१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छिमेकी र मित्रराष्ट्रसँग भएका सहमति: ‘सम्झौता कार्यान्वयन तहमा’

सिको नेपाल भ्रमण छिट्टै
छेन्दुमा महावाणिज्य दूतावास खोल्ने तयारी
दुवै छिमेकसँग रेलमा छलाङ

काठमाडौँ — चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी ओलीले मित्रराष्ट्रहरूसँग भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक समृद्धिको खाकालाई बलियो बनाउने बताएका छन् ।

छिमेकी र मित्रराष्ट्रसँग भएका सहमति: ‘सम्झौता कार्यान्वयन तहमा’

भारत भ्रमणको दुई महिनापछि चीनको ६ दिने औपचारिक भ्रमण सकेर फर्केका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई साकार पार्न भएका सहमति कार्यान्वयनमा जोड दिएको बताए । ‘हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको प्रगति सुनिश्चित रहने विश्वास मेरो छ,’ आइतबार बिहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र चीनबीच राजनीतिक सम्बन्ध थप सुदृढ मात्र नभई मुलुकको विकासका लागि दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भई सहयोगको दायरा फराकिलो भएको छ ।’

चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट/छलफलबाट दुई देशबीच मित्रता, आपसी विश्वास एवं समझदारी अभिवृद्धि भएको पनि उनको दाबी छ । ‘नेपालको विकास हामी आफैंले गर्ने हो । अब हामीले आर्थिक समृद्धिका लागि हाम्रा मित्रराष्ट्रहरूसँग भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ,’ उनले भने । खासगरी दुवै छिमेकी (भारत र चीन) सँग नेपालले हस्ताक्षर गरेर अघि बढाएको रेल्वे ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण पहलकदमी भएको पनि उनले बताए । चीनसँग भएको रेल्वे सहयोगसम्बन्धी समझदारीपत्रलाई महत्त्वपूर्ण दस्तावेज भएको पनि उनले बताए ।

उनले चीन र नेपालबीच आगामी दिनमा सीमा वारपार कनेक्टिभिटी बढाउन मार्ग प्रशस्त भएकाले त्यसमा अडेर काम अघि बढ्ने बताए । ‘चीनका तर्फबाट नेपालसम्बन्धी धेरै विषय अघि बढेका छन्,’ ओलीले दाबी गरे, ‘हामीलाई सहकार्यमा अब समस्या छैन ।’ उनले जुलाईभित्रमा रेलको आवश्यक तयारी हुने र नेपालमा रेल आउने निश्चित भएको पनि बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङ नै नेपालमा रेल ल्याउने पक्षमा भएकाले समस्या नभएको उनले बताए । ‘मसँगको वार्तामा राष्ट्रपति सीले नेपाल रेल पुर्‍याउने आफ्नो भिजन रहेको बताउनुभएको छ,’ रेल कहिले आउँछ भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘रेलमार्ग सञ्चालनका लागि सर्भे गर्न केही समय लाग्छ ।’ ओलीको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएको थियो । अहिले पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण छिट्टै हुने बताए । ‘चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने विश्वास लिएको छु,’ ओलीले, ‘उहाँ नेपाल भ्रमण गर्न इच्छुक हुनुहुन्छ । अब नेपालमा भ्रमणको आदनप्रदान हुन्छ, जाने मात्र काम हुँदैन ।’

उनले आफूहरूले सस्तो लोकप्रियताका लागि नभई मुलुकको हितलाई हेरेर इमान्दार कूटनीतिक, छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न चाहेको पनि बताए । दुवै छिमेकलाई ध्यान दिएर उनीहरूबीच शान्ति सुव्यवस्था कायम गर्ने पक्षमा अडेर नै नेपालले विकास हुनेमा आफू स्पष्ट रहेको समेत बताए । भ्रमणका अवसरमा भएका विभिन्न १३ प्रकारका लिखित सम्झौता उनले प्रस्तुत गरे । यसअघि ९ सम्झौताको विषयहरू आए पनि उनले १३ समझदारीको खाका प्रस्तुत गरे ।

निजी क्षेत्रमा भएको सहकार्य र प्राज्ञिक अन्तरक्रियाले सम्बन्ध थप मजबुत भएको पनि उनले बताए । संघीय संरचनाअनुसार तीनै तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकले प्राप्त गरेको राजनीतिक स्थिरताको जगमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई सफल बनाउने दिशामा सरकार प्रतिबद्ध रहेर उपलब्धि र सबल भ्रमण भएको बताए । मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै तीव्रतर आर्थिक समुन्नतिका लागि आन्तरिक तथा बाहय स्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढिरहेको उनले सुनाए ।

नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकललाई आगामी जुलाईमा बैठक बसी टुंग्याउने र तातोपानी खासा नाका आगामी मे महिनासम्ममा खुला गर्ने सहमति भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘भ्रमणमा मैले जानुअघि भनेभन्दा धेरै उपलब्धि हासिल भएको छ ।’

रसुवागढी–केरुङ नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, पुल, प्रसारण लाइन, पहाडी राजमार्गको करिडोर, नाका खोल्ने, कृषिको आधुनिकीकरण, पर्यटनमा सहयोग, लगानी, एसियाली पूर्वाधार बैंकसँग नेपालले सहयोगमा काम गर्ने, बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउने लगायत विषयमा उनले त्यहाँ सहमति गरेका थिए । प्रधानमन्त्रीले चीनमा राष्ट्रति सी, प्रधानमन्त्री ली, चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेता, नेपाली समुदाय, विज्ञ, व्यापारीसँग भेटवार्ता गरेका थिए । चीनको छेन्दुमा नेपालको महावाणिज्य दूतावास खोल्ने विषयमा चीन सहमत भएको जानकारी पनि उनले गराए ।

अन्य मुलुकले तिब्बतमा आफ्नो महावाणिज्य दूतावास स्थापना गर्न नपाएपछि नजिकैको छेन्दुमा खोलेको तर नेपालको एक्लो महावाणिज्य दूतावास तिब्बतमा रहेर त्यहीँबाट छेन्दुमा समेत काम भइरहेको र त्यहाँ एकजना अधिकारी थप गरेर छेन्दु हेर्न सक्ने अवस्थामा सरकारले अर्को नियोगको परिकल्पना गर्दै आफ्नै बजेट भाषणलाई भुलेको छ ।

प्रभावकारी नभएको दूतावास बन्द गर्ने विषय बजेटमा उल्लेख छ । चीनको तिब्बत, गोन्जाओ र हङकङमा नेपालको महावाणिज्य दूतावास पहिले नै छन् । प्रधानमन्त्री ओली फर्केलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्री पनि चीन जाँदै छन् ।

प्रकाशित : असार ११, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?