१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

केराखेतीमा प्रविधिको प्रयोग बढ्दै

कृषकको पाना
भवानी भट्ट

कञ्चनपुर — दुई दशकअघि केराखेती सुरु गर्दा कञ्चनपुरमा भारतबाट बिरुवा ल्याउनुपथ्र्याे । यहाँका कृषकले हरियाणासम्म पुगेर पनि बिरुवा ल्याए । त्यसपछि बिस्तारै गानो प्रविधिको सुरुआत भयो । राम्रो बिरुवाको गानोबाट थप बिरुवा उत्पादन गरी खेती विस्तार थालियो ।

केराखेतीमा प्रविधिको प्रयोग बढ्दै

अहिले अवस्था फेरिएको छ । टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उत्पादन हुन थालेको छ । यसले उत्पादन वृद्धिसँगै रोगकिराको प्रकोप कम गर्ने र कृषकहरूले बिरुवा खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । ‘यो वर्ष मात्रै कञ्चनपुरमा टिस्यु कल्चरबाट डेढ लाखभन्दा बढी बिरुवा उत्पादन गरिएका छन्,’ केरा उत्पादक कृषक कर्मसिंह रानाले भने, ‘यसले उत्पादन वृद्धिसँगै कृषकहरूको लागतसमेत घटाएको छ ।’ उनले पनि गत वर्षदेखि नर्सरी स्थापना गरी टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन सुरु गरेका हुन् ।

यतिबेला कञ्चनपुरमा करिब आधा दर्जन टिस्युकल्चर प्रविधिका नर्सरी स्थापना भएका छन् । ती सबैले १०/१५ हजारदेखि १ लाखसम्म बिरुवा उत्पादन गर्छन् । उन्नत जात र आधुनिक प्रविधिबाट उत्पादन गरिएका बिरुवाहरू सहजै पाइन थालेपछि कृषकको आकर्षण बढेको छ । बिरुवा उत्पादनमा मात्रै होइन केराखेतीमा समेत आधुनिक प्रविधि भित्रिएको हो ।

जिल्लामै पहिलो पटक भीमदत्त नगरपालिका ३ नौलाखेतमा थोपा सिँचाइ प्रविधिबाट खेती सुरु गरिएको छ । दुई दशकदेखि केराखेतीमा लागेका कृषक पूर्णसिंह साउदले ५ बिघा जमिन भाडामा लिएर २० लाखको लगानीमा थोपा सिँचाइ प्रविधिबाट केरा लगाएका हुन् । यसैगरी पुनर्वास नगरपालिका २ का रामप्रसाद सुवेदीले पनि यसै वर्षदेखि थोपा सिँचाइ प्रविधिको सुरुवात गरेका छन् । लामो समयदेखि केराखेती गर्दै आएका उनले यस वर्षदेखि अढाइ बिघामा उक्त प्रविधिको सुरुआत गरेका हुन् ।

‘यसले उत्पादन बढाउँछ भने मजदुर र सिँचाइ खर्च घटाउँछ,’ साउदले भने, ‘सुरुमा लगानी बढी भए पनि औसतमा खर्च हुने लगानी भने कम नै छ ।’ यो प्रविधि सानो परिमाणमा हुने खेतीका लागि भने बढी खर्चिलो हुने देखिन्छ । साउदले भीमदत्त नगरपालिका र इलम हेल्भेटासको सहयोगमा उक्र प्रविधि सुरु गरेका हुन् ।

सामान्य तरिकाबाट गरिने खेतीबाट औसतमा प्रतिबोट १२/१४ दर्जन केरा उत्पादन हुन्छ । थोपा सिँचाइ प्रविधिबाट गरिने खेतीमा २०/२२ दर्जनसम्म उत्पादन गर्न सकिने साउद बताउँछन् । ‘खेतभरिमा एकनासको सिँचाइ, मलखाद र भिटामिन हाल्न सकिन्छ,’ उनले भने, ‘एकनासले बिरुवाको वृद्धि हुन्छ र उत्पादन पनि एकै समयमा दिन्छ ।’ उनले ५ बिघामा १० हजारभन्दा बढी बिरुवा रोपेका छन् । थप ५ बिघामा यो प्रविधिबाट खेती विस्तार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

कञ्चनपुरमा अहिले करिब साढे ४ सय हेक्टरमा केराखेती भइरहेको छ । करिब ७ सय कृषकले सानो–ठूलो परिमाणमा केरा लगाएका छन् । स्थानीय तहहरूले पकेट क्षेत्रका रूपमा केरालगायत अन्य खेतीको विस्तारमा जोड दिनुपर्ने कृषकहरू बताउँछन् । स्थानीय तहबाट प्राप्त हुने अनुदान पनि वास्तविक कृषकले पाउनुपर्ने उनीहरूको माग छ । ‘अहिलेसम्म वास्तविक कृषकले अनुदान पाएको छैन,’ साउदले भने ।

प्रकाशित : असार १०, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?