कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा इलामको चिया

विप्लव भट्टराई

इलाम — छ वर्षअघि दार्जिलिङको चिया किनेर जापनमा बिक्री गर्ने योजना थियो जापानी नागरिक मएखवा थचुवाको । उति बेला भारत पाकिस्तानबीच कार्गिल क्षेत्रमा युद्ध चलिरहेकाले उनले दार्जिलिङको चियाको खासै अध्ययन गर्न पाएनन् ।

जापानमा इलामको चिया

त्यही बेला थचुवाले सुने इलाममा पनि दार्जिलिङकै गुणस्तरको चिया पाइन्छ भनेर ।

चियाको कारोबारकै लागि नेपाल भित्रिएका थचुवाले सुरुमा १६ किलो चिया इलामबाट खरिद गरे । यतिन्जेलसम्म जापानमा नेपाली चियाका पारखी रहेको उनलाई जानकारी छैन । ‘यो बेला कहीँ कतै पनि नेपाली चिया भनेर जापानका बजारमा भेटाएको थिइनँ,’ उनले भने, ‘पहिलोपटक नै यहाँको चिया धेरैले मन पराएकाले कारोबार अलिअलि गर्दै बढाउँदै लगें ।’

गएको वर्ष थचुवाले इलामबाट चार सय किलो चिया खरिद गरे । बर्सेनि जापानमा नेपाली चियाको बजार विस्तार गर्दै आएका उनले यो वर्ष अझ बढाउने योजना बनाएका छन् । चिया उत्पादनको मुख्य सिजन पारेर आएका उनी यति बेला इलामका चिया बगान र कारखाना चाहर्दै छन् ।

उनले नेपाली चियाको नयाँ बजार मात्र खोजिरहेका छैनन् । जापानको बजारमा इलाममा गुणस्तरीय चिया उत्पादन हुने पनि प्रचार गर्दै आएका छन् । जापानी बजारमा उनले यो चियाको प्याकिङ तयार पार्दा ‘फ्रम इलाम’ लेख्न छुटाएका छैनन् । ७ हजार ५ सय फुटको हिमालयन रेन्जको नेपाली चिया भनेर पनि नेपालको चियाको प्रवर्द्धन गर्ने खालको प्याकिङ उनको छ ।

‘यहाँको चिया गुणस्तरमा कम छैन,’ उनले थपे, ‘तर, अधिकतर जापानीलाई नेपालमा चिया उत्पादन हुन्छ भन्ने नै लागेको छैन ।’ जापानमा भारत र श्रीलंकाको चियाको खपत बढिरहेको भए पनि पछिल्लो समय नेपाली चियाका पारखी बढदै गएकाले आफ्नो व्यवसाय पनि फस्टाउँदै गएको उनले बताए ।

चियाको कारोबार गर्नुअघि म्यानपावर कम्पनीमा काम गर्दै आएका उनी अहिले नेपाली चियाको व्यपारमा मात्र केन्द्रित छन् । इलामको चियाको गुणस्तर राम्रो भएको प्रचार बढेसँगै काठमाडौंलगायत अन्यत्रको चियालाई पनि इलामको भन्दै बिक्री गरेको पाइएकाले यहाँको चिया बजारलाई असर पर्न सक्ने उनको भनाइ छ ।

पहिलोपटक आउँदा भेटेका इलाम टी हाउसका हरि गुरुङसँगको सहकार्यमा उनले हिमालयन सांग्रिला, आम्बोटे, सगरमाथा, सूर्योदयलगायत कारखानाको उत्पादन खरिद गरिरहेका छन् । पूर्ण अर्गानिक चियाको उत्पादनमा जोड दिँदै उनले गुणस्तरीय भए जापान नेपाली चियाको ठूलो बजार हुन सक्ने बताए ।

उनलाई इलामको चियाले यति प्रभावित पारेको छ कि आफैं बगान र कारखाना किनेर उत्पादनमा लाग्ने पनि सोच बनाउन थालेका छन् । एयर कार्गोबाट जापान चिया पुर्‍याउँदै आएका थचुवा अहिलेसम्म भन्सारलगायत प्रशासनिक काममा खासै अवरोध नपुगेको बताउँछन् ।

धेरथोर मात्रामा जापानमा पनि नेपाली चियाको बजार विस्तार हुँदै गएको अवस्थामा थचुवाको निरन्तर प्रयास सराहनीय छ । कलेज पढदादेखि चिया पिउने लत लागेका उनले गुणस्तरीय चियालाई ग्यास बाहिर नजाने गरी ठूलो प्याकिङ गरेर लैजान्छन् । जापानमा लगेर त्यहाँको मागअनुसार ससाना प्याक बनाएर बिक्री गर्ने गरेका छन् ।

प्रकाशित : असार ६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?