कारोबारमा बैंकिङको हिस्सा ४० प्रतिशत

काठमाडौँ — यो साता कुल कारोबारमा वाणिज्य बैंक समूहको हिस्सा करिब सवा ४१ प्रतिशत छ । गत साताको तुलनामा यो करिब ३ प्रतिशत विन्दुले बढी हो । कुल कारोबारमा गत साता बैंकिङ समूहले ३८.२७ प्रतिशत र अघिल्लो साता ३२.८२ प्रतिशत हिस्सा ओगटेको थियो । यसको अर्थ वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको भन्ने हो ।

कारोबारमा बैंकिङको हिस्सा ४० प्रतिशत

सामान्यतया कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४५ देखि ५० प्रतिशतबीच रहँदै आएको थियो । करिब चार साताअघि उक्त समूहको कारोबार हिस्सा घटेर २९ प्रतिशतसम्म झरेको थियो । त्यतिबेला बिमा समूहको कारोबार हिस्सा बढेकाले बैंकिङ समूहको अंश घटेको थियो । कुल करोबारमा बैंकिङ समूहको हिस्सा २९ प्रतिशत रहँदा बिमा समूहको हिस्सा २४ प्रतिशत पुगेको थियो । त्यतिबेला बिमा कम्पनीहरूको सेयर मूल्य बढदो क्रममा हुनुका साथै कम्पनीहरूले धमाधम लाभांश घोषणा गरेका थिए ।

अहिले त्यो अवस्था छैन । यसकारण लगानीकर्ता फेरि बिस्तारै वाणिज्य बैंकहरूमै फर्किन थालेका छन् । यही कारण कुल कारोबारमा बैंकिङ समूहको हिस्सा पनि फेरि बढेर पुरानै लयमा फर्किन थालेको छ । हाल केही बैंकहरूको हकप्रद र बोनस सेयर आउनु पनि लगानीकर्ताको आकर्षण बढ्नुको एक कारण भएको जानकारहरू बताउँछन् ।

यो साता कुल सेयर कारोबारमा बिमा समूहको हिस्सा १४.१७ प्रतिशत छ । गत साता यो समूहको कारोबार हिस्सा १८.७८ प्रतिशत थियो । बाणिज्य बैंक समूहको हिस्सा बढेकाले कुल कारोबारमा यो समूहको अंश घटेको हो । यसैगरी, यो साता लघुवित्त समूहको हिस्सा साढे १७ प्रतिशत, संस्थापक सेयरको ७.४८, विकास बैंकको ९.१५ र जलविद्युतको ४.७८ प्रतिशत छ ।

साप्ताहिक रूपमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब २९ (२८.८४) अंकले घट्यो । तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा यस्तो परिसूचक १४.७७ अंकले मात्र घटेको देखिन्छ । आइतबार १ हजार २ सय ३३.२३ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार २ सय १८.४६ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।

यो साता नेप्सेमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ३४.७२ प्रतिशतले कम हो । १७ कजार २ सय २८ कारोबारबाट १ सय ९० कम्पनीको ४९ लाख ६१ हजार १ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा करिब सवा करोड रुपैयाँ परिचालन भएको हो । गत साता २३ हजार ३ सय ६८ कारोबारबाट ४८ लाख ६८ हजार ७० कित्ता सेयर खरिद–बिक्रीमा १ अर्ब ७२ करोड ५ रुपैयाँ परिचालन भएको थियो ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेको कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.०६ अंकले घट्यो । व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक यो साता २.३२ अंकले ऋणात्मक रह्यो । यो साता कारोबार रकम (७ करोड ३३ लाख ६० हजार रुपैयाँ) का आधारमा नेपाल बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (२ लाख ६९ हजार कित्ता) का आधारमा मेगा बैंक सबैभन्दा अघि देखिन्छ । कारोबार संख्या (१ ह्जार ३ सय ९६ वटा) का आधारमा उन्नती लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

साप्ताहिक कारोबारमा सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । तीमध्ये बिमा, होटल, जलविद्युत् समूहका लगानीकर्ताको सम्पत्ति केही धेरैले घट्यो । साताभरको कारोबारमा बिमा समूहको परिसूचक १ सय ७७.२८, होटलको ४६.४७, जलविद्युतको ४०.८४, उत्पादन तथा प्रशोधन ३९.४१, विकास बैंक करिब ३७ र बैंकिङको २५ अंकले ओरालो लागे । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रकाशित : असार १०, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?