१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दूधमा प्रदेश १ आत्मनिर्भर

मोरङ — प्रदेश १ दूधमा आत्मनिर्भर बनेको छ । यहाँ आवश्यकताभन्दा १ लाख ५ हजार ५ सय ५ दशमलव ८३५ टन दूध बढी उत्पादन भइरहेको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

दूधमा प्रदेश १ आत्मनिर्भर

मन्त्रालयका पशुपन्छी महाशाखा प्रमुख अशोककुमार सिंहले प्रदेश १ मा वार्षिक ५ लाख ४९ हजार ७ सय ५१ टन दूध उत्पादन भइरहेको बताए । ‘आवश्यकताभन्दा बढी दूध उत्पादन भएपछि मिल्क होली डेको अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘दुग्ध विकास संस्थानअन्तर्गतको विराटनगर दूध परियोजनाले दैनिक करिब ५० हजार लिटर दूध खपत गरिरहेको छ भने निजी डेरीहरूको यकिन तथ्यांक आउन बाँकी छ ।’

उनले अहिलेको सिजन बढीभन्दा बढी दूध उत्पादन हुने भएकाले पनि मिल्क होली डेको अवस्था सिर्जना भएको बताए । प्रमुख सिंहले पशु नश्ल सुधार कार्यक्रम र घाँसखेती विस्तारका साथै उन्नत जातको गाईपालनतर्फ किसान आकर्षित हुँदै गएकाले दूध उत्पादन बढेको बताए ।

‘दूध उत्पादन बढे पनि यसको खपत नबढ्दा समस्या भएको छ,’ उनले भने, ‘दुग्ध विकास संस्थान एकातिर बर्सेनि ४ अर्ब रुपैयाँ बराबरको ५ सय टन पाउडर दूध विदेशबाट खरिद गरेर ल्याउन बाध्य छ भने अर्कोतिर किसानले उत्पादन गरेको दूध सडकमा बगाउने बाध्यात्मक अवस्था छ ।’ बढी दूध उत्पादन गर्ने सिजनमा पाउडर दूध उत्पादन गर्नुको विकल्प नभएको उनले सुनाए ।

सरकारले विराटनगर दूध वितरण आयोजनास्थित पाउडर दूध कारखानालाई ३० हजारबाट ७० हजार लिटर दूध दैनिक पाउडर बनाउने क्षमतामा विस्तार गरे पनि सञ्चालनमा आउन नसकेको उनले सुनाए । दुग्ध विकास संस्थानले यसको व्यवस्थापन र सञ्चालनमा तत्काल ध्यान पुर्‍याए प्रदेश १ मा ५/७ वर्षका लागि मिल्क होली डेको समस्या समाधान हुने उनी बताउँछन् ।

यसको विकल्पमा प्रदेश सरकारले पब्लिक प्राइभेट पार्टनरसिपमा पाउडर दूध कारखाना स्थापनाका लागि १० करोड आउँदो आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको बताए । आयोजनाअन्तर्गत २०५२ मा डेनमार्क सरकारको सहयोगमा प्रतिदिन ३० हजार लिटर क्षमताको स्थापना भएको पाउडर दूध प्लान्टको ११ करोड लागतमा प्रतिदिन ७० हजार लिटर दूधको पाउडर बनाउने क्षमता वृद्धि गरे पनि सञ्चालनमा आउन सकेको छैन । क्षमता विस्तारका लागि दुग्ध विकास संस्थानले ३ करोड र सरकारले ८ करोड लगानी गरे पनि प्रतिफल आउन सकेको छैन । सर्वसाधारण किसानको दूध खरिद गर्ने सर्तमा सरकारले क्षमता विस्तारका लागि लगानी गरेको हो ।

यस्तै पाउडर दूध प्लान्टपछि स्थापना भएको भूस बोइलरले उडाएको खरानीले स्थानीयवासी हैरान भएका छन् । बोइलरको धूलो र आयोजनाको दुर्गन्धले स्थानीयवासी सास्ती बेहोर्न बाध्य छन् । आयोजनाको पश्चिमपट्टिको बस्तीमा धूलो र दुर्गन्धले एक छिन कोठाबाहिर बस्न नसकिने भएको स्थानीय मञ्जु खड्काले गुनासो पोखिन् ।

विराटनगर दूध परियोजना प्रमुख नीलकण्ठ गौतमले यहाँ दैनिक ८० हजार लिटर दूध उत्पादन भइरहेको तर त्यति धेरै दूध खरिद गर्न नसकेको स्विकारे । ‘इलामको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, बिबल्याँटे, पुवाखोला, शान्तिडाँडामा चिलिङ भ्याट राखेर करिब २९ हजार ५ सय लिटर दूध किसानबाट दैनिक खरिद गर्दै आएका छौं,’ प्रमुख गौतमले भने, ‘धनकुटाको हिले, तेह्रथुमको चित्रे र पाँचथरको देउरालीमा चिलिङ भ्याट राखेर किसानबाट १७ हजार ५ सय लिटर र झापा, मोरङ, सुनसरी र सप्तरीको सहरकारीबाट ५ हजार लिटर गरी कुल ४७ हजार लिटर दूध खरिद गर्दै आएका छौं ।’

दैनिक खरिद गरेको दूधमध्ये १० हजार लिटरको प्रशोधित दूध तथा दूधजन्य पदार्थ विराटनगर, इटहरी, धरान र इनरुवाको उपभोक्ताका लागि बिक्री वितरण र बाँकी ३७ हजार लिटरको पाउडर बनाउँदै आएको उनले बताए ।

विराटनगर दूध वितरण आयोजनाले प्रशोधित दूध, दही, घिउ, मख्खन, पनिर, आइस्क्रिम, रसभरी र लालमोहन उत्पादन गर्दै आएको छ । प्रमुख गौतमले संस्थानले किसानको दूध खरिद गर्दा गाई दूधमा फयाट हेरेर सरदर ४०/४२ र भैंसीको दूध ५०/५५ रुपैयाँ प्रतिलिटरको दरमा खरिद गर्दै आएको बताए । आयोजनाले प्रतिलिटर ८६ र ७० रुपैयाँको दुई किसिमको प्रशोधित दूध, १ सय १० रुपैयाँ प्रतिकिलो दही, ५ सय ८० रुपैयाँ प्रतिकिलो पनिर उपभोक्तालाई बिक्री गर्दै आएको उनले बताए ।

प्रकाशित : असार १०, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?