम्पनीले ५० जीबीपीएस ब्यान्डविथ भित्र्याउँदै आएको प्राधिकरणको तथ्यांक छ । योबाहेक दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३५ जीबीपीएस र एनसेलले करिब १७ जीबीपीएस ब्यान्डविथ भित्र्याउँदै आएको छ । नेपालमा १० भन्दा बढी संस्थाले इन्टरनेट ब्यान्डविथ भित्र्याउँदै आएका छन् । २०७३ सालमा भने इन्टरनेट ब्यान्डविथबापत १ अर्ब ३६ करोड ४३ लाख रुपैयाँ बाहिरिएको थियो ।

प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०७३/७४ को तथ्यांकअनुसार ब्यान्डविथबापत सबैभन्दा धेरै एनसेलले खर्चिएको थियो । तथ्यांकअनुसार उक्त आवमा एनसेलले ब्यान्डविथ र सोसँग सम्बन्धित सेवाबापत करिब ८३ करोड रुपैयाँको डलर सटही सिफारिस लिएको थियो । उक्त आवमा नेपाल टेलिकमले टेलिकमले ५५ करोड २९ लाखभन्दा बढी ब्यान्डविथ र त्यससँग सम्बन्धित सेवाबापत खर्चिएको थियो । आव २०७३/७४ मा वल्र्डलिंकले ब्यान्डविथ शुल्क तिर्न ३४ करोड १५ लाख रुपैयाँको सिफारिस लिएको थियो ।

प्राधिकरणले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्यांकअनुसार नेपालका ४७ प्रतिशतभन्दा बढी जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । इन्टरनेट प्रयोगकर्ताको अधिकांश हिस्सा डाटा इन्टरनेट प्रयोगकर्ताले ओगटेका छन् । प्राधिकरणले ५१२ केबीपीएस गतिभन्दा माथिको इन्टरनेटलाई ब्रोडब्यान्ड मान्दै आएको छ ।

नेपालमा २७ लाख बढीले तारसहितको द्रुत इन्टरनेट सेवा उपभोग गरिरहेको प्राधिकरणको तथ्यांक छ । तारसहितको एक इन्टरनेट कनेक्सनलाई करिब ५ जनाले प्रयोग गर्छन् भन्ने आधारमा यो तथ्यांक निकालिएको हो । यस्तै नेपालमा थ्रीजी प्रयोगकर्ता ९१ लाख र फोरजी प्रयोगकर्ता १४ लाखभन्दा बढी रहेको प्राधिकरणको तथ्यांक छ ।

नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ४० लाख २८ हजार र एनसेलका थ्रीजी प्रयोगकर्ता ५१ लाख ४१ रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ५९ हजार र एनसेलका फोरजी सेवाका प्रयोगकर्ता ८ लाख २२ हजार रहेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा धेरै ग्राहक वल्र्डलिंक कम्युनिकेसनका छन् । उसका ग्राहक चैतसम्ममा करिब १ लाख ९५ हजार पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट अनुमति लिएका २७ इन्टरनेट सेवा प्रदायकहरूको कुल ग्राहक ४ लाख १२ हजारभन्दा बढी छन् । यसमा नेपाल टेलिकमको एडीएसएल सेवाका ग्राहकहरू समावेश गरिएको छैन । प्राधिकरणका अनुसार टेलिकमका एडीएसएल सेवाका ग्राहक संख्या ९ लाख ७४ हजारभन्दा बढी छ ।

प्रकाशित : असार ४, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?