१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्राधिकरणको खर्चमा उद्योगलाई फिडर

भूषण यादव

वीरगन्ज — पर्सा बारा औद्योगिक करिडोरका दुई उद्योगलाई विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले आफ्नै खर्चमा ‘सिंगल फिडर’ निर्माण गरिदिएको पाइएको छ ।

प्राधिकरणको खर्चमा उद्योगलाई फिडर

उद्योगले फिडर निर्माणका लागि आफैंले खर्च गर्नुपर्ने प्रावधान छ । दुईवटा उद्योगलाई फिडर निर्माण गरिदिँदा करिब ६० लाख रुपैयाँ घाटा भएको प्राविधिकले जनाएका छन् । एउटा उद्योगले मात्र सिंगल फिडर प्रयोग गरेमा दोब्बर महसुल लाग्ने भएकाले उक्त फिडरमा अर्को उद्योगलाई पनि जोडिदिएको छ । लोड धान्न नसकेर अहिले ती उद्योगमा ट्रिपिङको समस्या देखिएको छ ।

पर्साको छातापिपरास्थित नारायणी स्ट्रिप्स र शुभश्री जगदम्बा सिमेन्टका लागि सिंगल फिडर निर्माण भएको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए । स्ट्रिप्सलाई नारायणी फिडर र सिमेन्ट उद्योगलाई चोर्नी फिडर निर्माण गरिएको उनले जानकारी दिए । ‘उद्योगका लगानीमा निर्माण गरिनुपर्ने फिडर विद्युत् प्राधिकरणकै खर्चमा बनाइएको रहेछ,’ कान्तिपुरसँग उनले भने, ‘थप छानबिनका लागि माथिल्लो निकायलाई पत्राचार गरेको छु ।’ दोहोरो शुल्कबाट जोगाउन नारायणी स्ट्रिप्समा मारुती पेपर र सिमेन्टको फिडरमा नजिकैको एउटा मैदा उद्योगलाई ग्राहक बनाइएको छ । प्राधिकरण स्रोतका अनुसार यसअघिका कार्यालय प्रमुख सरुवा हुनु अगावै यी दुई उद्योगलाई सिंगल फिडर निर्माण गरेका हुन् ।

विद्युत् प्राधिकरणको विद्युत् वितरण विनियमावलीमा २०० केभीए वा सोभन्दा बढी क्षमताको ट्रान्सफर्मर जडान गर्ने ग्राहककामा एचटी मिटरिङ युनिट जडान गनुपर्ने उल्लेख छ । ‘तर, वीरगन्ज टयानिङ उद्योगमा २५० केभीएको ट्रान्सफर्मर जडान भए पनि उक्त उद्योगमा मिटरिङ युनिट हालसम्म जडान गरिएको रहेनछ,’ वीरगन्ज वितरण केन्द्रका प्रमुख ठाकुरले भने, ‘दुई सातादेखि उक्त उद्योगको लाइन काटेर छुट बिलको अनुसन्धान थालिएको छ ।’ यसैगरी छातापिपरामै रहेको बोरा निर्माण गर्ने त्रिवेणी सिम्पेक्स उद्योगमा प्रक्रिया नपुर्‍याई १ हजार ६ सय ५० केभीएको ट्रान्सफर्मर जडान गरिएको छ । ‘मिटरिङ युनिट, प्राधिकरणको बिल र टेस्ट रिपोर्ट पनि छ,’ ठाकुरले भने, ‘तर, यसअघि १ हजार केभीए जडान भएको उक्त उद्योगमा एक्कासि १ हजार ६ सय ५० केभीएको ट्रान्सफर्मर कहिले जडान भयो, त्यो जानकारी भएन, यो पनि अनुसन्धानकै क्रममा छ ।’

प्राधिकरणमा शुद्धीकरण अभियान
तीन महिनाअघि मात्र वीरगन्ज वितरण केन्द्रमा कार्यालय प्रमुख भई आएका मुनीन्द्र ठाकुरले टीओडी मिटर प्रयोग गर्ने १ सय ५८ उद्योगमा अनुगमन गरी १ करोड ८७ लाख रुपैयाँ असुल गरेका छन् ।

करिडोरमा करिब ७ सय उद्योगले टीओडी मिटर जडान गरेका छन् । विभिन्न कारणले बिलिङ छुट भएका उद्योगबाट रकम असुल गरिएको हो । ठूला उद्योगमा जडान गरिएको टीओडी मिटरको प्राविधिक कारणले गर्दा मिटरले वास्तविक खपत नदेखाई बिलिङ छुट भएमा त्यस्तो छुट खपत युनिट र डिमान्ड चार्जबापत मिटरको डाउनलोड डाटा विश्लेषण गर्दा यकिन भएअनुसारको रकम छुट बिल गरिने व्यवस्था छ ।

प्रकाशित : असार ७, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?