झापुटारमा सबस्टेसन तयार

प्रताप रानामगर

दमौली — तनहुँ जलविद्युत् आयोजनाको निर्माण अवधिभर आवश्यक पर्ने विद्युत् आपूर्तिका लागि ऋषिङ गाउँपालिका १ को झापुटारमा विद्युत् सबस्टेसन निर्माण गरिएको छ ।

झापुटारमा सबस्टेसन तयार

१० करोड रुपैयाँको लागतमा उक्त सब–स्टेसन निर्माण भएको साइट इन्चार्ज विदुर अधिकारीले बताए । ‘हाइड्रोपावरको टनेल, पावर हाउस खन्न, डयाम बनाउन, कंक्रिट उत्पादन गर्न बिजुली आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैले आयोजनाले छुट्टै सबस्टेसन निर्माण गरेको हो ।’ उक्त सबस्टेसनमार्फत आयोजनाका कर्मचारी र मजदुर आवासगृहमा पनि विद्युत् आपूर्ति हुने उनले बताए ।

विद्युत् प्राधिकरणको दमौली सबस्टेसनबाट झापुटार चार किमिको दूरीमा पर्छ । झापुटार सबस्टेसनबाट तनहुँ जलविद्युत् आयोजनाको पहुँच मार्ग क्षेत्रका पोलमा पनि बत्ती जडान गरिएको छ । चापाघाटदेखि सेती नदीको पुलसम्म ५० वटा र झापुटार क्षेत्रमा ६१ वटा सडक बत्ती जडान गरिएको आयोजनाले जनाएको छ । १४० मेगावाट क्षमताको हुने तनहुँ जलविद्युत् आयोजनाको मालिङमा विद्युत्गृह र दुलेपहरोमा बाँध निर्माण गरिने डिजाइनमा छ ।

दुलेपहराको बाँधदेखि १ हजार २ सय मिटरको सुरुङमार्फत दुइवटा टर्बाइन रहने विद्युत् गृहमा पानी खसालिनेछ । दुलेपहरोमा १ सय ४० मिटर आग्लो र २ सय १५ मिटर क्रेस्ट लम्बाइको बाँध बन्ने नक्सांकन तयार छ ।

व्यास नगरपालिकाको बेनीपाटन दुलेपहरामा बाँध निर्माण गरिनेछ । बाँधस्थलदेखि ऋषिङ र म्याग्दे गाउँपालिका हुँदै भिमाद नगरपालिकासम्मका क्षेत्रहरू आयोजनाको जलाशयबाट डुबान प्रभावित हुनेछन् । बाँधस्थलबाट भिमादसम्म १८ किमि लामो जलाशय निर्माण हुने प्राविधिकले जनाएका छन् ।

जाइकाको १८ अर्ब, एडीबीको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैंकको साढे ८ अर्ब र बाँकी नेपाल सरकारको गरी आयोजनाको लागत ५० अर्ब रहने अनुमान छ । ठेक्का सम्झौता भएको पाँच वर्षमा निर्माण पूरा गर्ने आयोजनाको लक्ष्य छ ।

प्रकाशित : असार ४, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?