२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रिमियमको सेयरमा संस्थालाई बाटो खुला

काठमाडौँ — प्रिमियम मूल्यमा जारी भएको सेयरमा संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने भएका छन् । ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०७४’ संशोधन गरी धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो । 

प्रिमियमको सेयरमा संस्थालाई बाटो खुला

‘प्रिमियम मूल्यसहित जारी गरिएको सेयर भएमा वा विवरणपत्रमा सर्वसाधारणलाई निष्कासन गरिएको समयावधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा संगठित संस्था वा प्रचलित कानुनबमोजिम स्थापना भएका संस्थाले त्यस्तो सेयर खरिद गर्न सक्ने’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पछिल्लो समयमा प्रिमियम मूल्यमा जारी भएका थप निष्कासनमा अपेक्षाअनुसार आवेदन नपरेपछि बोर्डले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था पनि प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्राथमिक निष्कासनहरूमा संस्था वा कम्पनीले लगानी गर्न सक्नेछन् ।


तर, बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गर्नुपर्ने न्यूनतम ३० प्रतिशत सेयरको हकमा भने यो व्यवस्था लागू हुने छैन ।


बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा संगठित संस्थाले चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्ने र त्यो सेयर सुरुमा प्राकृतिक व्यक्ति (सर्वसाधारण लगानीकर्ता) लाई बिक्री गर्नुपर्ने व्यवस्था छ । यसरी बिक्री गर्दा बिक्री नभएको सेयर अन्य फर्म, कम्पनी वा संस्थालाई बिक्री गर्न सकिने व्यवस्था बाफियामा छ ।


यही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई छुट्टयाएको ३० प्रतिशत प्रिमियममा जारी गरे पनि सुरुमा संस्थाले खरिद गर्न पाउने छैनन् । तर, थप निष्कासन (एफपीओ) को हकमा भने यो व्यवस्थाले बाधा पार्ने छैन । यसको अर्थ नेपाल बैंकले जारी गर्ने एफपीओमा संस्थाले पनि सेयर खरिद गर्न पाउनेछन् भन्ने हो ।


यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनको खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा पनि हटाइएको छ । यसअघि दरखास्त दिन सकिने अधिकतम सीमा बढीमा निष्कासित कित्ताको ०.५ प्रतिशत थियो ।


नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको सार्वजनिक निष्कासनको खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा कम्पनी आफैंले तोक्न सक्नेछ । ‘धितोपत्रको सार्वजनिक निष्कासनको खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भएबमोजिम हुनेछ,’ संशोधित निर्देशिकामा भनिएको छ ।

प्रकाशित : असार ६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?