१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिनी उद्योगीप्रति सरकार लचिलो

झन्डै ६ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी बाँकी
चिनी बिक्री नभएको बहानामा किसान मार्न पाइँदैन : आपूर्तिमन्त्री
राजु चौधरी

काठमाडौँ — उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो ।

चिनी उद्योगीप्रति सरकार लचिलो

साताअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलमा भुक्तानी नगर्नेलाई गिरफ्तार गरी कानुनी कारबाही गर्ने सहमति भएको थियो । स्रोतका अनुसार आपूर्तिले गृहलाई ‘उखु किसानको रकम भुक्तानी नगरी ठगी गर्ने उखु उद्योगीलाई गिराफ्तार गरी कानुनबमोजिम कारबाही गर्न अनुरोध छ,’ भन्ने व्यहोराको पत्र पठाइएको थियो । आपूर्तिको पत्रअनुसार गृहले सम्बन्धित जिल्ला कार्यालयमा पठाए पनि गृहले तत्काल अर्को पत्र पठाएको हो । ‘आपूर्ति र गृहबीच छलफलका क्रममा आएको चिठी झुक्केर गयो,’ गृह सचिव प्रेमकुमार राईले भने, ‘त्यसलाई कार्यान्वयन नगर्नु भनेर पुन: अर्को चिठी पठाएका छांै ।’

पछिल्लो पत्रमा प्रमुख जिल्ला अधिकारीलाई किसान, उद्योगीबीच छलफल गराएर भुक्तानी गराउन भनिएको छ । ‘किसान, उद्योगीसँग छलफल गर्ने । कुन मोडलमा भुक्तानी गर्न सकिन्छ । त्यो गराउने भनेर प्रमुख जिल्ला अधिकारीलाई चिठी पठाएका छौं,’ राईले भने । मन्त्री यादवले गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा भुक्तानी नगर्नेलाई पक्राउ गर्नका लागि प्रशासनलाई पत्र पठाउने निर्णय भएको बताए । सोहीअनुसार गृहलाई पत्र पठाएको उनले बताए । ‘चिनी बिक्री नभएको नाममा किसानलाई मार्न पाइँदैन,’ मन्त्री यादवले भने, ‘समयमै भुक्तानी नगर्ने उद्योगीलाई कानुनी कारबाही हुन्छ ।’

नेपाल उखु उत्पादक महासंघका अनुसार किसानहरूले माघ महिनाबाट भुक्तानी पाएका छैनन् । महासंघका अनुसार सरकारले कारबाही गर्ने धम्की दिएपछि केहीले भुक्तानी गर्न सुरु गरे पनि माघयता गरेका छैनन् । महासंघका अनुसार सबै उद्योग गरी ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेको महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘चिनी उद्योगीले ढिलासुस्ती गर्दै आएका छन् । किसानले माघबाट भुक्तानी पाएका छैनन्,’ अध्यक्ष मैनालीले भने, ‘किसानहरू ज्यादै मर्कामा छन् ।’ उखुको भुक्तानी समयमै नपाएपछि किसानहरू अन्यत्र लागेका छन् । महासंघको तथ्यांकअनुसार विगतका चार वर्ष उत्पादन १५ प्रतिशत घटेको छ । किसानहरू धान/गहुँ रोप्नमा आकर्षित भएको महासंघले जनाएको छ । महासंघका अनुसार सबैभन्दा बढी महोत्तरीमा रहेको एभरेस्ट सुगरले भुक्तानी गर्न बाँकी छ । एभरेस्टले १ अर्ब ७० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महासंघले जनाएको छ । दोस्रोमा सर्लाहीको इन्दुशंकर चिनी उद्योगले तिर्न बाँकी छ । अध्यक्ष मैनालीका अनुसार इन्दुशकरले १ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

रिलायन्सले ८५ करोड, अन्नपूर्ण चिनी उद्योगले ७५ करोड, श्रीराम चिनी उद्योगले ५५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महासंघले जनाएको छ । नवलपरासीका लुम्बिनी, वाग्मती र इन्दिरा चिनी उद्योगले ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।

इस्र्टन सुगरले ५० करोड, हिमाल चिनी उद्योगले ४० करोड, भागेश्वरी चिनी उद्योगले ३५ करोड र महाकाली चिनी उद्योगले ६ करोड भुक्तानी गर्न बाँकी रहेको महासंघले जनाएको छ ।

चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनी बिक्री नभएपछि भुक्तानीमा समस्या भएको बताए । ‘उद्योगीसँग १ लाख ३० हजार टन स्टकमा छ । बिक्री हुन सकेको छैन,’ उनले भने, ‘भुक्तानी गरिरहेका छौं । ढिलोचाँडो मात्रै हो । किसानलाई भुक्तानी नगरी कतै भाग्दैनौं ।’ सरकारले आयातमा ३० प्रतिशत भन्सार वृद्धि गरेपछि केही राहत भएको उनले बताए ।

प्रकाशित : असार ११, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?