कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ग्रिसलाई ऋण तिर्न समय थप

एजेन्सीहरू

काठमाडौँ — युरोजोन मुलुकहरूले ग्रिसलाई ऋण तिर्न थप समय दिन सहमत भएका छन् । ग्रिसलाई ऋणका लागि राहत दिने यो सहमति लामो समयपछि भएको हो । यो सहमतिलाई विश्लेषकहरूले ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । सहमतिपछि ग्रिसलाई ८५ अर्ब ऋण तिर्न थप समय प्राप्त भएको छ ।

ग्रिसलाई ऋण तिर्न समय थप

ग्रिसका अर्थमन्त्री यूक्लिड साकालोटोसले यो सहमतिलाई मुलुकका लागि नयाँ अवसर भएको बताए । युरोपियन युनियनका आर्थिक मामिला प्रमुख पिरे मस्कोभिसीले यो सहमतिबाट ग्रिसको आर्थिक संकट अन्त्य हुने जनाए ।

सहमतिअनुसार युरोजोनका देशहरूले ग्रिसलाई १५ अर्ब युरो सहायतास्वरूप प्रदान गर्नेछन् । ग्रिसले ऋण तिर्ने अवधि अगामी अगस्टमा सकिँदै थियो ।

त्यहाँको बजेट घाटाका कारण संकट व्यहोरेपछि सन् २०१० यता ऋणका लागि यस्ता तीन भाका तोकिसकिएको थियो । आर्थिक संकटको कारण देशको युरोजोनमा सदस्यतामाथि समेत प्रश्न उठ्दै आएको थियो । युरोजोनको भविष्यमाथि समेत प्रश्न तेर्सिएको थियो । हालको अवस्थाअनुसार आफ्नो अर्थतन्त्रको करिब दोब्बर बढी ऋण तिर्नुपर्ने हुन्छ । उसको ऋण तिर्ने म्याद पछिल्लो सहमतिले १० वर्ष धकेलिएको छ । यसले ग्रिसलाई राहत प्राप्त हुनेछ ।

ग्रिसले पछिल्ला ८ वर्षमा डेढ दर्जन देशबाट २ सय ७५ अर्ब युरो बराबरको सहायता लिइसकेको छ । अन्तर्राष्ट्रिय ऋणका कारण ग्रिसले पछिल्ला वर्षमा आफ्नो बजेटमा धेरै कडाइ गरेको छ, जसका कारण त्यहाँका सर्वसाधारण सरकारको चर्को आर्थिक निगरानीमा परेका छन् । सरकारले अर्थतन्त्रमा कडाइ गर्दै निगरानीका लागि जनता र व्यापारीलाई कार्डमार्फत कारोबार गर्न प्रोत्साहित गरिरहेको छ । यही नीतिका कारण सरकारले राजस्व संकलनमा उल्लेख्य प्रगति पनि गर्दै छ ।

ग्रिसले थप एक दशक ऋण तिर्ने समयावधि पाए पनि उसले अन्य देशको अनुशासनमा आफ्ना आर्थिक नीतिहरू निर्माण गर्नुपर्ने हुन्छ ।

सन् २००९ देखि आर्थिक संकट व्यहोरेको ग्रिसले अन्तर्राष्ट्रिय दाताको सहयोगमा केही वर्षयता सुधार गर्दै आएको छ । उसले अर्थतन्त्र सुधार्न गरेको प्रयासलाई मध्यनगर गर्दै युरोजोनका देशहरूले सहायतासमेत दिँदै आएका हुन् ।

ठूलो ऋणका कारण अन्य देशबाट पाएको सहायताका कारण पनि ग्रिसको अर्थतन्त्र उकालो लाग्न सकेको छैन । सन् २०१० यता आर्थिक संकट चरम अवस्थामा पुगेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपियन केन्द्रीय बैंक र युरोपियन कमिसनले ग्रिसलाई सहायता रकम उपलब्ध गराउँदै आएका थिए ।

यद्यपि पछिल्लोपटक भएको सहमतिमा अन्तर्राष्ट्रिय मुद्रा कोष सहभागी भएन । कोषले ग्रिस र अन्य युरोजोनका देशबीच भएको सहमतिलाई स्वागत गरेको छ ।

प्रकाशित : असार ९, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?