कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाख्राको चिजबाट मनग्य आम्दानी

प्रताप विष्ट

हेटाैंडा — धन कमाउन कोही विदेश जान्छन् । कोही गाउँ छाडेर सहर पस्छन् । तर, मकवानपुरका एक युवाले गाउँमा नै बसेर बाख्राको दूधबाट चीज उत्पादन गरेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

बाख्राको चिजबाट मनग्य आम्दानी

आम्दानीको हिसाबले उनलाई खाडी मुलुकको कुरै छाडौं अमेरिका र बेलायत नै यही छ । बाख्राको दूधबाट चिज उत्पादन गर्नुअघि बिदेसिने सुरमा रहेका थाहा नपा–९ का अशोकसिंह ठकुरीले उत्पादन गरेका बाख्राको चिज अहिले काठमाडौंका २० भन्दा बढी होटल र रेस्टुराँहरूमा खपत हुने गरेको छ । मागअनुसार उनले पुर्‍याउन सकेका छैनन् ।

विशेषगरी फ्रेन्चहरू वस्ने होटलहरूमा बाख्राको चिज बढी खपत हुने गरेको ठकुरीले बताए । फ्रेन्चहरू बाख्राको दूधबाट उत्पादित चीज खान मन पराउँछन् । १५ वर्षदेखि ठकुरीले चित्लाङ ताकाटारमा चिज उत्पादन केन्द्र स्थापना गरेर चिज उत्पादन गर्दै आएका छन् । चिज उत्पादन गर्न उनले उन्नत जातका ९५ वटा बाख्रा पालेका छन् । आफ्नो बाख्राको दूधले मात्र चिज उत्पादन गर्न नपुग्ने भएकाले गाउँलेहरूसँग पनि उनले बाख्राको दूध खरिद गर्ने गरेका छन ।

बाख्राको दूध प्रतिलिटर ६० रुपैयाँमा खरिद गर्ने गरेका छन् । चिज उत्पादन गर्न उनले दैनिक ५० देखि ५५ लिटर दूध खरिद गर्दै आएका छन् । ५ लिटर दूधबाट १ केजी चिज उत्पादन हुने गर्छ । बाख्रापालन र चिज उत्पादनका लागि उनले ६ जनालाई रोजगारी दिएका छन् । फ्रान्सको सहयोगमा २०६० सालमा स्थापना गरिएको बाख्राको चिज उत्पादन केन्द्रले विगत एक वर्षदेखि दैनिक १० केजीभन्दा बढी चिज उत्पादन गर्न थालेको छ । उत्पादित चिज काठमाडौंका ठूलाठूला होटलमा बिक्री गर्ने गरेको छ । बाख्राको दूधको चिज काठमाडौंका ठूलाठूला होटलहरूमा माग छ । ठकुरीले काठमाडौंको जमलमा बिक्री केन्द्र राखेका छन् । चित्लाङमा उत्पादन गरिएको बाख्राको दूधबाट उत्पादन गरेको नरम र कडा खालका दुई किसिमका चिज सबै राजधानी पठाउने गरेका छन् । चिजको प्रतिकेजी १ हजार ९ सयदेखि २ हजार २ सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

राजधानीसँग जोडिएको चित्लाङस्थित चिज उत्पादन केन्द्रको अवलोकन र चिज खरिद गर्न काठमाडांै आएका अधिकांश फ्रान्सेलीहरू यहाँ आउने गरेका छन् । आएका विदेशीहरूलाई राख्नका लागि उनले आधुनिक घर पनि निर्माण गरेका छन् । छोराछोरीलाई काठमाडांै राखेर पढाएका छन् । गाउँमा अहिले उनी पौरखी युवाको रूपमा चिनिन्छन् । जाँगर भयो भने गाउँमै बसेर मासिक लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्न सकिन्छ ठकुरीले भने, ‘आम्दानी गर्न विदेश जान पर्दैन, जाँगर भए यी हुन्छ । उत्पादित बाख्राको दूधको चिज अहिले गाउँमा पनि खपत हुने गरेको छ । चित्लाङ घुम्न आउने स्वदेशी एवं विदेशी पर्यटकहरूले बाख्राका दूधको चिज खरिद लैजाने गरेका छन् ।

दैनिक २ केजीसम्म बाख्राको दूधको चीज गाउँमै बिक्री हुन्छ ठकुरीले भने । बाहिरबाट उनी उन्नत जातको बाख्रा ल्याउन तरखरमा छन् ।

नेपालमा पहिलो पटक स्थापना गरेको बाख्राको चिज उत्पादन केन्दले ठकुरीले मात्र आम्दानी गरेका छैनन् । गाउँलेहरूको आयआर्जनमा वृद्धि भएको छ । बाख्राको दूध बिक्री गरेर उनीहरूको आयआर्जनमा वृद्धि भएको हो । स्थानीयवासी हरिकृष्ण लामिछानेले बाख्राको दूध बिक्री हुने भएकाले गाई बिक्री गरेर दुधालु बाख्रा पाल्न थालेको बताए ।

२०४६ सालको परिवर्तनपछि जिल्ला विकास समितिका सदस्यसमेत भइसकेका ठकुरी एक गैरसरकारी संस्थाको सहयोगमा फान्समा गएर बाख्राको दूधबाट चिज बनाउने तरिका सिकेर आएका हुन् । फ्रान्समा सिकेको तरिकालाई व्यवहारमा उतार्न सुरुमा १२ वटा दुधालु बाख्रा पालेर चिज उत्पादन केन्द्र स्थापना गरेका हुन् । बाख्राले पाठी पायो भने ठकुरीले घरमा राखेर पाल्ने गर्छन् । बोका पायो भने चार सातापछि अरूलाई नै पाल्न दिने गरेका छन् ।

प्रकाशित : असार १०, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?