१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गण्डकबाट सिँचाइ अनिश्चित

नेपाल र भारतबीचको गण्डक नहर सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ
शंकर आचार्य

पर्सा — भारतीय पक्षले मर्मत सम्भारको काम नसक्दा यस वर्ष पनि धान सिजनमा गण्डक नहरमा पानी आउने अनिश्चित बनेको छ । भारतमा अझै नहरको विभिन्न खण्डमा मर्मत सम्भार र निर्माण कार्य जारी नै रहेकाले भारतले पानी दिने/नदिने सम्बन्धमा अनिश्चितता भएको हो ।

गण्डकबाट सिँचाइ अनिश्चित

गत वर्ष भदौको पहिलो साता आएको बाढीसँगै गण्डक नहरको संरचनामा भारततर्फ भएको क्षतिको मर्मत सम्भार अझै सकिएको छैन । नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका निमित्त प्रमुख सुबोध कुशवाहाले भारतमा निर्माण कार्य नसकिएकाले हाल नै यस वर्ष निर्धारित तालिकाअनुसार नहरमा पानी आउने कुरा आफूले यकिन साथ भन्न नसक्ने बताए ।

‘भारतमा अझै २ ठाउँमा नहरमा जारी मर्मत कार्य सकिएको छैन, भारतीय पक्षले दिएको सूचनाअनुसार रामनगर नजिक क्रसिङ ड्रेनमा साइफन निर्माणको काम सकिएको छैन, त्यहाँ ३ खण्डमा साइफनको काम हुँदै छ,’ उनले भने, ‘भारतकै पिडारी चोकमा पुल बनाइँदै छ र त्यसको काम सम्पन्न भएको छैन तर भारतीय पक्षले असार १५ मा नहरमा पानी छाड्ने प्रतिबद्धता जनाएकाले हामी आशावादी छौं ।’

भारतले पानी छाड्ने कुरा साताअघि मात्र यकिन हुनेछ । यता नेपालमा वीरगन्ज–पथलैया सडक खण्डमा पनि ५ लेन सडक निर्माणका लागि मूल नहरमै दुवैतर्फ पुल निर्माणको काम सकिएको छैन भने हुलाकी सडकअन्तर्गत गंगोला खोलामा निर्माणाधीन पुल अझै निर्माणाधीन छ । तर, भारतले पानी छोडे यी दुवै स्थानमा रहेको अवरोध कार्यालयकै एक्साभेटर लगाएर पन्छाउने इन्जिनियर कुशवाहाले बताए ।

नहर मर्मत सम्भारमा जारी भारतकै ढिलासुस्तीका कारण यस वर्ष गहुँ सिजनमा पनि नहरमा पानी आउन सकेन । यसले नहरको पानीमा आश्रित किसानलाई ठूलो समस्या भयो । नेपाल र भारतबीचको गण्डक नहर सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ ।

गत वर्षको बाढीले नहरको भारतीय भूमिमा रहेको संरचनामा २ दर्जन बढी स्थानमा क्षति पुगेको थियो । नेपालतर्फ गण्डक नहरमा ३ दर्जन स्थानमा क्षति पुगेकामा करिब ४ महिनाको प्रयासपछि नेपालतर्फको नहरको संरचना मर्मत भइसकेको छ । भारतीय पक्षले भने लामो समय लगाएर आफ्नो तर्फको नहरको संरचना मर्मत गरिरहेको छ । भारतीय भूमि हुँदै नहरको पानी पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्छ ।

नेपालतर्फ गण्डक नहरको ४ दशकको इतिहासमा यस वर्ष सर्वाधिक ठूलो प्राकृतिक प्रकोपको मार र क्षति भएको थियो । नहर भएर बग्ने ओरिया, सिक्टा, गंगोल, सिक्टा, बंगरी, लालबकैया आदि खोलाले नहरमा बढी क्षति गरेका थिए । यी खोलाको पानीको जलस्तर बढेर नहरभन्दा माथिबाट बग्न थालेपछि नहरको किनार र सर्भिस सडकसमेत बगेका थिए ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । ८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिँचित गर्ने लक्ष्य थियो । तर, भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेगका केही गाउँमा मुस्किलले पानी पुग्छ । रौतहटसम्म पुग्दा नहरमा पानी सुकी सक्छ ।

भारतले आफूलाई पानी पुगेपछि मात्र नेपालतर्फ छाड्ने गरेको छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार नहरमा भारत सरकारले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो । तर, उसले नहरको इतिहासमा यति पानी नेपाललाई दिएको छैन ।

प्रकाशित : असार ५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?