कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्यमा खेलवाड गर्नेलाई छाडिन्न : मन्त्री

दूधमा सोडा

काठमाडौँ — कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दुग्ध पदार्थमा देखिएको मिसावटलगायतको विकृति अन्त्य नभएसम्म अनुगमन जारी रहने बताएका छन् ।

स्वास्थ्यमा खेलवाड गर्नेलाई छाडिन्न : मन्त्री

मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार प्रशोधित दूध उत्पादन गर्ने उद्यमी र सरोकारवालाहरूसँग सोमबार मन्त्रालयमा छलफल गर्दै मन्त्री खनालले भने, ‘अनुगमन जतिबेला जहाँ पनि हुन्छ । वर्षमा पचासौंपटक पनि अनुगमन हुन्छ,’ मन्त्री खनालले भने, ‘अनुगमन चर्चामा आउनका लागि मात्र होइन ।’ मन्त्रीले जनताको स्वास्थ्यमा खेलवाड गर्ने कसैलाई नछोडिने बताए ।

बैठकमा सहभागी व्यवसायीले सञ्चारकर्मीलाई सहभागी बनाएर गरिएको अनुगमनले नराम्रो सन्देश दिएको जिकिर गरेपछि मन्त्री खनालले भने, ‘केही मिडियाले केही बढाइचढाई गरेको पनि होलान् तर तपाईहरू उत्पादन राम्रो गर्नुस्, मिसावट नगर्नुस्, सरसफाइ र जनताको स्वास्थ्यको ख्याल गर्नुस् । त्यसो गर्दा मिडियासँग डराउनु पर्दैन ।’ उनले व्यवसायीहरूलाई भने, ‘जबसम्म तपाईहरू आफ्नो उद्योगमा उत्पादित दूध फयाक्ट्रीमै बसेर स्वच्छ मनले खान सक्नुहुन्न तबसम्म उपभोक्तालाई कन्भिन्स गर्न सकिन्न । राम्रो गरेर देखाउनुस्, प्रचार त्यहीँबाट हुन्छ । अनि बिक्री घटयो भनेर पनि चिन्ता गर्नु पर्दैन ।’

छलफलमा सहभागी नेपाल डेरीका सञ्चालक अरनिको राजभण्डारीले अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । उनले मिडियासहित अनुगमनमा जाँदा त्यसले राम्रो सन्देश नदिने दाबी गरे । ‘दूध भन्ने चिज त खानै नहुने रहेछ भन्ने परेको छ । त्यसैले मिडियाबिनै अनुगमन गरौं,’ उनले कच्चा दूधको मिसावट नाकामै चेकजाँच गरिनुपर्ने धारणा राखेका थिए । राजधानी डेरीका सञ्चालक राजकुमार दाहालले केही डेरी दर्ता नभई सञ्चालन भइरहेको बताए । करको दायारामा नआएका त्यस्ता डेरीले सस्तोमा दूध बिक्री गर्ने गरेकाले प्रशोधित दुग्ध डेरी उद्योगीहरूले त्यस्ता डेरीसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । ‘हामी कसरी निर्वाह गर्ने ? मिडियाले पनि हामीलाई मात्रै लखेटिरहने ?’ बैठकमा उनले भने ।

केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायण देवकोटाले विदेशबाट सस्तोमा आयात भइरहेको दूध पाउडर रोकिनुपर्ने बताए । सरकार स्वामित्वको दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले सरकारले छापा हानेपछि डीडीसीको दैनिक १० हजार लिटर दूध बिक्री घटेको बताए । किसान तहबाटै अनुगमन गरिनुपर्ने धारणा राख्दै न्यौपानेले धेरै दुग्ध सहकारीले बिहान र बेलुकीको दूध एकैपटक संकलन गर्ने भएकाले समस्या आएको बताए ।

प्रकाशित : असार ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?